PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

प्रचण्डले खुलेआम बाह्य हस्तक्षेप भित्र्याउन खोजे, चश्मा नै दोषी लगाएपछि कुर्सी बाहेक केही देखिँदैन: प्रदीप ज्ञवाली



पहिलोपोस्ट

प्रचण्डले खुलेआम बाह्य हस्तक्षेप भित्र्याउन खोजे, चश्मा नै दोषी लगाएपछि कुर्सी बाहेक केही देखिँदैन: प्रदीप ज्ञवाली

काठमाडौं: परराष्ट्र मन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीका ४ नेताले सरकारलाई काम गर्न नदिएको आरोप लगाएका छन्।

अनेरास्ववियुले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले प्रतिपक्षीले बरु सरकारलाई सहयोग गरेको, प्रधानमन्त्रीको पक्षमा उभिएको तर पार्टीका नेताहरुले नेतृत्वको अपमान र बद्नाम गर्ने काम गरेको आरोप लगाए।

‘राष्ट्रियताको सवालमा मीनेन्द्र रिजालले नै प्रधानमन्त्रीको समर्थन गर्छु भनेका छन्। प्रतिपक्षले आजसम्म औपचारिक रुपमा प्रमको राजीनामा मागेको छैन। तर, पार्टीकै नेताले सरकार सञ्चालनमा निरन्तर असहयोग गरे,’ उनले भने, ‘४ जनाको अति महत्वाकांक्षाका कारण अहिलेको अवस्था निम्तियो।’

पार्टी कमिटीहरु सहमतिका आधारमा अघि बढ्नुपर्ने एकताको मर्मविपरीत ४ नेताले अल्पमत र बहुमतको आधारमा अघि बढाएको उनको आरोप छ।

‘प्रधानमन्त्रीलाई काम गर्न अफ्ठ्यारो पार्ने अवस्था सिर्जना भयो। आन्दोलन र उपलब्धीलाई खेर जान दिनु हुँदैन भनेर प्रमले यो कदम चाल्नुभयो,’ उनले भने।

उनले अहिलेको कदमको वैधानिकताको अन्तिम फैसला न्यायालयले गर्ने भन्दै अभियान लिएर आ-आफ्नो क्षेत्रमा जान कार्यकर्तालाई आह्वान गरे।

मन्त्री ज्ञवालीले केपी ओलीको नेतृत्वमा अघि बढिरहेको राष्ट्रियताको अभियानलाई असफल पार्ने षड्यन्त्र भएको आरोप पनि लगाए।

‘अस्ती कमरेड प्रचण्डले एउटा टेलिभिजनमा भनिसक्नुभयो, हामीलाई अन्तर्राष्ट्रिय समर्थन किन आएन? म छक्क पर्‍या छु। अरु देश किन बोल्दैन हँ अहिलेसम्म? यो मौनता पचेन है मलाई। समर्थन चाहियो नि हामीलाई भन्नुभयो। देशभित्र घर झगडामा, हाम्रो आन्तरिक मामिलामा खुलेआम यसरी बाह्य हस्तक्षेप भित्र्याउने प्रयास हुँदैछ। यस्तो प्रवृत्तिले देशलाई प्रयोगशाला बनाउने खतरा छ,’ उनले भने, ‘कार्यकारी अध्यक्ष बनेर महाधिवेशन नगर्ने तर प्रधानमन्त्री नै चाहिने भनेर षड्यन्त्र गर्ने?’

ज्ञवालीले अब नयाँ जनादेश ल्याएर समृद्धिका सपनाहरु जागरण गर्ने बेला आएको उल्लेख गरे।

‘देश बदलिँदै छ। बदल्छौं। केही साथीको आँखामा दोषी चश्मा भन्ने बीपी कोइरालाको कथा जस्तो चश्मा नै दोषी लगाएपछि अहिलेका प्रगति देख्दैन। मात्र एउटा कुर्सी देख्छ। बनेका बाटो, हस्पिटल देख्दैन। राष्ट्रपतिको हेलिकोप्टरबाट सुत्केरीको उद्धार गरेको देख्दैन। बस एउटा कुर्सी देख्छ। यो स्थितिलाई उन्मुक्त गरिनु पर्छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell