PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'९ बजे नै पर्यटन क्षेत्र बन्द गरेर मसानघाटजस्तो बनाउनु त भएन नि!' फेवाताल र पोखराको पर्यटन व्यवस्थानबारे प्रदेश सांसद पहारीको सुझाव यस्तो



कमलराज भट्ट

'९ बजे नै पर्यटन क्षेत्र बन्द गरेर मसानघाटजस्तो बनाउनु त भएन नि!' फेवाताल र पोखराको पर्यटन व्यवस्थानबारे प्रदेश सांसद पहारीको सुझाव यस्तो

कास्कीबाट निर्वाचित गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारी पोखराको सौन्दर्यको केन्द्र फेवातालको अतिक्रमण हटाउने अभियानमा छन्। ताल अतिक्रमण गरेर केही व्यापारीले होटेल सञ्चालन गरेका छन्। यो प्रकरणमा अदालतले पनि जग्गा खाली गराउन अन्तरिम आदेश जारी गरिसकेको छ। यस्तोमा फेवाताल अतिक्रमण हटाउने प्रक्रिया कहाँ पुग्यो? फेवातालको विकासका लागि के कस्ता योजना छन् भन्नेबारे प्रदेश सांसद पहारीसँग पहिलोपोस्टका कमलराज भट्टले गरेको कुराकानी:

फेवातालको अतिक्रमण हटाउने अभियान कहाँ पुग्यो?

फेवातालमा भौतिक रुपमा व्यापक अतिक्रमण भइरहेको छ। प्राकृतिक रुपमा प्रत्येक वर्ष अधेरी अपर्ण लगायतका खोलाहरुले १ लाख ४२ हजार मेट्रिक टन माटो बालुवा गिट्टी बगाएर ल्याएर फेवातालको पानी जमिनमा रुपान्तरित हुँदै आएको छ। अहिले गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका मिलेर माथिल्लो तटीय क्षेत्र अर्पण अधेरी लगायतका आधा दर्जनभन्दा बढी खोलाबाट आउने बालुवा, माटो गिट्टीलाई नियन्त्रण गर्नको निम्ति ५ वटा स्वीचट्रेसन पोखरी र आवश्यकता अनुसारको चेक ड्याम २८ करोडको लगानीमा ६ महिनाभित्र निर्माण सम्पन्न भइसक्यो। प्राकृतिक रुपमा आउने रोकिएको छ। तर मानवीय रुपमा अतिक्रमण दिन दुई गुना चार चौगुना दरले बढेको छ। एउटा सुखद कुरा के हो भने पहिला सुरुमा संघले प्रदेश, प्रदेशले स्थानीय, स्थानीयले प्रदेश र प्रदेशले फेरि संघ भनेर एउटाले अर्कालाई देखाएर सम्मानित सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने कुरामा ढिलाई भएको थियो, त्यो विषयलाई मैले पटक पटक सदनमा उठाउने काम गरे। संघ सरकारको ध्यानाकर्षण गराएँ। दबाब दियौं। अनि संघ सरकारसँगको परामर्शमा गण्डकी प्रदेश सरकारको क्याविनेट बैठकले एक महिना अगाडि जिल्ला विकास समितिका पूर्वसभापति पुण्य पौडेलको संयोजकत्वमा सीमांकन समिति बनाएको छ। चार महिनाभित्र फेवातालको सीमांकन हुन्छ। के कति भुभाग फेवातालको हो? को को ले अतिक्रमित गरेका छन्? कसरी हटाउने? विषयमा समितिले प्रतिवेदन दिइसकेपछि त्यो अनुसारको काम हुन्छ। फेवातालको विषयमा आइस ब्रेक भएको छ। तर परिणाममुखी ढंगबाट अस्थायी टहरा संरचना हटाउनेदेखि लिएर तालको व्यापक रुपमा संरक्षण गर्ने, सौन्दरीकरण गर्ने कुरा हुन बाँकी छ। दुई वर्षभित्र गर्नेगरी हामी अगाडि बढ्छौं।

अदालतले संरचना हटाउनु भन्ने आदेश दिएको थियो। अहिलेसम्म सीमांकन समितिमै अल्झिनुमा भू- माफियाको चलखेल त होइन?

पहिला त सीमाकंन गर्नुपर्‍यो। ढिलाई हुनमा चलखेलहरु भएका होलान। तर त्यो हामी सफल हुन दिँदैनौ। ढिला भए पनि सीमांकनको काम सुरु भएको छ। वास्तविक चार किल्ला खुट्याएपछि अनि अरु काम हुन्छ। बल्ल हामी प्रस्थान विन्दुमा प्रवेश गरेका छौं।

कोभिड १९ महामारीले फेवाताल र पोखराको पर्यटनमा कस्तो असर पार्‍यो?

कोभिड १९ ले पर्यटनलाई सबैभन्दा बढी प्रभावित पारेको छ। दोस्रो यातायातलाई पारेको छ, तेस्रो मनोरञ्जनलाई। पर्यटन भनेको एक ठाउँबाट अर्को ठाउँमा आवतजावत, हिँडडुल गर्ने हो। कोरोनाले त यस्तो बनायो कि एउटा मान्छे अर्कोसँग दुरीमा रहनुपर्ने। लामो समय ९/१० महिना लकडाउन भइसकेपछि पर्यटन लगायत अरु क्षेत्र थिलोथिलो भएका छन्। अहिले पर्यटन क्षेत्र कोमामा छ। लकडाउन खुला भइसकेपछि केही चलायमान हुने अवस्थामा छ। पोखरा भनेको पर्यटनको राजधानी नै हो। ९० प्रतिशत जनता यसैमा निर्भर छ। त्यसो भएर हामीले आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्दै सामाजिक भौतिक दुरी कायम राखेर, कोभिड १९ को प्रटोकल कायम राखेर क्रमश पर्यटन क्षेत्रलाई खुला गर्ने, पुरानै अवस्थाबाट लैजाने ढंगबाट बढ्ने प्रयत्न भइरहेको छ।

पर्यटकको आगमन कस्तो छ?

दशैंतिहारदेखि राम्रो हुँदै गएको छ। होटल संघलगायत संघसंस्थाले जाउ है पोखरा जस्ता अभियान चलाएका छन्। देशव्यापी भ्रमणमा छन्। नयाँ वर्ष र क्रिसमसले पर्यटकीय क्षेत्रलाई पुरानै अवस्थामा ल्याएको देखिन्छ। सरकारले पनि पर्यटन क्षेत्रलाई प्याकेजमा कार्यक्रमहरु घोषणा गर्नुपर्छ। कर्मचारीलाई  वर्षमा एक दुई महिना बिदा दिने हो कि? वा कसरी हामीले आन्तरिक पर्यटक आकर्षित गर्नसक्छौं? खाली पर्यटन नेपालको सम्पत्ति नेचर, कल्चर, एडभेन्चर मात्रै भनेर हुँदैन। अरु खालका पर्यटकहरु कसरी आकर्षित गर्न सकिन्छ? त्यो ढंगबाट सोचेर प्याकेज प्रोग्रामहरु ल्याएर अगाडि बढ्नुपर्छ। निजी क्षेत्रले त्यो ढंगबाट अघि बढ्ने प्रयत्न गरेको छ। गण्डकी प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले म आफैंलाई संघ सरकारसँग यहाँ पर्यटन संघसंस्थाको डेलिगेसन गरेर पठाउनुभयो केही समय अगाडि। हामीले उप्रधानमन्त्री, अर्थमन्त्री, पर्यटनमन्त्री, परराष्ट्रमन्त्री लगायत सरोकारवाला सबैलाई भेट्यौं। जसको कारणले नेपाल राष्ट्र बैंकबाट पर्यटन क्षेत्रलाई टेवा पुग्नेगरी मौद्रिक नीति आयो। तर निजी र सरकारी बैंकहरुले कार्यान्वयन नगर्दा समस्या आएको छ। मौद्रिक नीतिको निर्देशनअनुसार कार्यान्वयन गर्न बैंकहरुलाई ताकेता गर्नुपर्छ। यदि त्यस्तो नगरेमा तिनीहरुलाई पनि कानुनी दायरामा ल्याउनुपर्छ। त्यसो भयो भने यो पर्यटन क्षेत्र उकासिन मद्दत पुग्नेछ।

मुख्यमन्त्रीले पोखरालाई रेडलाइट एरियाका रुपमा विकास गर्नुपर्छ भन्नुभएको छ, के साँच्चै यस्तै तयारी हो?

मुख्यमन्त्रीज्यूले रेडलाइड एरिया नै बनाउनुपर्छ भनेर बोल्नुभएको होइन। त्यसलाई अलिकति ट्वीष्ट गरियो। उहाँको आशय भनेको पर्यटकीय क्षेत्रमा मान्छेहरु घुम्न, रम्न, रिफ्रेस हुन आउने भएकाले हामीले पर्यटकीय क्षेत्रलाई एकदम बन्धनमा बाध्नु हुन्न, शान्ति सुरक्षा अमनचयनलाई कायम राखेर पर्यटन व्यवसाय भनेको रात्रिकालिन व्यवसाय पनि हो। ९ बजे नै पर्यटन क्षेत्र बन्द गरिदिएर त मसानघाट जस्तो मुर्दाशान्तिको भएर त अर्थ छैन। व्यवस्थित गर्नुपर्छ। पर्यटकहरु आउँछन् भने मर्यादित, सभ्य, शिष्ट ढंगबाट उनीहरु इन्जोय गर्न पाउन, रम्न पाउन भन्ने हो। यो कुरालाई मुख्यमन्त्रीज्यूले रेडलाइट एरिया बनाउने भन्यो भनेर ट्वीष्ट गरियो। भनेको त्यो होइन। व्याख्या यसरी गरियो। व्यवस्थित गर्नुपर्छ भन्ने हाम्रो पनि धारणा हो। अवाञ्चित गतिविधि गर्छन भने कानूनी दायरामा ल्याउनुपर्छ। अरु कुरालाई क्रमश व्यवस्थित गर्दै लैजानुपर्छ। कतिपय कुरा नियन्त्रण गर्न सक्छौं, निषेध गर्न सक्दैनौं। मर्यादित, व्यवस्थित, समाज सुहाउँदो, सामाजिक रुपमा पाच्य हुनेगरी व्यवस्थित गर्नैपर्छ।

फेवातालको संरक्षणमा के के गर्नुपर्ला?

फेवातालको विषय सुरुदेखि नै उठाउँदै आएको विषय हो। २८ करोडको चेकड्याम र स्वीचट्रेसन पोखरी बनायौं। फेवातालको बारेमा सर्वोच्च अदालतले फैसला गरेपछि एउटा उच्चस्तरीय समिति बन्यो। भलै त्यसले परिणाममुखी काम गर्न सकेन। अहिले सीमांकन समिति बनेको छ। चार किल्ला क्लियर भइसकेपछि अतिक्रमण हटाउने, पुर्खादेखिको जमिन भएकालाई उचित मुआब्जा दिने, सौन्दरीकरण गर्ने, खाली जमिनहरु स्थानीय वा प्रदेश सरकारले उपयोग गर्न पाउनुपर्छ। नेपाल ट्रस्टले हस्तान्तरण गर्नुपर्छ। फेवाताल वरिपरी साइक्लिङ गर्ने कुरा भएको छ। ट्रयाक बनाउने योजना छ। यहीँ वर्षदेखि केही कामहरुलाई मुर्तता दिँदैछौं। रत्ना मन्दिर र हिमा गृह छिट्टै खुल्दैछ। नयाँ पर्यटकीय गन्तव्य स्थापित हुनसक्छ। ताललाई व्यवस्थित हुने ढंगबाट विभिन्न क्षेत्रबाट पदमार्ग बनाउनुपर्छ। त्यसो हुँदा बसाई लम्बिन्छ। फेवातालभन्दा माथि अरबौ लगानीमा विश्वकै ठूलो मध्येको एक शिवको मूर्ति बन्दैछ। यो पर्यटकीय प्रोडक्ट हुनसक्छ। यी धेरै कुराहरु हामीले क्रमश गर्दै गएका छौं। यसले पोखराको पर्यटनमा आकर्षण गर्छ। अब हामीले पर्यटन भनेको नेचर, क्लचर एडभेन्चर मात्रै होइन जस्तै भारत पाकिस्तानको क्रिकेट पोखरामा गराउन सकियो भने नेपाल त न्युट्रल जोन हो। यो गराउन सकियो भने खेल पर्यटकहरु धेरै आउँछन्। मनोरञ्जनका ठूल्ठूला कार्यक्रमहरु गराउन सकियो, विश्वविख्यात स्टार कलाकार ल्याउन सकियो भने त्यसबाट पर्यटक आकर्षित गर्न सक्छौं। नेपालको पर्यटन त कस्तो भने केही वर्षअगाडि नरेन्द्र मोदी मुक्तिनाथ दर्शन गर्न जानुभयो। ६ महिनासम्म लेकसाइडका होटलहरु पाउन छोडे। कोठा प्याक भएर। जम्मै गुरजरातदेखि लिएर भारतीय पर्यटकहरु आए। मुक्तिनाथको दर्शन गर्न। यसरी धार्मिक पर्यटक ल्याउन सक्छौं। धार्मिक, खेलकुद र अन्य पर्यटक ल्याएर मुर्छित रहेको पर्यटनलाई जगाउनुपर्छ। त्यसको पहिलो काम भनेको आन्तरिक पर्यटन हो।

फेवाताल, वेगनास ताल लगायत पर्यटकीय क्षेत्रलाई एउटै चेन बनाएर अगाडि बढ्ने भन्ने सुनिएको छ। यो कस्तो हुन्छ?

एकीकृत रुपमा गर्ने भन्ने छलफल भइरहेको छ। डीपीआर पनि बनाउँदैछौं। पोखरा भनेको तालैतालको सहर हो। फेवातालबाट बेगनास ताल, बेगनासबाट रुपा तालबाट अर्को तालमा मोनोरेल किन सञ्चालन नगर्ने? त्यस्तै निजी क्षेत्रबाट पर्यटकीय प्रोडक्टहरु सेतीबाट साराङ्कोटसम्म केवलकार निर्माण गर्दै हुँदैछ। पञ्चासे केवलकार बन्दैछ। पञ्चासेसम्म पीच बाटो जाँदैछ। धार्मिक गन्तव्यसम्म केवलकार पुर्‍याउँदैछौं। सेती नदीका खोंचहरुमा क्यानोनिङ गराउँछौं। जंगलहरुमा वाकिङ, फुड ट्रयाकहरुबाट पर्यटनलाई आकर्षित गरिरहेका छौं। एक डेढ वर्षभित्रै परिणामहरु देखिन्छ।

अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणसँगै पोखरामा प्याराग्लाइडिङ विस्थापित हुने भन्ने छ, यसले पर्यटनमा कस्तो असर पर्ला?

साराङ्कोट विश्वकै उत्कृष्ट छैठौ ठाउँ हो प्याराग्लाइडिङका लागि। त्यसको विकल्प अरु ठाउँ पनि छन्। स्याङ्जा होला। म्याग्दी होला। तर साराङ्कोटबाट ताल हेर्दै, हिमाल हेर्दै, बजार हेर्दै, त्यो दृश्यहरुलाई चुम्दै, दृश्यावलोकन गर्दै हेर्ने अर्को ठाउँ छैन। त्यसो भएर अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेपछि विस्थापति हुन्छ कि भन्ने आशंका छ तर त्यसमा हामीले इन्टरनेशनल फ्लाइटको टाइमटेबुल मिलाएर निश्चित समय दिनमा २/३ घण्टा हुनसक्छ साराकाङ्कोटबाटै प्याराग्लाइडिङ गर्नुपर्छ। आज चाइनिज पर्यटकहरु त्यहीँ साराङकोटबाटै प्याराग्लाइडिङ गर्न नेपाल आउँछन्। सबैभन्दा ठूलो उद्देश्य नै त्यहीँ हुन्छ। अरु पर्यटकहरु पनि आउँछन्। प्याराग्लाइडिङ पोखरा पर्यटन प्रवर्द्धनको ठूलो उत्पादन हो। त्यसलाई विस्थापित होइन उचित व्यवस्थापन गर्छौं। साथै प्याराग्लाइडिङमा टिकटक बनाउने, ज्यानै जोखिममा हालेर गतिविधि गर्ने विकृतिलाई रोक्न पर्छ। नियन्त्रण गर्नुपर्छ। तर प्याराग्लाइडिङलाई समाप्त पार्ने कुरा हुँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell