PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

ब्रिटिस सेनालाई परास्त गरेको पर्सागढी संरक्षणको पखाईमा, पर्यटकीय गन्तव्यको रुपमा घोषणा गर्न माग



राधेश्याम पटेल

ब्रिटिस सेनालाई परास्त गरेको पर्सागढी संरक्षणको पखाईमा, पर्यटकीय गन्तव्यको रुपमा घोषणा गर्न माग

वीरगंज : नेपाल एकीकरणको समयमा ब्रिटिस सेनासँग युद्ध भएका विभिन्न गढीहरु छन्। गढी अर्थात बीर गोर्खाली सेनाले हातहतियार खरखाना तथा लडाई भएको ठाउँ भनेर चिनिन्छ। यस्तै एक ठाउँ हो पर्सागढी। जिल्लाको नामाकरण पनि यसै ठाउँबाट भएको विभिन्न किताबमा जिकिर गरेको पाइन्छ।

सदरमुकाम वीरगंजबाट १८ किलोमिटर उत्तर–पश्चिममा रहेको यो ठाउँ पर्सागढी नगरापालिकाको वडा नं ६ जिंगना भन्ने टोलभन्दा ३ किलोमिटर पश्चिममा रहेको छ। प्रचारप्रसार र संरक्षण अभावमा यसबारे धेरै अनविज्ञ छन्। २०४८ मा जिविसको गठन भएसँगै जिविसले प्रकाशित गर्दै आएको वार्षिक स्मारिकामा पर्साको नाम पर्साको महुवनको पारसनाथ मन्दिरबाट राखिएको अर्को तर्क छ। तर पर्सागढीको इतिहास २०६ वर्ष पुरानो भएकोले पर्सा जिल्लाको नाम पर्सागढीबाटै नामाकरण भएको पर्सागढीवासीको दावी छ। अहिलेको पर्सागढी नगरपालिकाका बागेश्वरी तित्रौना, जिगना, पचरुखी, वागवान्ना, हरपुर गरी ५ वटा गााविसहरु मिलाएर गठन भएको छ। पर्सागढीको जग्गा, आवश्यक पूर्वाधार, चर्पी, पर्खाल, धर्मशाला, विजय स्तम्भलगायत भौतिक पूर्वाधारलगायतको अभावमा यो ठाउँ अहिले पनि ओझेलमा परेको स्थानीयहरु बताउँछन्।

पूर्खाले इतिहास रचेको पर्सागढी अहिले संरक्षणको पखाईमा रहेको स्थानीय वृजमोहन चौधरी बताउँछन्। उनले भने, ‘पर्सागढी अंग्रेज सेनालाई परास्त गरी धपाएको ठाउँ हो, यसमा स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले गर्नूपर्ने सहयोग आवश्यक छ।’ अहिलेसम्म पर्सागढीवासीको कुल देवता बन्हर बाबाको मन्दिर, महिषासुरको स्तम्भ र ५, ६ कठ्ठाको बगैंचाबाहेक अरु केही संरचना छैन। पर्सागढीका मेयर लोकनारयाण यादवले पर्सागढी पर्सेली र सम्पूर्ण नेपालीको लागि धरोहरको थलो भएकोले यसको संरक्षणमा आफु तनमन धनले सक्दो सहयोग गर्ने वचन दिए। ‘पर्सागढीको पहिले ५०/६० विघा जग्गा थियो, पर्सागढी गाउँ नै बसेको जग्गा अहिले पनि त्यसै छ, सानो जंगल पनि नजिकै छ, केही विघा जग्गा पर्सागढीका रैथाने जाति तथा परिवारले अतिक्रमण गरी खेती गर्दै आएका छन्,’ उनले भने, हाम्रै परिवारले उक्त जग्गा भोगचलन गरिरहेका छन् तर सबैले नापीको अधारमा पर्सागढीको जग्गा छोडने सहमति गरिसक्नु भएको छ, अब अवश्यक पर्सागढीको संरक्षण हुनेछ।’ उनले यसै वर्ष पर्सागढीमा वैवाहिक कार्यक्रमको लागि एउटा धर्मशाला र माथिल्लो तल्लामा पर्सागढीको इतिहाससँग सम्बन्धित वस्तुको खोजी तथा संकलन गरी संग्रहालय बनाउने योजना पनि रहेको सुनाए। नेपालमा भएको गढीहरुको संरक्षण र प्रर्वद्धनको बारेमा नेपाली सेना सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। चण्डीप्रसाद गण श्रीपुर वीरगंजका गणपति प्रमुख सेनानी मदनजंग राणाले भने, अंग्रेज सेनाले नेपालको विभिन्न ठाउँमा आक्रमण गर्दा भारतबाट अलौ कब्जा गर्दै मकवानपुर जाने क्रममा पर्सागढीमा किला गालेका थिए। त्यति बेला पर्सागढीका रञ्जीत चौधरी तथा स्थानीयको सहयोगमा विर गोर्खाली सेनाले अंग्रेज सेनालाई पराजित गरी हराएको ठाउँ भएकोले यसको संरक्षण प्रवर्द्धनमा सबैको दायित्व हुनु पर्नेमा उनको जोड थियो। पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङले साँस्कृति नागरिक तथा पर्यटन मन्त्रालयको पुरातात्विक विभागमा पर्सागढीको इतिहासका गाथाहरु दर्ता गरी अघि बढ्नुपर्ने बेला आएकोले त्यसतर्फ सोच्नु पर्ने सुझाव दिन्छन्।

कसरी पराजित गरियो ब्रिटिस सेनालाई?

विस १८७१ पुस १९ गतेका दिन अंग्रेजी महिनाको जनवरी १ तारेख। अंग्रेजी सेनाहरु नयाँ वर्ष मनाइरहेका थिए। मदिरामा मस्त थिए। तत्कालिन प्रधानमन्त्री भीमसेन थापाबाट उक्त पर्सागढी विर्ताको रुपमा रञ्जीत चौधरीलगायत तीन जनाको नाममा पाएको थियो। त्यसकारण उक्त बाटो भएर नेपाल चढाई गर्ने ब्रिटिस सेनालाई रोक्न र लडाईमा सघाउन पर्सागढीवासीको दायित्व पनि थियो। त्यसबेला गोर्खाली सेनाको लागि पाँच वटा गाउँबाट अनाज संकलन, हातहतियारलगायतको व्यवस्थापन पनि भएको थियो। पुस १९ गते दिनैमै पर्सागढीको पश्चिममा पर्ने तिलोवे खोला। पूर्वमा पर्ने सिघई खोलामा बाँध लगाई खोलाको पानीको सतह बढाइयो।

ब्रिटिस जनरल बिनेट मार्लीको टोली मदिरा र सांगीतिक प्रस्तुति गरिरहँदा साँझ ७ बजेदेखि दुबै खोलमा राँगा, गोरु, गाई, भैसी तैराइियो। राँगा, भैसी, गोरुको सिङमा मसाल बाँधेर पौडाइएको थियो। उक्त दृश्य देखेर ब्रिटिश सेना त्रसित भयो। हजारौको संख्यामा गोर्खाली सेनाले आक्रमण गर्दै आउदैछन् भन्ने लागेर आफ्नो हतियार खोल्न थाले। गोली प्रहार र गोला बारुद छोडे। केही बेरमा उनीहरुको हतियार सकियो। त्यसपछि ५ गाउँका गाउँले र नेपाली सेना मिलेर घरेलु हातहतियारले धावा बोले। त्यसपछि उनीहरु मध्ये केही मरे, मारिए त केही खोलामा डुबेर वा डुबाइएर पनि मारिएको इतिहास रहेको रञ्जीत चौधरीका छैटौं पुस्ताका सन्तान वृजमोहन चौधरी सुनाउँछन्। 'त्यसपछि पर्सागढी नेपालको इतिहासमा अमरत्व बन्यो,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell