PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

बैतडीमा आइतवारदेखि विद्युत् सेवा अवरुद्ध हुँदा सेवाग्राही समस्यामा, केही रेडियोको प्रसारणसमेत रोकियो



रासस

बैतडीमा आइतवारदेखि विद्युत् सेवा अवरुद्ध हुँदा सेवाग्राही समस्यामा, केही रेडियोको प्रसारणसमेत रोकियो

बैतडी : बैतडी जिल्लाभरि आइतवारदेखि विद्युत् सेवा बन्द भएको छ। विद्युत् सेवा बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन्।

जिल्लाभरि सबै ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ। विद्युत् प्रसारण लाइनमा समस्या आएका कारण विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका सुपरभाइजर माधव लेखकले जानकारी दिए।

‘प्रसारण लाइनमा फल्ट देखाएको र कुन ठाउँमा फल्ट रहेको छ भन्ने थाहा हुन सकेको छैन’, उनले भने, ‘अवरुद्ध विद्युत् सेवा सञ्चालन गर्न प्राविधिक टोली खटिएको छ।’

आइतवार दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध हुँदा निकै समस्या भएको सेवाग्राहीले बताएका छन्। विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका सञ्चारमाध्यम, मोबाइल चार्ज गर्न समस्या, विद्युतीय उपकरण चलाउन सकिएको छैन।

विद्युत् नहुँदा यहाँका केही रेडियो, एफएमको प्रसारणसमेत रोकिएको छ। पानी परेपछि चिसो बढेकाले विद्युत् सेवा पनि नहुँदा झनै समस्या भएको दशरथचन्द नगरपालिका-१ का मानबहादुर टेरले बताए।

उनले भने, ‘पानी परेसँगै विद्युत् पनि बन्द भएको छ, निकै समस्या भएको छ।’

बैतडीमा विद्युतको अनियमित कटौतीले समस्या भइरहेको बेला विद्युत् सेवा नै अवरुद्ध हुँदा झनै समस्या भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell