PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

प्रचण्ड-नेपाल समूहको कार्यक्रममा जब झ्याप्प निभ्यो बत्ती...



पहिलोपोस्ट

प्रचण्ड-नेपाल समूहको कार्यक्रममा जब झ्याप्प निभ्यो बत्ती...
तस्विर सौजन्य : सन्तोष पनेरु

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको सोमवार चितवन जिल्ला पार्टी कार्यालयमा अगुवा कार्यकर्ता भेला थियो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्लामा भएको कार्यक्रममा समूहको संयुक्त संघर्ष समितिका सचिव योगेश भट्टराई प्रमुख वक्ता थिए। नेता नारायण परियार अर्का वक्ता। भरतपुर महानगरपालिका पार्टी कमिटीको आयोजनामा सञ्चालन भइरहेको कार्यक्रममा नेतृ रामकुमारी झाँक्री बोल्दै थिइन्। उनी बोल्न लागेको लगभग ५ मिनेटमा झ्याप्प बत्ती गयो। माइक बन्द भयो। आवाज नसुनिएपछि हलमा कार्यकर्ताले होहल्ला गरे। झाँक्री बोल्न रोकिइन्। वैकल्पिक व्यवस्थाबाट माइक सूरु हुन झण्डै १ मिनेटभन्दा बढी लाग्यो।

कार्यक्रमका प्रस्तोताले कार्यकर्ताको होहल्लालाई शान्त गर्न भने, ‘अहिले लोडसेडिङ भएका कारण प्रभावित भयो। केपी ओलीको नालायक सरकारले लोडसेडिङ गर्दा हाम्रो कार्यक्रम अलिकति डिस्टर्ब भएको छ। हामी यो लाइभलाई फेरि जोड्ने छौं। केपी ओलीको लोडसेडिङ सुरु भएको छ। त्यसको प्रभाव यो मञ्च र माइकमा पनि देखियो। लाइनको निम्ति वैकल्पिक व्यवस्था हुँदैछ।’

उनले बोलेको केही बेरपछि जेनेरेटरबाट आएको पावरबाट माइकमा आवाज आयो। झाँक्रीले फेरि बोल्न सुरु गरिन्।

‘हाम्रा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले लोडसेडिङको अन्त्य गर्ने महानायक कमरेड केपी ओली हो भन्नुहुन्थ्यो। त्यसकै परिणाम हो यो। उहाँले विद्युत प्राधिकरणमा नयाँ एमडी नियुक्त गर्नुभाथ्यो र त खुद लोडसेडिङ हो भनेर पत्रपत्रिकामा आइरहेको छ,’ झाँक्रीले यसो भन्दा कार्यकर्ताले हुटिङ गरेका थिए।

झाँक्रीले लोडसेडिङ आफूले अन्त्य गरेको भनेर भन्नेहरुले नै अहिले लोडसेडिङ सुरु गरेको आरोप लगाइन्। लोडसेडिङ गर्नकै लागि नयाँ एमडी ल्याएको उनको आरोप थियो।

झाँक्रीले ओली सरकार झुटको पुलिन्दा भएको बताइन्।

‘सरकारका कामकारवाहीमा नजाऔं। उहाँले २०७६ साल पुसको १६ गते कोशी नदीमा आएर पानी जहाजको टिकट काट्न पनि भन्नु भएको थियो। अहिले यो कहाँ पुग्यो थाहा छैन। केरुङबाट नुवाकोट हुँदै गोरखा हुँदै पर्वतको स्टेशनमा रेल रोकिने र कहाँनेर स्टेशन बनाउने भन्नुभाथ्यो। त्यो पनि केरुङबाट चुच्ने रेल २०७६ सालमै आउँछ भन्नुभाथ्यो। त्यसैगरी घरघरमा ग्यासको पाइप आउँछ भन्नुभाथ्यो। केही दिनअघि सरकारले रेलको डिब्बा किनेर ल्याएको देखिहाल्नुभा होला। ओम्नी यति लगायतका विचौलिया कम्पनीलाई राष्ट्रिय सम्पत्ति सुम्पिनु भएको, हुँदाहुँदा कृषिमा पनि नाफा कमाउन विदेशी लगानी ल्याउने कुरा हुँदैछ। विचौलिया पुँजीवादमा उहाँ मजाले लाग्नुभा'छ। उप प्रधानमन्त्रीलाई प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्रीलाई रक्षा मन्त्री बनाएर पनि देखिहाल्नु भयो। यी सबै कामबाट पैसा उठाएर पार्टी फुटाउने र कम्युनिस्ट आन्दोलनलाई धराशायी बनाउने योजनामा हिँडिरहेका थिए भन्ने पुष्टि भयो। त्यसकारण केपी ओली यो कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने एउटा महत्वपूर्ण पात्र हो भन्ने प्रमाणित भएको छ।’

प्रधानमन्त्री बन्न प्रचण्ड चाहिने, अहिले यति निकृष्ट गाली?

झाँक्रीले प्रधानमन्त्री तल्लो स्तरमा गाली गलौजमा उत्रिएको आरोप लगाइन्। ‘हाम्रो पार्टीको पूर्व नेता केपी ओली अहले सबैको क्यारिकेचर गर्नुहुन्छ। यो व्यवस्थालाई धुमिल पार्नेहरु नै भन्दै हुनुहुन्छ कि माधव नेपाल फलानोको मामुली कार्यकर्ता हुन्। केपी कमरेडलाई म प्रश्न गर्न चाहन्छु, प्रधानमन्त्री हुनका लागि पहिले प्रचण्डका हरेक कुराहरु वैध थिए। आज राजनीतिक हिसाबले अलग हुँदै गर्दा यति निकृष्ट प्रकारका अभिव्यक्ति किन? उहाँको आफ्नै अभिव्यक्तिले यो कुरालाई स्पष्ट गर्दैन र? हामी त्यो स्तरमा जानु हुँदैन। यस्ता खालका झुटका पुलिन्दाहरु लिएर आउँदै हुनुहुन्छ कि हाम्रा धेरै मान्छेलाई लाग्छ कि संसद पुनर्स्थापना हुँदैन, सूर्य चिन्ह उहाँहरुले नै लिन्छन्, सेटिङ मिलाइसकेको छ। उहाँहरु चाहनुहुन्छ यो धर्ती फाटोस् विरोधीहरु फाटेको धर्तीमा भाँसिउन्। उहाँको यो चाहना हो । तर व्यक्तिको चाहनाले यस्तो हुँदैन।’

ओलीले पार्टीका संगठन बनाउनेतिर ध्यान नदिएको तर मदन भण्डारी फाउण्डेसनका नाममा तल तलसम्म संगठन बनाउँदै हिँडेको झाँक्रीले आरोप लगाइन्। पार्टी फुटाउनकै लागि पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याएको उनले दावी गरिन्। ओलीलाई पार्टीका नेताले पनि नियन्त्रण गर्न छाडेर हात माथि उठाउँदा यो अवस्था आएको उनको निष्कर्ष थियो। ‘हाम्रा नेताको पनि कमजोरी थियो,’ उनले भनिन्।

झाँक्रीले ‘बा’ प्रवृत्तिको पनि आलोचना गरिन्। ‘हामी सबैको एकजना बा बाजे छन्। त्यसकारण अप्राकृतिक बा मानेर यो पार्टीमा लागेको होइन। हामी प्राकृतिक बा लाई विश्वास गर्छौं,’ उनले भनिन्।

चितवनबाट विघटन, विभाजन, विखण्डनविरुद्ध लडाईको अगुवाई गर्नुपर्ने उनको भनाई थियो। ‘राजा ज्ञानेन्द्रलाई हटाउने आन्दोलनको अगुवाई चितवनले गरेको थियो। कमरेड ओलीको सनक, दम्भ पनि सध्दिने छ,’ उनले भनिन्।

‘हाम्रा मान्छेलाई के भनिएको छ भने माधव नेपाल त प्रचण्डका मामुली कार्यकर्ता हुन्। त्यसो भन्दा हाम्रा साथीहरुलाई पूर्व एमाले र पूर्व माओवादी धङधङीले छोइहाल्छ। यदि आज यो ठाउँमा पार्टी एकता भएको दुई वर्षपछि तपाईंमा यो धङधङी छ भने तपाई यसलाई रुपान्तरण गर्नुस्। अब चोइटिने कुरा हुँदैन,’ उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell