PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

वीरगंजमा कोरोना रोकथामको तयारी रामभरोसे! 'म्युटेटेड भाइरस'को जोखिम कति?



राधेश्याम पटेल

वीरगंजमा कोरोना रोकथामको तयारी रामभरोसे! 'म्युटेटेड भाइरस'को जोखिम कति?

वीरगंज : वीरगंज महानगरपालिका एउटा औद्योगिक, आर्थिक राजधानीको नाका मानिन्छ। तर वीरगंजमा पछिल्लोपटक कोरोना महामारीलाई लिएर खासै सावधानी तथा अनुशासन अपनाइएको देखिंदैन। विभिन्न निकायबीच समन्वय नहुँदा यस्तो अवस्था सिर्जना भएको हो।

वीरगंजमा कोरोना सङ्क्रमितको परीक्षण, कन्ट्याक्ट ट्रेसिङ तथा क्वारेन्टाइन तथा आइसोलेसन राख्ने विषयमा मनपरी किसिमले निर्णय लिने गरिएको छ। गत कात्तिक १५ गतेदेखि वीरगंज महानगरपालिकाले महानगरपालिकाभित्रका बासिन्दामा कोरोना महामारीको विषयमा केही पनि काम नगरेको देखिन्छ।

नेपाल सरकारले शंकास्पद कोरोना सङ्क्रमितको स्वाब परीक्षणमा २ हजार रपैयाँ शुल्क लिन तोकेसँगै, असहाय, गरीब, विपन्नको मात्र निश्शुल्क पीसीआर परीक्षण गर्ने निर्देशन गरेपछि वीरगंज महानगरपालिकालाई पनि कोरोना महामारी नियन्त्रणबाट पछि हट्न बल मिलेको हो।
यता, हुनेखाने घरपरिवारका सङ्क्रमितलाई सशुल्क आइसोलेसनमा राखेर उपचार गर्न सकिने नेपाल सरकारले निर्देशन गरेपछि अहिले अधिकांश कोरोना सङ्क्रमितहरू पोजेटिभ आएपछि घरमै बस्न रूचाउँछन्। वीरगंजमा अहिले नेसनल मेडिकल कलेजको बाबा होटलमा रहेको रहेको पेइङ आइसोलेसन वार्ड सञ्चालन छ। जसमा फाटफुट सङ्क्रमितहरू उपचार गराइरहेका छन्। १० दिनको २ लाख १० हजार रुपैयाँ जम्मा गरेपछि कोरोना सङ्क्रमितहरूको त्यहाँ उपचार हुने गरेको छ। अथवा गरिब विपन्न परिवारका भएपछि स्थानीय तहको सिफारिसमा निशुल्क उपचार हुन्छ।

बेलायत तथा युरोपमा कोरोनाको दोस्रो संस्करण कोभिड–२ नामक रोग पनि पत्ता लागेको र नेपालकै छिमेकी मुलुक बंगलादेश र भारतमा उक्त म्युटेटेड भाइरस फेला परिसकेको अवस्थामा वीरगंज पनि जोखिमको केन्द्र हुनसक्ने चिकित्सकहरूको भनाई छ। नारायणी अस्पतालका चिकित्सक डा उदयनारायण सिंहले कोरोना महामारी पूर्ण रूपले साम्य नभएको तथा खोप पनि नेपालमा लाग्न शुरू नभएकोले हेलचेक्रेयाइ नगर्न आग्रह गरे। उनले सरोकारवाला निकायले यस विषयमा समयमै ध्यान दिई कोरोना महामारी र कोभिड–२ को भाइरससँग लड्न उचित तयारी गर्न सुझाव दिए।

वीरगंज महानगरपालिकाका सामाजिक विकास महाशाखा अन्तर्गत स्वास्थ्य महाशाखाका प्रमुख अरूण महतोले सरकारको फरक नीतिको कारण आफूहरूले कोरोनाको स्वाब कलेक्सन, परीक्षण र कन्टयाक्ट ट्रेसिङको जिम्मेवारीबाट छुटकारा पाएको बताए। उनले विगतमा महानगरपालिकाले कोरोना नियन्त्रणमा अहम भूमिका निर्वाह गरेको कारण वीरगंजबाट कोरोना नियन्त्रण भएको दावी गरे। कात्तिक १५ सम्म वीरगंज महानगरपालिकामा १९ जना पुरूष र ७ जना महिला गरी २६ जनाको मृत्यु भएको छ भने १५५८ पुरूष ५०५ महिला गरी २०६३ जना सङ्क्रमित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell