काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहको स्थायी कमिटी बैठकले विभिन्न आठ एजेण्डाबारे छलफल गर्दैछ। आइतवारदेखि पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा छलफलका लागि आठ एजेण्डा प्रस्तुत भएका छन्।
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि पहिलो चरणको संघर्षका कार्यक्रम समापन गरेको प्रचण्ड-नेपाल समूहले गत शनिवार एक महिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ।
एक स्थायी कमिटी सदस्यका अनुसार प्रचण्ड-नेपाल समूहले आन्दोलनलाई कसरी शसक्त बनाउने र आउनसक्ने राजनीतिक चुनौतीको सामनाका लागि बैठकमा ८ एजेण्डा प्रस्तुत गरिएको बताए। 'माधव नेपाल अध्यक्ष भएपछि पहिलोपटक औपचारिक रुपमा पार्टी कार्यालयमा बैठक सुरु भएको छ। आठ एजेण्डा छन्,' ती स्थायी कमिटी सदस्यले भने।
संसद विघटनबारे संघर्षका कार्यक्रम, केपी ओली गुटको विभाजनकारी कदमले पारेका प्रभाव, प्रदेश सभा र सरकारबारे, प्रदेश तथा जिल्ला कमिटी, जनबर्गीय संगठन र मोर्चाका पदाधिकारीका सम्बन्धमा तथा पार्टी एकताको कार्यभार लगायतका विषयमा बैठकमा छलफल भइरहेको छ।
आइतवारको बैठकमा माधव नेपालले ओलीसँगको सम्बन्ध तथा ओलीबाट भएको पार्टीको विधान विपरीतका क्रियाकलापबारे स्थायी कमिटी सदस्यलाई जानकारी गराएका थिए। बैठकले पार्टी एकता टुंग्याउन तथा नेताहरुको कार्यविभाजनका लागि माधव नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। अध्यक्ष प्रचण्ड र नेपालले आइतवारको बैठकलाई सम्बोधन गरेका थिए।
सोमबारको बैठक माधव नेपालको नेतृत्वमा पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ। प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि भारत प्रस्थान गरेपछि नेपालको मात्रै अध्यक्षतामा बैठक सुरु भएको हो।
