काठमाडौंः श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी वृत कालिमाटीको टोलीले ललितपुर गोदावरी नगरपालिका वडा नम्बर १२ ठेचो घर भइ हाल कालिमाटी बस्ने २३ वर्षीय सुरज परियारलाई नियन्त्रणमा लिएको हो।
परियारले शुक्रवार राति साढे ११ बजे कालिमाटी क्लब मार्गस्थित डेरामा रहेकी २२ वर्षीय मिरा सुन्दास परियारको घाँटी घिचेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ। कालिमाटी तरकारी बजारमा काम गर्दै आएकी मिराको सामान्य विवादमा हत्या गरेको वृतका डिएसपी अपिल बोहोराले बताए।
‘मदिरा सेवन गरेर आएपछि श्रीमतीसँग विवाद हुँदा हत्या भएको देखिएको छ। थप अनुसन्धान गरिरहेका छौं,’ डिएसपी बोहोराले भने।
हत्या गरिसकेपछि प्रहरीबाट बच्नको लागि परियारले आत्महत्या देखाउन सलले घाँटीमा बाँधेर आफन्तलाई फोन समेत गरेका थिए। मृतकी दिदी रुपा सुन्दासलाई फोन गरेर आत्महत्या गरेको जानकारी गराएपछि उनी राति नै कोठामा पुगेर हेर्दा शंका लागेपछि प्रहरीलाई खवर गरेकी थिइन्।
‘उसले घटनालाई आत्महत्या देखााउन धेरै प्रयास गरेको देखिन्छ। हत्यापछि ढोका बाहिरबाट लगाएर भित्र चाँबी फ्याँकेको छ। किनकी भित्रबाट नै ढोका लगाएको देखाउने प्रयास गरेको छ। ढोका बाहिरभित्र दुबैतिर लक गर्ने स्टम रहेछ,’ डिएसपी बोहोराले भने।
प्रहरी नियन्त्रणमा रहेका सुरज यसअघि पनि साथिको हत्या अभियोगमा पूर्पक्षमा जेलमा बसेर निस्किएका व्यक्ति भएको खुलेको छ। २०७५ सालमा ललितपुरको चाँपागाउमा अन्य साथीसँग मिलेर हत्या गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो।
