PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप तीन नेपालीको निधन



रासस

कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप तीन नेपालीको निधन

काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यस साता बेलायतमा एक र पोर्चुगलमा दुई जनाको निधन भएको हो।

संघ अन्तर्गतको स्वास्थ्य समितिकाअनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट निधन हुनेको कूल संख्या (२० देशमा) ३१५ पुगेको छ। संघको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ५० हजार ६५६ जना कोरोना मुक्त भएका छन्। यो कूल संक्रमितको ९४ प्रतिशत हो।

समितिका अनुसार यस साता स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको गैरआवासीय नेपाली संघ, कोभिड-१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए।

यस्तै कोरोना भाइरसका कारण नेपालमा एक हजार ८७० जनाको निधन भएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ६१ हजार ४३८ छ भने दुई लाख ५३ हजार ८५७ जना अर्थात ९७.१ प्रतिशत कोरोनाबाट मुक्त भएका छन्।

अगामी अप्रिल अन्त्यसम्म नेपालमा खोप आउने

हाल विश्वका केही मुलुकहरुले फाइजर एण्ड बायोएन्टेक, मोडर्ना, सिनोफार्म तथा अक्सफोर्ड विश्वविद्यालय र एष्ट्राजेनेका कम्पनीले विकास गरेका कोरोना विरुद्धका खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको अवस्था छ।

विभिन्न मुलुकमा तीव्र रूपमा खोप वितरण समेत जारी छ। स्वास्थ्यसमितिका संयोजक सापकोटाका अनुसार आगामी अप्रिल महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोप आउनसक्ने सम्भावना रहेको छ। यद्यपि, खोप नआएसम्म स्वास्थ सावधानी  अपनाउन जरुरी रहेको भन्दै समितिले अझै ढुक्क हुने अवस्था भने नरहेको जनाएको छ।

बेलायतलगायतका मुलुकमा देखा परेको कोरोना भाइरसको नयाँ प्रकारको (उत्परिवर्तित) भाइरस छिमेकीमुलुक भारतमा पनि फैलिँदै गएकोले नेपालमा पनि उच्च सावधानीको आवश्यकता समितिले औंल्याएको छ। भारतसहित बेलायत, युरोपेली मुलुक, अमेरिकालगायत नयाँ प्रकारको भाइरस देखा परेका देशमा बसोबास गर्ने नेपालीलाई पनि सचेत रहन समितिले आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell