काठमाडौंः सर्वोच्चको संवैधानिक इजलासको आदेशानुसार नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अदालतको सहयोगीका रुपमा पाँच वरिष्ठ कानुन व्यवसायीको नाम सिफारिस गरेका छन्। नेपाल बारले बिहीबार तीन जनाको नाम सिफारिस गरेको थियो। सर्वोच्च बारले शुक्रबार दुई जनाको नाम सिफारिस गरेको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको संवैधानिक इजलासले नेपाल बारसँग तीन र सर्वोच्च बारसँग दुई कानुन व्यवसायीलाई अदालतको सहयोगी (एमिकस क्यूरी) झिकाउन आदेश गरेको थियो। आदेशानुसार वरिष्ठ अधिवक्ताहरुको नाम सिफारिस भएको हो।
सर्वोच्च बारले शुक्रबार हालै निर्वाचित अध्यक्ष पूर्णमान शाक्य र यसअधिका अध्यक्ष खगेन्द्र अधिकारीलाई सिफारिस गरेको छ। दुबै वरिष्ठ अधिवक्ता हुन्।
यस्तै, बिहीबार नेपाल बारले तीन वरिष्ठ अधिवक्ताको नाम सिफारिस गरेको थियो। बारले बद्रीबहादुर कार्की, सतीषकृष्ण खरेल र विजयकान्त मैनालीको नाम सिफारिस गरेको हो। कार्की पूर्व महान्यायाधिवक्ता पनि हुन्।
विघटनसम्बन्धी मुद्दामा पुस १९ गतेसम्म लिखित जवाफ पेस गर्ने अन्तिम समयसीमा अदालतले तोकेको छ। पुस २२ गतेबाट निरन्तर सुनुवाइको पेसी तोक्न यसअघि नै आदेश भइसकेको छ।
