काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अमर्यादित नारा लगाउनेविरुद्ध कारवाहीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूह निकट अखिल नेपाल महिला संघ(अनेमसंघ) ले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ।
प्रधानमन्त्री ओली पक्षको अनेमसंघले आइतबार गृह मन्त्रालय पुगेर ज्ञापनपत्र बुझाउँदै विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गालिगलौच गर्नेहरु बिरुद्ध कानुनी कारबाही गर्न माग गरेको हो।
लोकतन्त्रमा असन्तुष्ट पक्षहरुले सभा जुलुस गर्ने तथा आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता भए पनि प्रधानमन्त्री र राष्ट्रपतिको विरुद्धमा अमानवीय, अर्मयादित, अशोभनीय तथा अराजक अभिव्यक्ति आएको भन्दै अनेमसंघले आपत्ति जनाएको हो। ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपति माथि अशोभनीय र अर्मयादित विषय उठाइएकोप्रति सरकारको ध्यानाकर्षण भएको बताए। त्यसरी नारा लगाउनेविरुद्ध सम्बन्धित निकायलाई छानविन गरी कारबाही गर्ने निर्देशन दिएको पनि उनले बताए।
नाराबाजी गर्ने विरुद्ध कानुनी कारबाही गरिनुपर्ने अन्यथा आफुहरु नै कानुनी प्रक्रियामा जाने अनेमसंघकी नेतृ सर्मिला कार्कीले बताइन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै नेकपाको प्रचण्ड-नेपाल समूहले राजधानीमा गरेको प्रदर्शनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीलाई जोडेर नारा लगाइएको थियो।