PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

पर्सागढीमा यस्तो देखियो विजय उत्सवको रौनक

पर्सागढीमा यस्तो देखियो विजय उत्सवको रौनक

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंज : जिल्लाको ऐतिहासिक पर्सागढीमा विजय उत्सव मनाइएको छ। वीरगंजबाट १८ किलोमिटर उत्तरपश्चिममा रहेको पर्सागढी नगरपालिका वडा नं ६ जिंगनाको सरेहमा पर्ने उक्त पर्सागढीकै नामबाट पर्साको नामाकरण भएको कथन छ। मकवानपुर, सिन्धुली र बरागढीजस्तै पर्सागढीमा पनि अग्रेज सेनासंग युद्ध भई नेपाली वीर गोर्खाली सेनाले ब्रिटिस सेनालाई पराजित गरेको पुस १९ गतेको दिनलाई विजयउत्सव मनाइएको हो।

पर्सागढी नगरपालिका, पर्सागढी मन्दिर ब्यवस्थापन समिति, चण्डीप्रसाद गण श्रीपुर वीरगंज, पर्यटक पत्रकार संघ पर्सा, होटल तथा पर्यटन व्यवसायी संघ पर्सा तथा वीरगंज उद्योग वाणिज्य संघलगायत संस्थाहरुको सहकार्यमा आयोजना भएको कार्यक्रममा वीरगंजबाट कार्यक्रम स्थलमा साइकल र्‍याली निकालिएको थियो भने पर्सागढीको हरपुरस्थित कार्यालयबाट बाजागाँजा, झाँकीसहितको र्‍याली निकालिएको थियो। पर्सागढीस्थित बन्हर बाबा मन्दिर प्रांगणमा गएर र्‍याली औपचारिक कार्यक्रममा परिणत भएको थियो। कार्यक्रममा एक हजारभन्दा बढीको सहभागिता थियो।

सन् १८७१ पुस १८ र १९ गते गरी दुई दिन भारतलाई उपनिवेश बनाएर बसेको ब्रिटिश इष्ट इण्डिया कम्पनीको एउटा बटालियन पर्सागढीको पुरानो गाउँलाई विस्थापित गरी बसेको थियो। बागवन्नाको रञ्जीत चौधरीको कमान्डमा पर्सागढी वरपरका ५ गाउँका बासिन्दाहरुको योजनामा अग्रेज सेनालाई पराजित गरी धपाइएको थियो।

त्यति बेला तिलावे र सिंघयाही खोलामा बाँध लगाई पानीको सतह बढाइएको थियो। राति ७ बजेपछि सयौं गाईवस्तु, रागो, भैसीको सिंहमा लुकार, मसाल बाधेर खोलामा पौडाइएको थियो। अग्रेज सेनाहरु फस्ट जनवरी मनाइरहेका र मदिराको नशामा चुर थिए। त्यसबेला रञ्जीत चौधरीको टोलीले घरेलु हतियार र विभिन्न जुक्ति अपनाएर युद्ध लडेको कार्यक्रममा चर्चा गरिएको थियो।

पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवले पर्सागढी मन्दिरलाई साच्चैको देख्न लायकको ऐतिहासिक ठाउँको रुपमा परिणत गर्नु जरुरी रहेको बताए। वक्ताहरुले गर्व गर्ने स्थल भएकोले स्थानीयदेखि केन्द्र सरकारसम्म सहयोग गर्नु जरुरी रहेकोमा जोड दिए।

प्रदेश सांसद अशिक्षा देबी थरुनीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरी पन्त, पर्यटन पत्रकार संघ पर्साका अध्यक्ष शंकर आचार्यलगायतको सहभागिता थियो।



ट्रेन्डिङ पोस्ट

Ncell