काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीकी नेतृ रामकुमारी झाँक्रीले कमेडीले देश नबन्ने बताएकी छन्।
सोमवार चितवन जिल्ला पार्टी कार्यालयमा आयोजित दाहाल-नेपाल समूहको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै झाँक्रीले रस नभएको कमेडी 'बोरिङ' भएको बताइन्।
‘प्रधानमन्त्रीको भाषण सुन्नुभयो भने के शिक्षा लिनुहुन्छ? हाम्रा छोराछोरीले के शिक्षा लिन्छन्? टेलिभिजनमा साढे २ घण्टा बकबक गरिरहेको हेर्दा के सिकिरहेका छन् मान्छेहरु?’ झाँक्रीले प्रश्न गरिन्, ‘लाग्दो होला कमेडी। हिजो अस्ति एउटा पपुलर टेलिभिजनमा रियालिटी शो थियो। त्यहाँ नामुद युवा कमेडियनहरु थिए। बरु कमेडी तिनै कमेडियनहरुले गरिरहेका थिए, दले दाइहरुले। हामीलाई त्यो भन्दा पनि रस नभएको कमेडी सुन्नु छैन।’
झाँक्रीले देश कमेडीले बन्ने होइन सोचले बन्ने बताइन्।
‘देश बन्न भिजन चाहिन्छ गफ होइन। स्रोत परिचालन गर्ने भ्रष्ट नहुने चरित्र चाहिन्छ। तर सबै स्रोत आफै कब्जा गर्ने भ्रष्ट चरित्रले होइन। उहाँको संकल्प भ्रष्टाचार गर्दिन, गर्न दिन्न। तर उहाँको संकल्प भ्रष्टाचार गर्न दिन्न गर्दिन तर उहाँ ७० करोडको भ्रष्टाचार आउँदा बाहिर आउँदा आफ्नालाई बचाउन लाग्नुभयो,’ उनले भनिन्, ‘कम्युनिस्ट पार्टी विचार र सिद्धान्तले बन्छ। पार्टी कार्यालयले, रजिस्टरले बन्ने होइन। पार्टी र संगठन विचारले बन्छ। प्रतिशोधले होइन।’
झाँक्रीले ओलीको कदमको छिनोफानो सडकले गर्ने बताइन्।
‘ओलीले सर्वोच्चलाई संसद विघटन राजनीतिक विषय भन्ने जवाफ दिनुभएछ। हो यो राजनीति प्रश्न हो यसको छिनोफानो सडकबाट हुनेछ। कानुनी प्रश्न हो, कानुनी रुपमै छिनोफानो हुनेछ। यद्यपि, हामीलाई न्यायलयप्रति भरोसा छ,’ उनले भनिन्।
