PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कारको स्पेयर टायरमुनि १ करोड ४७ लाख ! सामान्य देखिने अमितसँग कहाँबाट आयो यत्रो धन?



सविन ढकाल

कारको स्पेयर टायरमुनि १ करोड ४७ लाख ! सामान्य देखिने अमितसँग कहाँबाट आयो यत्रो धन?

काठमाडौं : कालो ज्याकेट, निलो रंगको फुङ्ग रंग उडेको जिन्सको पाइन्ट। टाउकोमा कालो रंगको टोपी।

उनले लगाएको पहिरनको मूल्य औशत नै थियो। त्यस्तो हाइफाइ परेको गेटअप  थिएन। प्रहरीले उनलाई सार्वजनिक गरेलगत्तै फोटोपत्रकारको लेन्स उनको अनुहारतिर तेर्सियो। त्यपछि भने उनको अनुहार चार्म एकाएक उडेको अनुभूति हुन्थ्यो। प्रहरीको हत्कडी हातमा कसिएपछि तेर्सिएको क्यामराले झस्काउनु अस्वभाविक थिएन।

यी पात्र हुन् ३० वर्षीय अमितकुमार गुप्ता। भारतीय नागरिक। स्थायी ठेगाना गोरखपुर घण्टाघर।

सोमवार बिहान ४ बजेर २७ मिनेटमा उनलाई प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ स्थित नागढुङ्गा चेक प्वाइन्टमा समात्यो। चेकिङका क्रममा स्रोत नखुलेको रकम थियो उनीसँग। 

गुप्ता चडेको प्रदेश ३-०१-०२३ च २२५९ नम्बरको सिल्भर कलरको गाडीभित्र राखेको स्रोत नखुलेको रकमसहित समातिएका हुन् उनी। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कपिलबस्तुबाट कारमा स्रोत नखुलेको रकम आउँदै गरेको जानकारी पाएको थियो। त्यही अनुसार नागढुङ्गामा प्रहरी परिचालन भएको थियो।

'हामीलाई विशेष सुचना आएको थियो। त्यही भएर आवश्यक सुरक्षा तयारीका साथ प्रहरी परिचालन गरेका थियौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले भने।प्रकाउ परेका दुई अभियुक्त


जब प्रहरीले उनी चढेको गाडीमा भएको रकम हेर्‍यो, अनुमान गरिएभन्दा धेरै रकम थियो त्यहाँ। १ करोड ४७ लाख रुपैयाँ।

प्रहरीले सुरुमा गाडीमा समान्य खानतलासी गर्‍यो। रकम भेटिएन।

तर, प्रहरीलाई त्यही गाडीमा रकम आएको जानकारी थियो। त्यसपछि रकम लुकाउनसक्ने सम्भावित ठाउँ खोतल्यो प्रहरीले। कारको डिकीमा स्पेयर टायरमुनि लुकाइएको रहेछ रकम। 

कारभित्र रहेका तीनवटा कालो रंगका झोलामा १ करोड ४७ लाख रुपैयाँ भेटियो। सबै नोट १ हजारका। कुनै नयाँ त कुनै पुराना नोटका बन्डल। गुप्ताको शरीर खानतलासी गर्दा थप ८६ हजार रुपैयाँ पनि भेटियो।

सामान्य पहिरनमा देखिएका गुप्ताको हो त यत्रो रकम?

समातिएका उनले उक्त रकम आफ्नै भएको दाबी गरिरहेका छन्।

'अहिलेसम्म उसले मेरो नै पैसा हो भनेको छ। थप अनुसन्धान भइरहेको छ। उसकै हो भनेर पत्याइहाल्ने अवस्था छैन,' एसएसपी सिंहले भने।

आफ्नै पैसा भए पनि गुप्ताले स्रोत भने खुलाउन सकेनन्। त्यसैको परिणाम अब प्रहरी चिसो हिरासतमा रात कटाउनु पर्नेछ उनले। प्रहरीले अहिलेसम्म स्रोत नखुलेको रकम लिएर उनी नेपाल किन आए भन्ने ‌औपचारिक रुपमा बोल्न सकेको छैन।

प्रहरीले अनुमान चाहिँ लगाएको छ - पैसा कि त हुन्डीको कि त सुन तस्करीको हुनुपर्छ। प्रहरीको अनुमान अहिले पहिलेको नजिर र केही प्रारम्भिक अनुसन्धानकै भरमा आएको हो।प्रहरीले बरामद गरेको १ करोड ४७ लाख रुपैयाँ


'हुन्डी वा सुन तस्करीको हुनुपर्छ। अन्य कारणहरु अहिलेसम्म खुलेका छैन। अभियुक्तले केही कुरा लुकाएको छ। केही अनुसन्धानको कुरा समातिसकेका छौं। चाँडै केेही आउला,' एसएसपी सिंहले भने।

कसरी भयो नगद सटही?

प्रहरीले कारभित्र रहेका तीनवटा कालो कलरको झोलामा लुकाइराखेको अवस्थामा पैसा बरामद गरेको हो। गुप्ताले नेपाली नोट कसरी ल्याए? नेपालमा नै कसैले दियो? आफ्नैले भारतीय रुपैयाँ सटही गरेर ल्याए वा अन्य बाटो पनि छ?

प्रहरीले यस विषयमा प्रारम्भीक अनुसन्धान गरे पनि डिटेल सार्वजनिक गरेको छैन। प्रहरीको अनुसन्धानमा गुप्ताले पटकपटक सीमा वारपार गरेर भारतीय रकम सटही गरेको भने खुलेको छ।

'उ नेपालभित्रबाट आउने भारतीय नोटलाइ नेपालीमा साट्ने गरेको देखिन्छ। धेरै पटक रकम साटेर नेपाली रुपैयाँमा लिएको देखियो,' एसएसपी सिंहले भने।

प्रहरीले गुप्ता सहित कारका चालकलाई समेत नियन्त्रणमा लिएको छ। चालक भने नेपाली नै हुन्। कपिलबस्तु बाँडगँगा नगरपालिका ४ बस्ने २२ वर्षीय संगम थारु उनका चालक। प्रहरीले बरामद गरेको कार भने भाडामा लिएको खुलेको छ। 

कार चालकसमेत भित्र पैसा भएको जानकार रहेको प्रहरीको दाबी छ। एसएसपी अशोक सिंह


'सानो अमाउन्ट होइन। त्यसमाथि कारको स्पेयर टायरमुनि रहेको छ। चालकलाई जानकारी नहुने भन्ने हुँदैन,' एसएसपी सिंहले शंकाको आधार यसरी पेश गरे। उनीहरुलाई थप अनुसन्धानको लागि सम्पति शुद्धिकरण विभाग पठाएको छ।

अमित नै १ करोड ४७ हजारका रुपैयाँका धनी हुन्? वा अरु पनि कोही छ? आखिर किन बोकेर आए यतिका पैसा? प्रश्न अनुत्तरित नै छ।

ठूलो परिमाणमा रकम फेला परे पनि कारण खुलेको छैन। नेपालमा अहिले पनि हुन्डी कारोबारीहरु सक्रिय छन्। जसमा भारतीय नागरिकको पनि संलग्नता खुल्दै आएको छ। गत कार्तिकमा पनि केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले  स्रोत नखुलेको एक करोड रुपैयाँ समेत बरामद गरेको थियो।पैसा बोक्न प्रयोग भएको गाडी


त्यतिखेर पक्राउ पर्नेहरुमा झापका कमल मित्तल, विकास मित्तल र पर्वतका गणेश पौडैल थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell