PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

औषधीको 'भिक्षा' कसरी कुटनीतिक सफलता? कम्बोडियाबाट सिक्नुपर्ने चाहिँ किन सिकेनन् ओलीले?



विधुर ढकाल

औषधीको 'भिक्षा' कसरी कुटनीतिक सफलता? कम्बोडियाबाट सिक्नुपर्ने चाहिँ किन सिकेनन् ओलीले?

काठमाडौं : गत वर्षको वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडिया पुगे। कम्युनिस्ट तानाशाह पोलपोटको देश पुगेर नेपालका कम्युनिस्ट प्रधानमन्त्री ओलीले त्यहाँको खमेररुज युद्ध स्मारकको अवलोकन गरे। 

त्यसको डेढ वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार आफू पक्षीय कार्यकर्ताहरुलाई सम्बोधनका क्रममा कम्बोडियालाई सम्झिए गर्वका साथ।

'कम्बोडियाले प्लेन चार्डर्ड गरेर सायद आइ पनि पुग्यो होला। औषधी। कम्बोडियाले प्लेन चार्टर्ड गरेर औषधी सहयोग गर्दैछ। हामीले मागेर होइन, उहाँहरुले आफ्ना तर्फबाट नमागिकन औषधी सहयोग गर्दै हुनुहुन्छ,' उनले सगौरभ सुनाए। 

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको अभियानलाई प्रभावकारी बनाएको दाबी प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थिति र 'प्रधानमन्त्री'को 'स्वघोषित' चर्चा गरे। कम्बोडियाले नेपाललाई सहयोग पठाएको बताउँदै गर्दा नेपालमा दुई लाख ६१ हजार ४ सय ३८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भइसकेको छ। त्यस्तै, कोभिड-१९ को संक्रमणबाटै एक हजार ८ सय ७० जनाको मृत्यु भइसकेको छ।

प्रधानमन्त्रीले ओलीले नेपालको कोभिड १९ सँग सम्बन्धित यी तथ्य त सुनाएनन्, कम्बोडियाले कसरी काम गर्‍यो भन्ने मात्र बुझेको भए पनि केही फरक अभिव्यक्ति आउन सक्थ्यो। कम्बोडियामा हालसम्म ३ सय ७९ जनामा मात्र कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। भने मृत्युदर शून्य छ। कम्बोडियाले कसरी कोभिडसँग भिड्यो त, प्रधानमन्त्रीलाई त्यसमा चासो रहेन।

त्यहाँको संक्रमणदर प्रति दश लाख २२.६७ मात्र छ। त्यहीँ नेपालमा प्रति १० लाख संक्रमितको संख्या ८ हजार ९५८ छ। भने मृत्यु दर प्रति १० लाख ६३.९७ छ।

विश्व कोभिड-१९ ले आक्रान्त भइरहेको अवस्थामा कम्बोडियाले आफ्नो अर्थतन्त्रलाई सहज रुपमा अगाडि बढाइरहेको छ। कम्बोडिया सरकार संक्रमण नियन्त्रणमा सफल देखिन्छ। कम्बोडियामा गत डिसेम्बर पहिलो सातामात्र समुदायमा पहिलो संक्रमण पुष्टि भएको थियो। पछिल्लो समय त्यहाँ देखिएको क्लस्टर संक्रमणलाई कम्बोडिया सरकारले नोभेम्बर २८ इन्सिडेन्टको रुपमा ब्याख्या गर्दै नियन्त्रण अभियानलाई अगाडि बढाएको थियो। त्यहाँको मल र सिनेमा घरमा क्लस्टर संक्रमण देखिएपछि २० दिनका लागि सिनेमाहरु बन्द गरिएका थिए भने डिसेम्बरभर विद्यालय बन्द गरिएका थिए।

नोभेम्बरमा मात्र हंगेरिका परराष्ट्रमन्त्री पिटर जिजार्टो कम्बोडिया पुगेका थिए। थाइल्याण्ड हुँदै कम्बोडिया पुगेका उनमा संक्रमण पुष्टि भएपछि कम्बोडियाका प्रधानमन्त्री हुन सेनसहित सबै क्वारेन्टाइनमा बसे।

कम्बोडियाको कोभिड-१९ संक्रमणको प्रतिकार्यले विश्वको ध्यान तानेको थियो। जब अरु देशहरुले क्रुस सिपलाई आफ्नो पोर्टमा रोक्न प्रतिबन्ध लगाइरहेका थिए, त्यहीँ कम्बोडियाले क्रुस सिपलाई स्वागत गर्दै संक्रमित यात्रु तथा अन्य यात्रुलाई सम्बन्धित देश पठाउन सहयोग गरेको थियो।

कम्बोडियाका प्रधानमन्त्रीले फेव्रुअरीमा वुहान भ्रमण गर्ने घोषणा गरेका थिए। तर, मार्चको अन्त्यदेखि कम्बोडियाले सीमा बन्द गर्दै क्वारेन्टाइनको आवश्यकतालाई जोड यो। आफ्नो खमेर नयाँ वर्षको बिदालाई समेत रद्द गरिदियो।

साथै, स्वास्थ्य राहत प्याकेजको घोषणा गर्‍यो जसमा ५० मिलियन डलर बराबरको अष्ट्रेलियाली सहयोग समेत जोडिएको थियो।

कम्बोडियाले कसरी नियन्त्रण गर्‍यो त संक्रमण?

कम्बोडिया भियतनाम र थाइल्याण्ड जस्तो संक्रमण भएको देशको बिचमा रहेर पनि भाग्यमानी देश हो जहाँ संक्रमण नियन्त्रण गर्न सहज छ। एक करोड ६० लाख जनसंख्या भएको कम्बोडियाको दुई तिहाइ जनसंख्या ३० वर्षभन्दा कम छ। डब्बुएचओका प्रतिनिनिधि डाक्टर ऐलान लीले कम्बोडियाले संक्रमण नियन्त्रणमा सफल हुनुमा त्यहाँ स्वास्थ्य प्रणाली तथा महामारी पूर्व तयारीमा गरिएको लगानीका साथै बलियो सरकारकलाई कारण मानेकी छिन्। उनले सरकार र स्वास्थ्य निकायहरुबीच राम्रो समन्वय भएको बताइन्।

कम्बोडियाले पछिल्ला दिनमा निगरानी प्रयोगशाला र स्वास्थ्य प्रणालीमा सुधार गरिरहेको बताए। कोभिड-१९ को संक्रमणलाई कम्बोडियाले सुरुवात देखि नै गम्भीर रुपमा लिएर नियन्त्रणको योजना बनायो। २००३ को सार्स महामारीको अनुभवबाट अगाडि बढेको कम्बोडियाले अर्थतन्त्रलाई भन्दा पहिलो प्राथमिकतामा स्वास्थ्यलाई राखेर काम अगाडि बढाएको थियो।

महामारीका बिचमा कम्बोडियाका प्रधानमन्त्री हु सेन बेइजिङ पुगेर चिनियाँ राष्ट्रपति सि जिङपिङसँग भेट गरे। यसबिच कम्बोडियाले आफ्नो कुटनीतिक सक्रियतालाई पनि कम राखेन। यसबीचमा चिनियाँ विदेशमन्त्रीदेखि जापनका विदेशमन्त्री सम्मलाई स्वागत गरेको छ। विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा आफूलाई दरो रुपमा उपस्थित गराउँदै अगाडि बढाएको छ उसले।

नेपालले के गर्‍यो?

वुहानमा कोभिड-१९ को संक्रमण फैलिँदै गर्दा नेपाल पनि जोखिममा थियो। दक्षिण एसियामा पहिलोपटक नेपालमा नै संक्रमण पुष्टि भयो। कोभिड-१९ को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरोकारवाला निकायले सीमा नियन्त्रण गर्न आवाज उठाइरहे। ओली सरकार दोस्रो केस नदेखिँदासम्म सुतेर बस्यो। बरु कोभिड-१९ कारण शून्य मृत्युको नारा जप्नमै व्यस्त रह्यो। कोभिड-१९ को दोस्रो केस देखिएपछि सरकारले लकडाउनको घोषणा गर्‍यो चैत ११ गते। तर, पूर्व तयारी बिनै सुरु भयो लकडाउन।

सीमा बन्द गरियो। तर, संक्रमणका नियन्त्रणका अन्य उपायहरु अपनाइएन। भारतीय सीमाबाट नेपालीहरु लुकिछुपी नेपाल प्रवेश गर्न थाले। नेपालमा संक्रमण बढ्दै गयो। खुला सीमानाका कारण नेपाल जोखिममा छ भनेर भनिरहँदा सरकारले व्यवस्थित तरिकाले नेपालीलाई भारतबाट फिर्ता गर्न सकेन। कोही महाकाली नदीमा पौडिएरै नेपाल प्रवेश गर्न खोजे। 

भारतबाट नेपाली आउँदै गर्दा संक्रमण बढ्दै समुदायमा पुग्यो। विना तयारी लकडाउन सुरु गरेको सरकारले विना तयारी लकडाउन खुला गर्‍यो। संक्रमित क्षेत्रबाट मानिसहरु काठमाडौं आउन थाले काठमाडौंमा संक्रमणको ग्राफ बढ्दै गयो।

यसबिच कोभिड-१९ नियन्त्रणमा विभिन्न देशहरुले स्वास्थ्य सामाग्री सहयोग गरे। नेपालले त्यसका लागि कुटनीतिक पहलभन्दा पनि सहयोगी देशहरुको अग्रसरतामा नै सामाग्रीहरु नेपाल आए। ठोस् रुपमा भन्नुपर्दा नेपालले कुटनीतिक पहललाई प्रभावकारिता दिन सकेन। प्रधानमन्त्रीले शनिवारको भाषणमा पनि भनेका थिए- 'हामीले मागेर होइन उहाँहरुले आफैले चाहेर।'

हो त्यस्तै भयो नेपालले पहल गर्न सकेन। दिनेहरु आफैँ अघि सरे।

छिमेकी चीनले स्वास्थ्य सामाग्री सहयोग गर्ने प्रतिवद्धता जनाइरहँदा सरकारले कुटनीतिक पहललाई प्रभावकारी बनाएन बरु महँगोमा स्वास्थ्य सामाग्री खरीद गर्ने निर्णय गर्‍यो। ओम्नी ग्रुपसँग स्वास्थ्य सामाग्री खरीदको सम्झौता एउटा उदाहरण मात्र हो। महँगोमा सामान खरीद भएपछि आलोचना र विवाद बढ्यो। स्वास्थ्य सामाग्री खरीदमा भएको अनियमितताको छानविन भएन। बरु प्रधानमन्त्री आफैले अनियमिततामा नाम आएकाहरुको बचाउ गर्दै हिँडे।

सेनालाई स्वास्थ्य सामाग्री खरीद गर्न दिने निर्णय पनि विवादित बन्यो। सेनालाई खरीद गर्न दिएर सरकार जिम्मेवारी र विवादबाट पन्छिन खोज्यो। चीनले सहयोग गर्छु भन्दाभन्दै किन्ने निर्णय गर्नु, किन्ने निर्णय गरे पनि जी-टु-जी बाट नगरी निजी कम्पनीलाई खरीदको जिम्मेवारी दिनु, सरकारको गैरजिम्मेवारपूर्ण निर्णय थियो। यो छिपेको छैन।

अर्कातिर प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनसँग सम्बन्ध सुधार भइरहेको बताउँदै आएका छन्। तर, नेपालले कोभिड-१९ नियन्त्रणका लागि कुटनीतिक रुपमा चीनसँग पहल गर्न सकेन। दिन्छु भन्नेसँग पनि माग्न सकेन।

के कम्बोडियाले स्वास्थ्य सामाग्री सहयोग गर्नु हाम्रो लागि गर्वको विषय हो?

बुहानमा कोभिड-१९ को संक्रमण बढ्दै जाँदा नेपालले चीन सरकारलाई स्वास्थ्य सामाग्री मास्क सहयोग प्रदान गरेको थियो। त्यतिबेला हामीले भनेका थियौँ - नेपालले चीनलाई सहयोग गर्‍यो।

चीनले कोभिड-१९ नियन्त्रण गरिसक्दा हाम्रोमा कोभिड-१९ को संक्रमणको ग्राफ निरन्तर उकालो लागिरह्यो। हिजो हामीले चीनलाई स्वास्थ्य सामाग्री सहयोग गरे जस्तै अहिले हामीलाई कम्बोडियाले स्वास्थ्य सामाग्री पठाएको छ।

लामो समय गृह युद्धमा जुधेको कम्बोडियाले आफ्नो अर्थतन्त्रलाई यसरी माथि उठाएको छ कि अहिले कम्बोडिया विश्व मानचित्रमा अगाडि आउँछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवारको सम्बोधनमा भनेका थिए - 'हिजो नेपाल कहाँ छ भन्ने थाहा नहुनेले अहिले नेपालको बारेमा थाहा पाएका छन्। हिजो नेपाल कहाँ छ थाहा नहुनेले नेपाल जानेका छन्। अहिले भारतका जनतालाई सोधौँ - नेपालको प्रधानमन्त्री को हो भनेर, सबैलाई थाहा छ, को हो भनेर।'

हो, अहिले नेपालको उपस्थिति कसरी चिनिएको छ? अहिलेकै कुरा गर्ने हो भने विश्वका मिडियाले प्रतिनिधिसभाको असंवैधानिक विघटनका समाचार प्रकाशित गरेर विश्वका जनता सामु पुर्‍याएका छन्। सरकारले खारेज गरेको ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टले नेपाललाई भ्रष्टाचार हुने मुलुकको सूचीमा देखाएको छ। त्यहाँबाट पनि नेपाल चिनिएको छ। मानव विकास सूचकांकमा ठूलो फड्को मारेको चर्चा प्रधानमन्त्रीले गर्दै गर्दा भ्रष्टाचारको फड्को पनि हामीले छुटाउनु भएन नि। मानव विकास सूचकांकमा नेपालले चार स्थानमाथि उक्लिएको छ। तर, दक्षिण एसियाका दशहरुमा हामी अझै पछाडि छौं। 

चीनसँगको सम्पर्क जोखिम हुँदाहुँदै पनि कोभिड-१९ नियन्त्रण लिएर अहिले विश्वलाई आफ्नो उदाहरण प्रस्तुत गरिरहेको छ। तर, नेपालले कोभिड-१९ नियन्त्रणमा अनियमितताले। हामीजस्तै हाम्रोजस्तै अर्थतन्त्र भएको देशले नेपालालाई सहयोग गर्नुलाई प्रचार गर्नु गर्वको विषय हो र? विपक्षी खेद्नका लागि यो प्रधानमन्त्रीका लागि एउटा अस्त्र होला तर स्वाभिमानी नेपालीका लागि यो गर्वको विषय पक्कै होइन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell