PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

अलविदा निरु दा : नेपालले गुमायो प्रजातान्त्रिक आन्दोलनको एउटा ठूलो सहयोगी



अनन्तराज न्यौपाने

अलविदा निरु दा : नेपालले गुमायो प्रजातान्त्रिक आन्दोलनको एउटा ठूलो सहयोगी

नेपालको प्रजातान्त्रिक आन्दोलनका सहयोगी एवम् कोइराला परिवारका वरिष्ठ सदस्य निरञ्जन कोइरालाको निधन भएको छ।
विगत १ महिनादेखि कोरोना सङ्क्रमणसित जुधिरहेका कोइरालाको ७५ वर्षका उमेरमा आइतवार बिहान ११ बजे निधन भएको हो।
काङ्ग्रेस जन र कोइराला परिवारका सदस्य उनलाई निरुदा भनेर सम्बोधन गर्थे। 

दुई हप्ताअघि उनी कोरोनामुक्त भए पनि कोभिडका कारण फोक्सोमा सङ्क्रमण भएकाले उनी दिल्लीकै म्याक्स अस्पतालमा उपचाररत थिए।
उनी बिपी कोइरालाका माइला भाइ केशवप्रसाद कोइराला र आमा नोना कोइरालाका जेठा छोरा हुन्। उनका एकमात्र भाइ डाक्टर शेखर नेपालमा नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय छन्। 

निरञ्जन लामो समयदेखि दिल्लीमा पर्यटन व्यवसाय गरी बस्तै आएका थिए। 

पारिवारिक सूत्रका अनुसार निरञ्जनले विराटनगरकै आदर्श विद्यालयबाट एसएलसी, काठमाडौंको त्रिचन्द्र कलेजबाट बीए र बनारसको काशी हिन्दु विश्वविद्यालयबाट एम्ए गरेका थिए।

अमेरिका बसेर उनले बङ्गलादेशका बारेमा अध्ययन गरेका थिए भने भारतमा होटल म्यानेजमेन्टमा पनि स्नातकोत्तर गरेका थिए।

निरञ्जनले केही समय वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा प्राध्यापन पनि गरेका थिए। यसपछि उनी होटल सोल्टीमा प्रबन्ध निर्देशक भएर पनि काम गरे। २०३६ सालमा बहुदलको प्रचारमा सक्रिय उनले चालीसको दशक लागेपछि भारतको नयाँ दिल्ली गएर त्यहाँ व्यवसाय सुरु गरे।

उनी २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा पर्यटन मन्त्री रामहरि जोशीका सल्लाहकार थिए।

उनी बङ्गलादेशको राजदूत हुन चाहन्थे तर नेपाली काङ्ग्रेस र कोइराला परिवारभित्रको आन्तरिक खिचलोले उनको इच्छा पूरा भएन। गिरिजाप्रसाद प्रधानमन्त्री भएपछि नेपाल फर्केका उनी २०५१ को मध्यावधि चुनावपछि फेरि भारत नै हानिए।

उनकी जेठी पत्नी सन्तोष पाठक कोइरालाको २०४८ सालको विमान दुर्घटनामा मृत्यु भएको थियो। त्यसपछि उनले नयाँ दिल्लीकै डालमिया परिवारकी इलासित विवाह गरे। केही समयपछि क्यान्सर रोगले इलाको पनि मृत्यु भयो। 

निरञ्जनका दुई छोरा भाष्कर र हिमांशुमध्ये हिमांशु नयाँ दिल्लीमै बसेर उद्योग–व्यापार र भाष्कर काठमाडौं बसेर आयात–निर्यातको काम गर्छन्।

नेपाली काङ्ग्रेस मोरङका पूर्व सभापति बद्रीनारायण बस्नेतले निरञ्जनले प्रजातन्त्र पुनःस्थापनाका लागि ठूलो योगदान गरेको बताए। 

‘निरञ्जनले जेल जाने काम त गरेनन् तर जेल जानेले भन्दा महत्त्वपूर्ण र ठूला योगदान उनले गरेका छन्’, नेता बस्नेतले भने, ‘उनी प्रखर बौद्धिक र फरासिला व्यक्ति थिए। नेपाली काङ्ग्रेसको विचार, सिद्धान्त र बीपीको आदर्श उनले बुझेका थिए। आन्दोलनमा उनको परामर्श, सरसल्लाह र योजना हाम्रा लागि उपलब्धिपूर्ण हुन्थ्यो। नेपथ्यमा बसेर योगदान गर्नेले अझ धेरै योगदान गरेको हुन्छ, जुन निरञ्जनले गरेका थिए।’

बस्नेतका अनुसार निरञ्जनको खुट्टा २०२३ सालको नारायणसिंह डीआइजी काण्डमा परेर भाँचिएको थियो। २०३७ वैशाख २० मा भएको जनमत सङ्ग्रहमा बहुदलीय व्यवस्थामा भोट माग्न उनी अहोरात्र खटेका थिए।

निरञ्जनको अन्तिम दाहसंस्कार आइतवार अपराह्न ४ बजे नयाँ दिल्लीको निगमबोध घाटमा हुँदैछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell