PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

वीरगंज बन्यो सडक मानवमुक्त महानगर, प्रदेश २ का ९६ बेसहारालाई मानवसेवा आश्रमको साथ



फूलमाया पुरी

वीरगंज बन्यो सडक मानवमुक्त महानगर, प्रदेश २ का ९६ बेसहारालाई मानवसेवा आश्रमको साथ

हेटौंडा : प्रदेश २ मा ९६ जना सहयोगापेक्षी सडक मानवहरूको उद्दार भएको छ। सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणका लागि ‘राष्ट्रिय उद्दार कार्यक्रम’ अन्तर्गत् उनीहरूको उद्दार गरिएको हो।

सरकारले सहयोगापेक्षी सडकमानव मुक्त राष्ट्र निर्माणलाई नीतिमा समावेश गरेको छ। जसका लागि मानवसेवा आश्रम र स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारको समन्वय र सहकार्यमा उद्दारका लागि मेची महाकाली यात्रा सञ्चालन गरिएको हो।

जारी यात्राका क्रममा प्रदेश २ को पर्सा जिल्ला, वीरगंज औपचारिक रुपमा सहयोगापेक्षी सडकमानवमुक्त महानगरपालिका घोषणा भएको छ।

कोहीपनि खुला आकाशमुनी भोकै र नाङ्गै बस्न नपर्ने भन्दै वीरगंजलाई औपचारिक रुपमा सहयोगापेक्षी सडकमानवमुक्त घोषणा गरिएको महानगर प्रमुख विजय कुमार सरावगीले बताए।

‘यो कुनै संस्थाको भन्दा पनि स्थानीय सरकारको दायित्व भएकाले विगत दुई वर्षदेखि वीरगंजस्थित मानवसेवा आश्रमसँग सहकार्य गरिरहेका छौं र आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछौं’, उनले प्रतिवद्दता जनाए।

उनले आश्रमलाई सडकमानव उद्दारका दुई वटा एम्बुलेन्स सहयोग गर्ने बताए। दुई वर्षदेखि मानवसेवा आश्रमको वीरगंज शाखाको मासिक भाडा महानगरले नै तिर्दै आएको छ।

सडकमानवमुक्त घोषणा गर्नुभन्दा यसलाई स्थापित गर्न चुनौती हुने पर्सा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी भीमराज पौडेलको भनाई छ। मानव जातिको हितका लागि राज्यले आफ्ना देशका नागरिक मानसिक सन्तुलन गुमाएका बेबारिसेहरुको स्वास्थ्य संरक्षण गर्नुपर्नेमा उनले जोड दिए।

महानगरपालिकाकी नगर उप-प्रमुख शान्ति कार्कीले देशको नीति निर्माणको र स्रोतको पहुँचमा भएको राजनीतिकले सँधै शक्तिवानको सेवा गरेको आरोप लगाइन्। उनले निस्वार्थ शक्तिविहीनहरूको उद्दार गरिरहेको भन्दै मानवसेवा आश्रमको प्रशंसा गरिन्।

बेसहाराको सहारा र अभिभावकत्व स्थानीय सरकाले लिनुपर्ने र यसका लागि मानवसेवा आश्रमले मानव प्रवर्दनका कार्यक्रम गर्ने आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले बताए।

अधिकारीका अनुसार राष्ट्रिय उद्दार कार्यक्रम प्रदेश १ को झापाबाट शुरु भएको हो। जसलाई मेचीमहाकाली यात्रा नाम दिइएको छ। राष्ट्रिय उद्दारका क्रममा प्रदेश १ को झापा जिल्ला र बिराटनगर महानगरपालिकाले औपचारिक रुपमा सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरेका छन् भने प्रदेश २ को बिरगंज महानगरपालिकाले पनि औपचारिक घोषणा गरेको छ। तर, ती जिल्ला र महानगरले गरेका औपचारिक घोषणालाई आगामी दिनमा यस्ता कोही पनि सडकमा  खाना र छानाबाट बन्चित हुन नदिने तीनै तहको सरकारको प्रतिबद्दता रहेको उनको भनाई छ।

प्रदेश २ मा ९६ जनाको उद्दार

प्रदेश २ को सप्तरी जिल्लाबाट ३६ जना सहयोगापेक्षी सडक आश्रितहरूको उद्दार गरिएको छ। जसमा १० महिला र २६ जना पुरुष रहेका छन्। राजविराज नगरपालिकाको सकृयतामा मानवसेवा आश्रमद्वार उनिहरुको उद्दार गरिएको हो। उद्दार गरिएका सबैलाई सर्लाहीको हरीवनस्थित मानवसेवा आश्रममा ल्याइएको आश्रमका अभियन्ता मनोज घिमिरेले जानकारी दिए।

घिमिरेका अनुसार धनुषाको लाहानबाट ३ महिलासहित १० जना, जनकपुरधाम उपमहानगरपालिका र बर्दिबासबाट ६ महिलासहित १५ जना सडक आश्रितको उद्दार गरिएको छ। त्यस्तै सर्लाहीको हरीवनबाट ४ महिलासहित १४, पर्साको बिरगंज महानगरपालिकाबाट ८ जना र रौतहटको चन्द्रनिगाहापुर र बाराको निजगढबाट उद्दार गरिएका ४ महिलासहित १३ जना सहयोगापेक्षीहरुले आश्रमको साहारा पाएका छन्।

लामो समयदेखि सडक आश्रितहरुलाई कार्यलयकै अगाडि देखे पनि उनीहरुको उद्दार र संरक्षण गर्नेतर्फ स्थानीय सरकारको ध्यान जान नसकेको जनकपुरधाम उपमहानगरपालिका नगर प्रमुख लाल किशोर शाहले स्वीकार गरे।

बल्ल हाम्रो आँखा खुल्यो उनले भने,’अबका दिनमा सहयोगापेक्षी सडकमानवको व्यवस्थापनमा स्थानीय सरकारले कुनै कमी हुन दिनेछैनौं।‘

सप्तरीको राजबिराजबाट ३६ जना, धनुषाको लाहानबाट १० जना र सर्लाहीको हरीवनबाट एकै परिवारका तीन दाजुभाईसहित १५ जना जनकपुरधाम नगरपालिकाबाट र बर्दिबासबाट १५ जना सहयोगापेक्षी सडक आश्रितहरुको उद्दार गरिएको छ। त्यस्तै गत बिहिवार वीरगंज नगरपालिकाबाट ८ जनार र शुक्रवार रौतहटको चन्द्रनिगाहापुर र बाराको निजगढबाट १३ जनाको उद्दार भएको छ।

उद्दार गरिएका सबैमा मनोरोग भएको बताउँछन् स्वास्थ्यकर्मी हस्त कठायत। ‘अधिकांशमा रक्तचापको कमी देखिएको छ, कतिपयलाई चोटपटक पनि लागेको रहेछ’ उनले भने।

सहयोगापेक्षी सडकमानवमुक्त राष्ट्र घोषणा २०७८ अन्तर्गत मानवसेवा आश्रमले तय गरेको मेची महाकाली यात्रा गत पौष ७ गते झापाको काडभिट्टाबाट शुरुवात भएको यात्रा माघ ७ गते  काठमडौंमा टुंगिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell