काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेटको आज सम्पन्न फाइनल खेलमा एपीएफलाई हराउँदै प्रदेश १ ले उपाधि जितेको छ।
दाङको देउखुरी मैदानमा सम्पन्न खेलमा एपीएफलाई ६ रनले हराउँदै प्रदेश १ ले पहिलो पटक उपाधि हात पारेको हो।
टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०५ रन बनाएको थियो।
प्रदेश १ का लागि अप्सरी बेगमले सर्वाधिक ३४ रन बनाउँदा काजल श्रेष्ठले २९ रन बनाइन्। त्यस्तै कप्तान रुबिना क्षेत्रीले १८ रन जोडिन्।
बलिङतर्फ एपीएफकी कप्तान सीता राना मगरले ३ विकेट लिँदा करुणा भण्डारीले १ विकेट लिइन्।
जवाफी ब्याटिङमा उत्रिएको एपीएफ निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९९ रनमा सीमित भयो। राम्रो सुरुवात गर्न नसकेको एपीएफको ब्याटिङ ममता भण्डारी र करुणा चौधरीले सम्हाल्दै एपीएफलाई खेलमा फर्काएका थिए थिए। यद्पि रोमाञ्चक खेलमा सर्वाधिक ३४ रन बनाएकी चौधरी रन आउट हुन पुगिन्। त्यस्तै करुणा भण्डारी २६ रनमा अभिजित रहिन्। त्यसअघि ओपनर ज्योति पाण्डे १४ रन बनाएर आउट भएकी थिइन्। र, साविकको विजेता समेत रहेको एपीएफ प्रदेश १ सँग ६ रनको झिनो अन्तरले पराजित बन्यो।
प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्नेछ। त्यस्तै उप -विजेता टोलीले ३ लाख र सेमिफाइनलबाट बाहिरिएका दुई टोली सुदूरपश्चिम र लुम्बिनीले समान २५ हजार प्राप्त गर्नेछन्। यस्तै विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले २१ हजार, उत्कृष्ट ब्याटरले १० हजार, उत्कृष्ट बलरले ५ हजार प्राप्त गर्नेछन्।
