PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

यो कार जसलाई लकडाउनले पनि सकेन लडाउन



पहिलोपोस्ट

यो कार जसलाई लकडाउनले पनि सकेन लडाउन

टेस्लाको सेयर मूल्य लगातार बढ्दै जाँदा सन् २०२० मा धेरै मानिस करोडपति बने। उनीहरुले आफूलाई मिलेनियर वा बिलेनियर नभई टेस्लानियर भन्न सुरु गरिसकेका छन्। 

एलन मस्कको विद्युतीय कार कम्पनी टेस्लाको सेयरको मूल्य सन् २०२० मा ७०० प्रतिशतभन्दा धेरैले बढिसकेको छ। यसका साथै टेस्ला विश्वकै सबैभन्दा मूल्यवान कार कम्पनीसमेत बन्न सफल भएको छ। 

एक दशक अघिमात्र पनि टेस्लाको अवस्था यस्तो थिएन। त्यसबेला लगानी गरेकाहरुले हालसम्म आइपुग्दा निकै नै उतारचढावको सामना गर्नुपर्यो। 

लामो समय टेस्लामा भरोसा राखेका लगानीकर्ताहरुका लागि अब भने टेस्लाको सेयर अकल्पनीय फाइदाको लगानी भएको छ। 

गत डिसेम्बरमा टेस्ला एसएण्डपी ५०० मा लिस्टिङ भयो, जुन अमेरिकाको सबैभन्दा ठूलो स्टक एक्सचेन्ज हो। एप्पल, माइक्रोसफ्ट तथा फेसबुकजस्ता कम्पनीहरु समेत यसमा सूचीकृत भएका छन्। टेस्लाको सेयरको मूल्य डिसेम्बरमा गज्जबले वृद्धि भयो। यसबाट कम्पनी एसएण्डपी ५०० को टप टेन कम्पनीहरुमा पर्यो। 

अब टेस्लाको सेयरको मूल्य जनरल मोटर्स, फोर्ड, फियट क्राइस्लर अटोमोबाइल्स तथा टोयोटाको सबैको सेयर मूल्य जोड्दा भन्दा पनि धेरै भएको छ। 

टेस्लाले आफ्ना प्रतिद्वन्दी कम्पनीहरुको तुलनामा एकदमै कम मात्र कार उत्पादन गर्छ। 

लगानीकर्ता कम्पनी ग्रेनाइट सेयर्सका सिइओ वील राइन्ड भन्छन्- 'जुन लगानीकर्ताले सुरुवातमा टेस्लाको सेयर किनेका थिए उनीहरु निकै फाइदामा रहे। केही त अहिले करोडपति बनिसकेका छन्।' 

टेस्लाको सेयरको मूल्य वृद्धिको सबैभन्दा ठूलो कारण हो चीनमा यसको मागमा भएको वृद्धि। 

यसबाहेक विद्युतीय कारहरुमा सब्सिडीको अनुमानले पनि यसको मूल्य वृद्धि भएको हो। विश्वस्तरमै विद्युतीय गाडीहरुतर्फ मानिसहरुको झुकाव बढ्दै गएकाले पनि टेस्ला जस्ता कम्पनीहरुको बलियो समय आएको देखिएको छ। 

कैयन् लगानीकर्ताहरुको भनाइ अनुसार टेस्लाको अन्य व्यवसायमा पनि उल्लेख्य वृद्धि हुनेवाला छ। यसमा स्वचालित ड्राइभिङ सफ्टवेयर  तथा ब्याट्री पावर स्टोरेज जस्ता व्यवसाय छन्। 

सन् २०१० को जुन महिनामा टेस्लाको सेयर मूल्य प्रतिकित्ता १७ डलरमात्र थियो। तर यो साता टेस्लाको प्रतिकित्ता ६५० डलरभन्दा माथि पुग्यो। 

महामारीका बावजुद सन् २०२० मा टेस्लाको सेयर मूल्यमा भएको वृद्धिलाई लिएर टेस्लाका आलोचकहरुले भने यसलाई अधिक मूल्यांकन गरिएको आरोप लगाएका छन्। 

डिसेम्बरको सुरुमै वित्तीय संस्था जेपी मोर्गनका विश्लेषकहरुले लेखेका थिए- 'हामीलाई के लाग्छ भने टेस्लाको सेयरमा परम्परागत मापदण्डहरुको हिसाबले अधिक मूल्यांकन गरिनुका साथै नाटकीय तरिकाले यसको मूल्यवृद्धि गरिएको छ।' 

तर केही लगानी विज्ञहरुले भने टेस्लालाई केवल एक कार कम्पनीका रूपमा मात्र हेर्न नहुने बताएका छन्। 

लगानीकर्ता कम्पनी ओआन्डाका वरिष्ठ बजार विशेषज्ञ एडवर्ड मोया भन्छन्– 'धेरै लगानीकर्ताहरुमा टेस्लालाई लिएर निकै उत्साह छ। टेस्ला केवल कार कम्पनीमात्र नभई धेरै अवसरहरुको मार्ग हो। यसको ब्याट्रीले पाएको सफलताले अन्य कैयन आयस्रोतको ढोका खोल्नेछ।' 

राइन्ड  भन्छन्- 'बायो इन्धनबाट इलेक्ट्रिक पावर तथा स्टोरेज सिर्जना गर्नमा टेस्लाको भूमिकाका बारेमा सोच्दा यसलाई सामान्य कम्पनीमात्र भन्न सकिँदैन। यस अनुसार हेर्ने हो भने लगानीकर्ताहरु के सोच्न बाध्य हुन्छन् भने, 'भविष्यको प्रविधिको मूल्यांकन अहिले नै कसरी गर्न सकिन्छ?' 

टेस्लाले घर घरका लागि सोलार प्यानल तथा ब्याकअप पावर पनि उत्पादन गर्छ। 

टेस्लामा लगानी गर्नेहरुको ठूलो संख्या छ, जो कम्पनीको उज्वल भविष्यलाई लिएर आशावादी छन्। लसएन्जल्सका इन्जिनियर ज्यासन डी बोल्टले टेस्लामा जब पहिलोपटक लगानी गरेका थिए। त्यसबेला उनले २५०० कित्ता सेयर १९ हजार डलरमा किनेका थिए। 

उनी भन्छन्- 'पहिलोपटक सन् २०१३ मा टेस्लाको मोडल एस किनेपछि तथा त्यसको फ्याक्ट्री भिजिट गरेपछि मैले लगानी गरेको थिएँ।'

त्यसबेलादेखि उनी कम्पनीको सेयर किनिरहेका छन्। अब उनीसँग कम्पनीको १५ हजार कित्ता सेयर छ, जसको मूल्य करिब एक करोड डलर छ। उनी लामो समयदेखि कम्पनीका लगानीकर्ता रहेको नाताले के भन्छन् भने यो निकै उतारचढावको यात्रा रह्यो। 

उनले भने- 'मिडियाकोतर्फबाट एलन मस्क तथा टेस्लामाथि हुने गरेका आक्रमण निकै नमिठो अनुभव थियो। यो मेरो लागि सेयरको मूल्यमा गिरावट आएभन्दा पनि नमिठो अनुभव। मलाई थाहा थियो एक दिन उनीहरुले यसको जवाफ पक्कै पाउनेछन्।' 

ज्यासन डी बोल्ट टेस्ला सेयरहोल्डर्स क्लबका सदस्य हुन् तथा उनी फेसबुक ग्रुपको माध्यमबाट उनी अन्य निवेशकहरुसँग सधैं कुराकानी गर्छन्। 

न्यूयोर्कका स्कट टिस्डेलले सन् २०१३ मा मोडल एस देखेपछि टेस्लामा लगानी गर्न थाले। हाल उनीसँग ४ हजार कित्ता सेयर छ, जसको मूल्य २८ लाख डलर पर्छ। 

'मैले यसमा लगानी गर्न कहिल्यै बन्द गरिँन। अब बल्ल यसको जादू चल्दैछ। मानिसहरु त्यसबेलादेखि यसको मूल्य बढ्छ भनिरहेका थिए, जुनबेला मैले यसको सेयर किन्न सुरु पनि गरेको थिइन।' 

विज्ञहरुका अनुसार सन् २०२१ मा टेस्लाको सेयर मूल्यमा गत वर्षजस्तो ७०० प्रतिशतको वृद्धि हुने छैन। अनि अहिलेजस्तो टेस्लाका सेयरधनीहरु करोडपति हुने छैनन्। 

उनीहरु टेस्लालाई एप्पलजस्ता कम्पनीहरुको चुनौती सामना गर्नुपर्ने हुनसक्छ भनिरहेका छन्। 

एप्पल आफ्नो चिनियाँ प्रतिस्पर्धीसँग मिलेर इलेक्ट्रिक कार निर्माणको योजना फेरि बनाउने तयारी गरिरहेको छ। ओआन्डाका मोया भन्छन् – 'टेस्लाका सामु ठूलो चुनौती छ तथा यसका लागि ठूलो जोखिम पनि कम्पनीले लिन सक्छ।' - बीबीसीमा प्रकाशित सामग्रीको भावानुवाद।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell