काठमाडौं : मानवअधिकारवादी नेता कृष्ण पहाडीले संसद बिघटनको सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को जंगबहादुर बन्ने प्रयास गरेको टिप्पणी गरेका छन्। ओलीको प्रयासले अस्थिरतामा विदेशी र राजावादीले फाइदा उठाउन थालेको उनको टिप्पणी छ।
‘केपी ओली दोस्रो जङ्गबहादुर बन्न खोज्दैछन्,’ पहाडीले रिपोर्टर्स क्लबमा भने, ‘संसद बिघटन गराउने उनको कदमले भारत र चीनले हस्तक्षेप गरेका छन्। विप्लव र राजावादीले समेत यसको फाइदा उठाउन थाले।’ सर्वोच्च अदालतले यो बिघटनको फैसलालाई मान्यता दियो भने अन्यले पनि सोही अनुसारको परम्परा पछ्याउने उनको चिन्ता छ।
पछिल्लो पटकको संसद विघटनबाट विश्व झनै चकित भएको पहाडीको कटाक्ष थियो। उनले पार्टीको किचलोका कारण संसद बिघटन गरेको केपी ओलीको भनाईको कडा आलोचना गरे। ‘संसदमा अविश्वासको प्रस्ताव आउछ भन्ने थाहा पाउना साथ उनले संसद बिघटन गरे, आफ्नो पार्टीलाई पनि छोडेनन् र संसदलाई पनि छोडेनन्,’ पहाडीको अगाडि भने, ‘सबै किसिमको संसदीय विकल्पको प्रावधान छोडेर उनले संसद बिघटन गरेका छन्, एकतिरबाट मात्रै ४० प्रतिशत भए पार्टी फुटाउन सक्ने जस्तो प्रावधान ल्याए, उनीमात्रै होइन माधव नेपाल र प्रचण्ड पनि यसका दोषी हुन्।’
प्रतिनिधिसभामा पराजित भएका व्यक्ति मन्त्री हुन नसक्ने प्रावधानलाई उल्लंघन गर्दै हारेका व्यक्तिलाई पनि ओलीले मन्त्रीमा नियुक्ती दिनु गलत भएको उनको भनाई थियो। कसैले पनि संसद पुनःस्थापना गर्न सक्दैन भन्ने केपी ओलीको भनाई अदालतकै मानहानी भएको पहाडीले बताए।
आणविक निषेध सन्धीको बिरोध गर्दै आएका उनले पछिल्लो समय केपी ओलीको संसद बिघटनको बिरोधमा होमिएको बताए। दुई तिहाईको प्रधानमन्त्रीले भारतको अयोध्या नक्कली भएको हावादारी कुरा गरेको प्रति पनि उनको कटाक्ष थियो। उनले ठोरीका मानिसलाई पनि फोन गरी गरी भाडेको, प्रतिनिधि सभा विघटन हुने कुनै प्रावधान नभएको भन्दै आलोचना गरे। ‘यो एउटा मानिसले धैर्य गुमाएको परिणाम हो, यो उनको एउटा सनकको परिणाम हो,’ पहाडीको भनाई थियो।
पहाडीले नेपालको विकास देखेर विश्व चकित छ भन्ने कुरा हावादारी भएको र प्रधानमन्त्रीको बहुलठ्ठी कुराबाट संसार चकित भएको टिप्पणी गरे।
