PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

वामदेवलाई राष्ट्रिय सभामा स्वागत गर्दै दीनानाथ शर्मा : सिद्धान्तले पार्टी विभाजन भएको होइन



पहिलोपोस्ट

वामदेवलाई राष्ट्रिय सभामा स्वागत गर्दै दीनानाथ शर्मा : सिद्धान्तले पार्टी विभाजन भएको होइन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा संसदीय दलका नेता दीननाथ शर्माले सिद्धान्तका कारण नभई राजनीतिक कारणले मात्रै पार्टी विभाजित भएको बताएका छन्।

शुक्रवार सुरु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशनमा बोल्दै शर्माले सिद्धान्तका आधारमा पार्टी विभाजित नभएको तर्क गरे।

'राष्ट्रको एउटा विशिष्ट राजनीतिक अवस्थामा अधिवेशन सञ्चालन हुन गइरहेको छ। यद्पि, औपचारिक रुपमा विभाजनको घोषणा नभए पनि पार्टी विभाजनको संघारमा छ। पार्टी विभाजन भएको प्रतिनिधिसभामा विघटन भएको अवस्थामा अहिले बैठकमा छौँ,' उनले भने, 'पार्टी एकता भएर नेकपा बन्दा म खुशी थिएँ। सायद हामी सबै खुशी थियौँ, जनता खुशी थिए। पार्टी विभाजनको संघारमा आउँदाखेरी मुटु चिरिएको, मुटु फुटेको अनुभव गरेको छु। इतिहासमा हामी जुट्यौँ पनि फुट्यौँ पनि विगतका फुटमा यति धेरै पीडा अनुभव गरेको थिइन।'

उनले कसैले पनि पार्टी विभाजन हुनु सही हो भन्ने नभएको बताए। 

'मैले मलिन अनुहारलाई पढिरहेको छु। इतिहासमा अझै पनि हामी एक ठाउँमा हुन सक्ने केही सम्भावना छ। त्यस्ता किसिमका केही रसायनहरु छन् भने हामी त्यस दिशामा लागौं,' उनले भने 'पार्टी विभाजन कुनै सिद्धान्तको आधारमा, विचार दर्शनका आधारमा हुन गइरहेको छैन। केवल राजनीतिक कारणले मात्रै पार्टी विभाजन हुन गइरहेको छ। जुन दु:खद् हो। हिजो विभाजन हुँदा विचार सिद्धान्त र दर्शनका कारणले विभाजित भएका थियौँ। जनयुद्धमा जाने कि नजाने भन्ने कारणले विभाजित भएका थियौँ।'

उनले पार्टीलाई एक बनाउनका लागि प्रयत्न गर्नुपर्ने बताए। 'वामदेव कामरेडले एकता रसायनको काम गर्छु भन्नुभएको छ। उहाँको अभियान सफल हो,' उनले पहिलो पटक राष्ट्रिय सभामा सहभागी भएका नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सम्बोधन गर्दै भने।

राष्ट्रिय राजनीतिको बाछिटा राष्ट्रिय सभामा पनि पर्ने उनले बताए। प्रतिनिधि सभा नभएको अवस्थामा जनताको आवाज उठाउने ठाउँ राष्ट्रिय सभामात्रै भएको उनको भनाई थियो।

'दलभित्र भएका खिचातानीका कारणले लोकतन्त्र खतरामा पर्‍यो। जहाँ दलहरु बलियो हुन्छ, त्यहाँ लोकतन्त्र बलियो हुन्छ। जहाँ पार्टी कमजोर हुन्छ, त्यहाँ लोकतन्त्र कमजोर हुन्छ,' उनले भने, 'हिजो काँग्रेसलाई तपाईँको पार्टीमा आन्तरिक किचलो छ। बलियो बनाउनुस् भनेर सुझाव दिन्थेँ। अहिले हामी नै फूटमा पुगेका छौँ।'

पार्टीको आन्तरिक अन्तरविरोधका कारणले जनताद्वारा निर्वाचित प्रतिनिधिसभा शहीद हुन पुगेको नेता शर्माले भने, 'दलीय आन्तरविरोधको असर जनप्रतिनिधिमुलक संस्था भित्र पर्नु राम्रो होइन।'

प्रतिनिति सभा विघटन राम्रो नभएको बताए। 'आज कसैले पनि हामी सत्तारुढ दल हामीसँग बहुमत छ। प्रतिपक्षका अर्घेलाइका कारण विघटन हुन पुगेको पनि होइन। हाम्रो आन्तरिक किचलोका कारण प्रतिनिधि सभा विघटन हुन दु:खद कुरा हो,' उनले भने, 'हामी विभाजित छौं हाम्रो मन बाँडिएका छन्। हाम्रा सोचहरु विभाजित भएका छन्। विभाजित मानसिकताबाट विभाजित विचारहरु हाम्रा यहाँ हामीले राख्नेछौँ।'

उखु किसानका माग सरकारले सयमै सम्पन्न नभएको भन्दै शर्माले सरकारको आलोचना गरे।

'भर्खरै आन्दोलनको क्रममा। आन्दोलनकारी जनतालाई स्वागत गर्छु। उखु किसानको आन्दोलनमा एक जना किसानको देहावसान भयो। त्यसले हामीलाई छुनुपर्छ,' उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell