प्रधानमन्त्री कप महिला क्रिकेट सकिएको छ। आइतवार सम्पन्न फाइनल खेलमा एपीएफलाई हराउँदै प्रदेश १ ले पहिलो पटक प्रधानमन्त्री कपको उपाधि उचाल्यो। तर कथा यति होइन, यो प्रतियोगिता नेपालमा महामारीका बीच खेल फर्किएको एउटा संकेत पनि हो। विश्वभर क्रिकेटको माहोल बनिसक्दा नेपाली क्रिकेटमा पनि एउटा राष्ट्रिय स्तरको खेल सम्पन्न भयो। त्यो पनि काठमाडौंमा नभएर दाङमा। नयाँ ठाउँ र दर्शकहरुका बीच सम्पन्न प्रतियोगिताका आयोजना गर्दा काठमाडौं बाहिर पनि क्रिकेटको माहोल बनाउने वातावरण बन्यो।
कोरोना महामारीका कारण निकै लामो समय खेलकुद गतिविधि लगभग ठप्पै रह्यो। अन्य खेलको कुरा गर्ने हो भने फुटबलले बंगलादेशमा गएर सिरिज खेल्यो भने नेपालकै कुरा गर्दा नेपालगञ्जमा म्याराथन भयो। त्यसबाहेक नेपालमै खेल सञ्चालनका लागि भने खेलकुद संघहरु पर्ख र हेरको अवस्थामा छन्। कतिपय संघहरु खेलका मिति घोषणा गरेर अनुकुल वातावरण पर्खिरहेका छन्। अझ कति संघहरुले त अझै अभ्यास सुरु गराउन पनि हिच्किचाइरहेका छन्।
यस्तोमा नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री कप महिला क्रिकेटको आयोजना सम्पन्न गरेको छ भने पुरुषतर्फ पनि आयोजनाको तयारी गरिरहेको छ। कोभिड नहुँदा पनि भरसक 'कागजी प्रतियोगिता' मै झारो टार्न पाए हुने भन्ने खेल संघहरुका लागि एउटा झापड नै मान्न सकिन्छ।
यो प्रतियोगिताले प्रतिकुल अवस्थामा सञ्चालन भएर पनि एकहद सम्म चर्चा कमायो। कति नयाँ खेलाडी आए र आफ्नो प्रदर्शन देखाएर समर्थकहरुको मन जिते। १३ वर्षमै क्रिकेटमा जमेकी ज्योत्सना मरासिनीलगायतका खेलाडीले समर्थकको मन त जिते नै। त्यसैले त फाइनल खेल हेर्न पुगेका राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले सम्झिए: मैले यहीँ आएर १३ वर्ष लागेको बहिनीको खेल पनि हेरेको थिएँ। यस्तो प्रतिभाहरु पनि यो खेलमा सहभागी भएर प्रदर्शन गरेकोले भोलि महिला क्रिकेट उज्वल हुने पनि देखिएको छ। पुराना नयाँ सबै खेल्दा सिक्ने र सिकाउने अवसर पनि मिल्यो भन्ने मैले महसुस गरेँ।
यद्यपि कतिपय खेलहरुमा तयारी अभाव पनि स्पष्ट छचल्कियो। केही खेलहरुमा त हारको अन्तर पनि यति ठूलो देखियो कि तयारी बिनै राष्ट्रिय प्रतियोगिता भयो र? भन्ने अवस्था पनि देखियो। जसको एउटा नमिठो उदाहरण पनि देखियो गण्डकी र प्रदेश १ को खेलमा। उक्त खेलमा गण्डकी प्रदेश जम्मा ७ रनमा अलआउट भयो। जसमा तीन रन त अतिरिक्त थियो। यसले प्रश्न पक्कै उठाउँछ, यो राष्ट्रिय प्रतियोगिताका लागि तयारी पुगेको थियो या झारा टारियो? तर कुतर्कै गर्ने हो भने सोझो उत्तर पनि आउँछ: 'महामारीमा प्रतियोगिता झन्न पो भयो।'
खैर प्रतियोगिताको फाइनलसम्म पुग्दा मैदान वरपर दर्शकको उपस्थिति राम्रो देखिन्थ्यो। समर्थकहरु हुटिङ लगाइ रहेको सुनिन्थे। डिजिटल प्लेटफर्ममा पनि समर्थकहरु कमेन्टमा झुम्मिएका देखिन्थे। दर्शक दीर्घमा बसेर हेर्ने अधिकांश दर्शकहरुलाई कोभिडको सुरक्षा सतर्कताबारे मतलब नभएजस्तो पनि देखिन्थो। मतलब झुम्मिएर बसेका अधिकांश दर्शकहरुको मुखमा मास्क देखिन्थेन।
जे होस्, कोभिड महामारीले दिमागमा नकरात्मकता थोपरेको बेलामा एउटा आशाको किरण देखिएको छ। क्रिकेटको माहोल बनेको छ, त्यसमा क्यानलाई धन्यवाद।