काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार पत्नी सीता दाहालको उपचारका लागि भारत जाँदैछन्। अहिले ११ बजेर २० मिनेटमा भारत प्रस्थानका लागि तय भएको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिए। पत्नी सीता दाहालको मेडिसिटीमा उपचार भएपनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि मुम्बईमा उपचार गर्ने प्रचण्ड भारत जान लागेका हुन्।
राजनीतिक भेटघाट होला?
नेपालमा संसद विघटन भएपछि अन्तर्राष्ट्रिय समुदायले यसबारेमा मुख नखोलेको भन्दै प्रचण्डले आपत्ती जनाएका थिए। प्रधानमन्त्री केपी ओलीले संसद विघटज गरेपछि प्रचण्ड र उनी समूहका अध्यक्ष माधव नेपाल सडक संघर्षमा छन्। व्यवहारिक रुपमा पार्टी विभाजन भइसकेको नेकपामा अहिले कानुनी लडाई चलिरहेको छ।
प्रचण्ड समूहका नेताले भारतको इसारामा ओलीले संसद विघटन गरेको आरोप लगाउँदै आएका छन्। प्रचण्ड पत्नी सीताको उपचारमा जाँदा राजनीतिक भेटघाट हुने नहुनेबारे उनको सचिवालयले प्रस्ट केही बताएको छैन। सापकोटाले हालसम्म राजनीतिक भेटघाटबारे केही तय नभएको बताए। तर उनले राजनीतिक भेटघाट हुने नहुनेबारे अहिले केही भन्न नसकिने बताएका छन्। 'अहिले सम्म त उपचारकै लागि भनेर हो। परिवारका केही सदस्यहरु जानुहुन्छ। अब पछि के हुन्छ अहिले केहि भन्न सकिन्न,' उनले भने।
स्थायी कमिटी बैठक नरोकिने
प्रचण्ड भारत प्रस्थान गरेपनि स्थायी कमिटी बैठक भने १२ बजे पेरिसडाँडामा बस्दै छ। आइतवार बसेको बैठकले माधव नेपालको संयोजकत्वमा पार्टीको सांगठनिक र नेताहरुको कार्यविभाजनका लागि कार्यदल गठन गरेको थियो। उक्त बैठकले सडक संघर्ष अरु पार्टीसँगको मोर्चाबन्दीमा गर्ने निष्कर्ष पनि निकालेको थियो। सोमबार बस्ने बैठकले आइतवार प्रस्तुत आठ वटा एजेण्डाबारे छलफल गर्ने छ। यी एजेण्डाकै आधारमा थप निर्णय गर्ने प्रचण्ड-नेपाल समूहको नेकपाको तयारी छ।
शनिवार नै यो समूहले एक महिने संघर्षका कार्यक्रम तय गरिसकेको छ।
