PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

कुनै बेलाको व्यापारिक लाइफलाइन अहिले बन्यो मृत शहर

कुनै बेलाको व्यापारिक लाइफलाइन अहिले बन्यो मृत शहर

अमित मचामसी/पहिलोपोस्ट


सिन्धुपाल्चोकको लिपिङ कुनै बेला निकै व्यस्त हुन्थ्यो। चीन र नेपालको सीमामा रहेको यो क्षेत्र काठमाडौंको व्यापारिक हब थियो। दैनिक सयौं मानिस आउजाउ गर्थे यहाँ। होटल, रेष्टुराँहरु रातिसम्म खुल्थे। मालसामान बोकेका सवारीसाधन गुडिरहन्थे। रोजगार केन्द्र नै थियो कोदारी राजमार्गमा पर्ने बस्ती। तर २०७२ सालको भूकम्पले त्यो ठाउँलाई निर्जिव बनाइदियो भन्दा फरक नपर्ला।

२०७२ सालको भूकम्पमा यहाँ ठूलो जनधनको क्षति भयो। सँगै गुम्यो कयौंको रोजगारी। तर भूकम्प गएको ५ वर्ष बितिसक्दा पनि यो बस्ती ठडिनसकेको छैन। कुनै बेला जगजमगाउने यो बजार अहिले खण्डहरमा परिणत भएको रहेछ। त्यसमाथि भूकम्पपछि आएको बाढीहरुले समेत सो क्षेत्रलाई निकै प्रभावित बनाएको छ। त्यसैले ठाडो खोलादेखि माथि बस्ती बसाउन सरकारले रोक लगाउँदा कुनै बेलाको व्यापारिक केन्द्र अहिले मृत शहर बनेको छ।

तातोपानी नाका आएर चीनको खासामा सामान किन्नेको भीड लाग्ने यो नाका सुनसान छ अहिलेसम्म। अहिले कहिलेकाही चीनबाट सामान ढुवानी भने हुने गरेको छ। तर पहिला झै चीन गएर सामान खरिद गरेर ल्याउन भने छुट छैन। कुनै बेला मानिसहरुको बाहुल्य हुने ठाउँ अहिले मानिस बिहिन छ। छन् त घरहरुमात्रै, भत्किएका। त्यहाँ पुग्दा लाग्छ, केही क्षण अघि मात्रै प्रलयले लिपिङमाथि प्रहार गर्‍यो। तर यी घाउ त पुरानै हुन्। जुन सायदै अब निको हुन्छ होला।

भोटेकोशी गाउँपालिका वडा १ का अध्यक्ष मुके शेर्पाका अनुसार भूकम्पका कारण धेरै ठूलो बजारको अस्तित्व नै तहसनहस भयो। त्यसमाथि २०७३ सालको बाढी पहिरोले समेत यो क्षेत्रमा धेरै असर गर्‍यो। त्यसपछि चीन सरकारले नेपाल सरकारलाई पत्र पठाएर ठाडो खोलादेखि माथि घर र व्यवासाय गर्न नदिन भन्दै आग्रह गरेको उनी बताउँछन्। त्यसयता वर्षौंदेखि तातोपानी नाकालाई आफ्नो जीवनथलो बनाउँदै आएका मानिसहरु विस्थापित भए।

‘कोही घर भाडामा लिएर बसिरहेका छन्। कोही काठमाडौंमा काम गरिरहेका छन्। केहीमाथि गाउँतिर गएर बसेका छन्। केही उपाय नभएकाहरु भत्किएकै घरमा शरण लिन बाध्य छन्। एउटा परिवारकै दुई तीनवटा घर समेत थिए। उनीहरुको पुर्खौली घर नै त्यहाँ थियो। अहिले सबै सुकुम्बासी बन्न बाध्य भए’ शेर्पाले भने।

भूकम्पपछि सरकारले पुनर्निर्माणका विभिन्न प्याकेजहरु ल्याए। जसअनुसार नमूना बस्तीदेखि बस्ती स्थान्तरणसम्मका कार्यहरु भए, जारी छन्। तर सिन्धुपाल्चोकको तातोपानीमा सरकारको चासो भएन।

स्थानीय रामकृष्ण विक भन्छन्, ‘पैसाका लागि अन्त कतै जानु पर्दैन थियो। तर भूकम्पले तहसनहस पार्‍यो। नेपाल सरकारले यहाँ घर बनाउने बारेमा चासो नै लिएन। नेपालकै क्षेत्रमा लालपूर्जा छ। नेपाल सरकारले नै घर बनाएर नबस्नु भनेको छ। सरकारले किन यहाँ बस्ती बसाउन रोक्यो थाहा छैन।’

कोदारी राजमार्गको लाइफलाइन रहेको यो बस्ती बसाउन सरकारले रोकेपछि गाउँपालिका बैठक बसेरसमेत बजार र बस्ती पुनर्निर्माण गर्ने बारेमा जनप्रतिनिधिहरुले छलफल गरे। तर गाउँपालिकालाई सो क्षेत्रमा रहेको गुम्बासमेत हटाउन पत्र आएको वडा अध्यक्ष शेर्पा बताउँछन्।  

‘सडक क्षेत्रमा रहेको बजार फेरि बसाउने गरि घर नबनाउन र गुम्बा नै हटाउन भने पछि त्यसको कारण गाउँपालिकाले मन्त्रालयलाई सोध्यौं। तर कुनै उत्तर आएन।’

केन्द्र सरकारले स्थानीय सरकारलाई उत्तर नपठाउँदा जनप्रतिनिधिहरु पनि नाजवाफ भएका छन्। धेरैको प्रश्न हुन्छ, ‘बस्ती पुनर्निर्माण किन भएन?’ उनीहरुसँग कारण छैन। छ त भूकम्पका कथामात्रै।



ट्रेन्डिङ पोस्ट

Ncell