PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

प्राधिकरणमा कुलमानले बनाएको टिम छिन्नभिन्न पारेपछि बिजुली झ्यापझ्याप...



पहिलोपोस्ट

प्राधिकरणमा कुलमानले बनाएको टिम छिन्नभिन्न पारेपछि बिजुली झ्यापझ्याप...

काठमाडौं : पछिल्लो केही दिनयता विद्युत आपूर्ति अनियमित भएपछि नेपाल विद्युत प्राधिकरण नेतृत्वको ब्यापक आलोचना भइरहेको छ।

चार वर्ष प्राधिकरण हाँकेका कुलमान घिसिङले एउटा बलियो टिम बनाएका थिए। उक्त टिमले लोडसेडिङ हटाउनेदेखि गुणस्तरीय विद्युत आपूर्ति गर्ने सम्ममा मिलेर काम गरेको थियो। जसले सबैले देख्ने गरि नतिजा दिएको थियो।

तर घिसिङ बाहिरिएसँगै उनको टिमलाई पनि प्राधिकरणबाट तितर-बितर गरिएको छ। प्राधिकरणले लोडसेडिङ नहुने भन्दै उपभोक्तालाई आश्वस्त पार्न खोजे पनि व्यवस्थापन तहको हालको संरचना हेर्दा ढुक्क हुन सकिने स्थिति छैन। सरकारले नेतृत्वमा ल्याएका हितेन्द्रदेव शाक्य कुलमानको टिममा बसेर काम गरेका होइनन्।

उनी घिसिङको टिममा काम नगरेका मात्रै नभइ प्राधिकरण व्यवस्थापनभित्र समेत जिम्मेवारी ढिलो पाएका हुन्। घिसिङले प्राधिकरणको नेतृत्व लिएपछि उनी एनइए इन्जिनियरिङ कम्पनीमा सरुवा भएका थिए। उनी साञ्जेनको प्रमुख बने। त्यसको केही समयमै उनी बेतलबी विदा लिएर अफगानिस्तानको एउटा प्रोजेक्टमा कामका लागि गएका थिए। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत प्रसारणलाइनको प्रोजेक्ट डिजाइन टिममा पनि उनी संलग्न थिए।

घिसिङले जाने बेला भनेका थिए- ‘नेपालमा अब लोडसेडिङ इतिहास भइसक्यो। कसैले चाहेर पनि लोडसेडिङ फर्किनेवाला छैन। म नभए पनि मसँग लामो समय काम गरेको टिमले विद्युत प्रणालीलाई व्यवस्थापन गर्नेछ।’

अवरोध आउँदा रात बिरात आफैं खटिने घिसिङले आफ्नो टिमलाई विश्वास गरेका थिए। तर सरकारले एकातिर तत्काल कार्यकारी निर्देशक ल्याउन सकेन भने अर्को तिर कुलमानको टिमलाई पनि तितरबितर पार्‍यो। जसको परिणाम अहिले विद्युत आपूर्ति मात्रै अनियमित भएको छैन, बारम्बार लाइन जान थालेपछि सर्वसाधारणमा लोडसेडिङ फर्किने आशंका पनि बलियो भएको छ।

पुराना र अनुभवी कर्मचारीहरूलाई अन्यत्र सारेको प्राधिकरणलाई विद्युतको मागअनुसार लोड व्यवस्थापन गर्न अहिले निकै गाह्रो परेको छ।  


को को थिए कुलमानको टिममा?
घिसिङको टिममा भारप्रेषण केन्द्रमा विष्णुकुमार श्रेष्ठ थिए भने प्राधिकरणभित्र प्रबल अधिकारी र हरराज न्यौपाने नजिकबाट साथ दिने इन्जिनियर थिए।

श्रेष्ठ विद्युत माग अनुसार आपूर्ति दिने ठाउँ भारप्रेषण केन्द्रमा थिए। प्रबल अधिकारी विद्युत व्यापार विभागका निर्देशकसँगै प्राधिकरणको प्रवक्ता थिए। हरराज न्यौपाने ग्राहक तथा वितरण सेवा निर्देशनालयमा थिए। भारप्रेषण केन्द्रका श्रेष्ठ अवकाश पछि सुरेशबहादुर भट्टराई आएका छन्। उनी पनि काबिल छन्। तर प्राधिकरणको नेतृत्वले समयमा निर्णय गर्न नसक्दा व्यवस्थापनमा समस्या भइरहेको स्रोत बताउँछ।

यीबाहेक पनि कुलमानको टिममा दर्जनौं कर्मचारीहरुको सानो-ठूलो योगदान थियो।तर जब शाक्य प्राधिकरणको हाकिम भएर आए, सबैभन्दा पहिला घिसिङको टिममा बसेर काम गरेका कर्मचारीहरूको सरुवा गरे। सरुवा गर्दा उनले आफू अनुकूल टिम बनाएर काम गर्न थालेको अड्कल बाजी गरिएको थियो।

तर जसै समय घर्किदै गयो विद्युत आपूर्ति अनिमित हुनुका साथै घण्टौंसम्म लाइन काटिने समस्या बढ्यो।अहिले शाक्यको टिममा भएका कर्मचारीहरु कोही पनि घिसिङको टिममा बसेर काम गरेका अनुभवी कर्मचारी छैनन्। ग्राहक सेवा निर्देशनालयमा हरराज न्यौपानेबाहेक उनको वरिपरि सबै नयाँ अनुहार छन्।

'घिसिङले तत्कालै निर्णय लिने र फाइल पछि पठाउनु पहिला काम गर्नु भनेर निर्देशन दिन्थे,' न्यौपानेले त्यतिबेला घिसिङको प्रशंसा गर्दै भन्थे।

तर अहिले भने शाक्यले कुनै पनि निर्णय समयमै लिन सक्दैनन्। प्राधिकरणमा आएका फाइल पनि महिनौंसम्म घुमेको घुमेकै हुन्छन्। जसले गर्दा काम गर्ने आत्मबल भएका कर्मचारीको समेत मनोबल गिरेको स्रोतको भनाइ छ। 

शाक्य प्रसारणलाइन निर्माण र मर्मतमा विज्ञ मानिदै आएका छन्। अस्ति मध्य-मर्स्याङ्दीको विद्युत गृह बन्द भई भारतबाट आयात बढाउनु पर्दा प्रसारणलाइनले धान्न सकेको थिएन। शाक्यले भोलिपल्टै खराबी पत्ता लगाएर आयातलाई प्रभावित हुन नदिएको बताउँछन्।

‘आफ्नो क्षेत्रमा शाक्य विज्ञ हुन्। तर व्यवस्थापनको नेतृत्व उनका लागि चुनौतिनै छ। टिम पनि बनाउन नसक्ने र अरुलाई विश्वास पनि नगर्ने बानी छ,’ प्राधिकरण स्रोतले भन्यो, ‘ त्यही भएर अहिले समन्वयको अभाव बढी देखिन्छ।’ प्राधिकरणको वितरण प्रणाली कमजोर हुँदा फाइदा पाउने समूहलाई सक्रिय हुन नदिन शाक्यले धेरै मेहनत गर्नुपर्ने देखिएको कर्मचारी स्रोतले बताएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell