PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

के ज्याक मा हराएकै हुन्? भारतीय मिडियाको दाबी आउँदा स्थापित विदेशी मिडियासँगै साउथ चाइना मर्निङ पोस्ट भने मौन



विधुर ढकाल

के ज्याक मा हराएकै हुन्? भारतीय मिडियाको दाबी आउँदा स्थापित विदेशी मिडियासँगै साउथ चाइना मर्निङ पोस्ट भने मौन

काठमाडौं :  चोङ सानसान, एक अर्बपति हुन जो मिडियामा विरलै मात्र सुनिन्छन्। तिनै अर्बपतिले यतिबेला एसियाकै धनी व्यक्तिको सूचीमा आफूलाई दर्ता गरेका छन्। पत्रकारिता जगत, च्याउ खेती हुँदै स्वास्थ्य सेवा हुँदै अहिले उनी एसियाकै धनी व्यक्तिको सूचीमा चढ्दै भारतीय धनाड्य मुकेश अम्बानी र चिनियाँ टेक टाइकुन ज्याक मालाई पनि पछाडि पारेका छन्। 

७७.८ बिलियन डलरसहित विश्वको ११ औँ धनीको सूचीमा आफूलाई दर्ता गर्दै गर्दा पिनत्वेत्वेका संस्थापक तथा प्रमुख कार्यकारी कोलिन हङ चीनको दोस्रो धनाड्यको व्यक्तिका रुपमा उक्लिएका छन्। उनले अलिबाबा होल्डिङ्का ज्याक मा र टेनसेन्ट होल्डिङ्सका पोनी मालाई पछाडि पारेका छन्।

लगातार चीनको धनाड्यको सूचीमा रहँदै आएका ज्याक मा अहिले तेस्रो सूचीमा पुगेका छन्। नोङफू स्प्रिङ नामक पानी कम्पनीका मालिक चोङ सानासान र हुवाङभन्दा पछि धकेलिएका छन् ज्याक मा। 

गत नोभेम्बरमा बेइजिङले आर्थिक प्रणालीमा एकाधिपत्य तोड्ने गरी नयाँ नीति ल्याएसँगै ज्याक मा संकटमा पर्दै आएका छन्। चिनियाँ नियमनकारी निकायहरुले केही ठूला टेक कम्पनीमाथि कारवाही अगाडि बढाएको थियो

यसमा अलिबाबादेखि टेनसेन्टसम्म छन्। अलिबाबा समूह साउथ चाइना मर्निङ पोस्टको मातृ कम्पनी हो।  अलिबाबा ग्रुप र टेन्सेन्टको चाइना लिट्रेचरमाथि 'एन्टी ट्रस्ट रेगुलेसन' उल्लंघनको आरोप लगेपछि मध्ये डिसेम्बरमा हङ्कङ स्टकमा समेत नराम्रो असर देखिएको थियो। 

कोभिड-१९ को संक्रमणपछि पनि हङ्कङ स्टक मार्केटमा कारोबार यस वर्ष १० वर्षकै उच्च रह्यो। यसका लागि चिनियाँ पानी कम्पनी र डिटरजेन्ट कम्पनी लगायतका १ सय ४२ वटा कम्पनीले योगदान दिए। हङ्कङको 'आइपीओ फन्डरेजिङ'लाई १० वर्ष यताकै उच्च विन्दु ५०.८३ बिलियन डलरमा पुर्‍याए। हङकङ स्टकमा १० 'ब्लकबस्टर' आइपीओमा चिनियाँ कम्पनीहरुले नै ओगटे। जसमध्ये ५ विश्वकै उच्च हुन्। जसमा इकमर्स जाइन्ट जेडीडटकम देखि अलिबाबा ग्रुपसम्मका छन्। सबैभन्दा सफल कम्पनीको रुपमा नोङफू स्प्रिङ्ले हङकङको आइपीओ मार्केटमा सबैभन्दा बढी संकलन गर्ने रेकर्ड कायम गर्‍यो। यसको रिटेल सेयर १,१४७ बढी पटक बिक्री भयो।   

ज्याकमा र चीन सरकारबीच द्वन्द्व

चिनियाँ फिनटेक जायन्ट एन्ट ग्रुपले नोभेम्बर पहिलो साताबाट लिस्टिङ हुनेगरी ३४.४६ अर्ब अमेरिकी डलर बराबरको प्राथमिक सेयर निष्कासन (इनिसियल पब्लिक अफरिङ/आइपीओ) गर्ने तयारी थियो। यो प्राथमिक सेयर बिक्री संसारका कुनै पनि कम्पनीका लागि अहिलसम्मकै सबैभन्दा ठूलो हुने थियो।

यो आइपीओपछि विश्वका पाँच ठूला आइपीओमध्ये चारवटा चिनियाँ कम्पनीकै हुने थिए। यसअघि सन् २०१९ मा जारी साउदी अरबको (२९.४ अर्ब डलर) हालसम्मको ठूलो आइपीओ हो।

त्यस्तै, ज्याक माकै अलिबाबा ग्रुपको सन् २०१४ मा जारी २५ अर्ब डलरको, एग्रिकल्चर बैंक अफ चाइना (सन् २०१०) को २२.१ अर्ब डलर र इन्डष्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइना (२००६) को २१.९ अर्ब डलरको आइपीओ अहिलेसम्मका ठूला प्राथमिक सार्वजनिक निष्कासन हुन्।

एन्ट ग्रुपको 'वर्ल्ड रेकर्ड' आइपीओले यसका सहसंस्थापक तथा माको सम्पत्ति २७ अर्ब डलरले बढ्ने अनुमान थियो।

तर,  आर्थिक नियमक निकाय पिपल्स बैंक अफ चाइना (पीबीसी) सहित चाइना बैंकिङ एण्ड इन्सुरेन्स रेगुलेटरी कमिसन, सेक्युरिटीज रेगुलेटरी कमिसन र स्टेट एडमिनिस्ट्रेसन अफ फरेन एक्सेन्जेले उनको यो योजनामा बाधा पुर्‍याए। 

त्यति मात्र होइन, उनीहरुको निगरानीमा चिनियाँ फाइनान्स टेक कम्पनी परे। यद्यपि, वर्ष २०२० मा कोभिड-१९ को संक्रमणविरुद्ध लड्न चिनियाँ जाइन्ट ज्याकले अर्बौँ खर्च गरेका छन्। उनले नेपालमा पनि स्वास्थ्य सामाग्री सहायता पठाएका थिए। गरिब तथा अल्प विकसित देशहरुमा सहयोग गरिरहेका थिए उनले।   

दुई महिना अगाडिदेखि एन्ट ग्रुपको आइपीओ विवादपछि ज्याकले नियामक निकायप्रति आक्रोश ब्यक्त गरेका थिए। त्यसयता ट्राइल भोगिरहेका ज्याक मा सार्वजनिक रुपमा देखा परेका छैनन्।

भारतीय तथा पश्चिमा मिडियामा आए आशंकाका खबर

लामो समयपछि सार्वजनिक रुपमा देखा नपरेका उनलाई हराएको आशंका गर्दै याहु फाइन्सको अष्ट्रेलियन संस्करणमा उल्लेख छ।

सो रिपोर्टमा बेलायतको टेलिग्राफको एउटा रिपोर्टलाई आधार बनाएको छ। टेलिग्राफले अफ्रिकाको एउटा रियालिटी सोमा ज्याक मा जज भएको तर नोभेम्बरको फाइनलमा उनलाई हटाइएको जनाएको छ। 

टेलिग्राफका अनुसार अफ्रिका बिजनेस हिरोज ट्यालेन्ट शोको फाइनलमा निर्णायक मण्डलका रूपमा उपस्थित हुने भनिए पनि ज्याक त्यहाँ पुगेनन्।

गत नोभेम्बरमा भएको फाइनलमा ज्याक माको सट्टा अलिबाबाकी संस्थापक लुसी फेङ (जसलाई फेङ ली पनि भनेर चिनिन्छ) जज बनेर गएकी थिइन्। उनी चीनको 'सेल्फ मेड' अर्बपति हुन्।  उनी २०१३ देखि २०२० अगस्टसम्म एन्ट ग्रपको निर्देशको रुपमा समेत काम गरेकी थिइन्। 

अफ्रिकन सोको प्रायोजन अलिबाबाले गरेको थियो। सोमा उनको अनुपस्थितिलाई लिएर उनी हराएको चर्चा चलिरहँदा अलिबाबाका प्रवक्ताले त्यस समारोहमा ज्याक मा सहभागी हुन नसक्नुको कारण "सेड्युल कन्फ्लिक्ट" बताएका थिए। नोभेम्बरमा सम्पन्न फाइनल हालसम्म प्रसारण गरिएको छैन। 

ज्याक मा को बिजनेस इम्पायर एन्ट ग्रुपलाई हाल चिनियाँ सरकारले आफ्नो निगरानीमा राखेको छ। गत अक्टोबर २४ मा ज्याक माले एक सार्वजनिक समारोहमा चीनको नियामक प्रणालीलाई परिवर्तन गर्नुपर्ने धारणा राखेका थिए। नयाँ आविष्कारका लागि चिनियाँ प्रणालीमा परिवर्तन गर्नुपर्ने भन्दै ज्याक माले ग्लोबल बैंकिङ नीति नियमलाई 'ओल्ड पिपुल्स क्लब' भनेर आलोचना गरेका थिए।

'हालको वित्तिय प्रणालीमा अझै पनि औद्योगिक युगकै धङधङी छ,' उनले भनेका थिए- 'हामीले नयाँ पुस्ता र युवाहरुका लागि नयाँ प्रणालीको विकास गर्नुपर्छ।'

त्यसको केही दिनपछि नै एन्टको आइपीओलाई रद्द गरिएको थियो। एन्टको आइपीओले पहिले नै चिनियाँ धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको थियो। तर, सांघाई स्टक एक्सचेन्जले आइपीओ रद्द गरिएकोबारे स्पष्टिकरण दिँदै कम्पनीले वित्तीय प्रणालीमा केही परिवर्तन गर्नुपर्ने बताएकाले कम्पनीकै आग्रहमा रद्द गरिएको दाबी गर्‍यो।

गत डिसेम्बरमा चिनियाँ सरकारले एन्टमाथि अनुसन्धान थालेको बुझिएको छ। एन्ट ग्रुपलाई पनि उसले आफ्नो संचालन प्रणालीमा पुनर्संरचना गर्न निर्देशन दिएको छ।

ज्याक मा उद्यमीमात्र नभई विश्वभर परोपकारी कार्यमा पनि जोडिएका छन्। कोरोना भाइरसको महामारीसँग जुध्नका लागि उनले युरोप, अमेरिका र विश्व स्वास्थ्य संगठनलाई दशौं लाख फेस मास्क सहयोग गरेका थिए।

ज्याक मा फाउन्डेसनमार्फत उनले शिक्षा, उद्यम, महिला नेतृत्व तथा वातावरणको क्षेत्रमा सहयोग गर्दै आएका छन्। फोर्ब्सका अनुसार ज्याक मा फाउन्डेसनले परोपकारी कार्यका लागि ३० करोड डलरभन्दा धेरै सहयोग गरिसकेको छ।

बेलायतको  डेली मेल लगायतले सहितका अन्य अन्तर्राष्ट्रिय मिडियामा रिपोर्ट आएपछि भारतीय अधिकांश मिडियामा उनी हराएको भन्दै समाचार प्रकाशित भएका छन्।

त्यही टेलिभिजनमा जज परिवर्तन गरिएको विषयलाई हवाला दिँदै भारतीय मिडियाहरुले चिनियाँ राष्ट्रपति सी जिनफिङसँगको टकरावका कारण ज्याक हराएको टिप्पणी गरेका छन्। 

ठूला अन्तर्राष्ट्रिय मिडिया मौन

ज्याक मा हराएको विषयमा समाचार ठूला अन्तर्राष्ट्रिय मिडियामा भने स्थान पाएको छैन। बीबीसी, फक्स लगायतका ठूला अन्तर्राष्ट्रिय मिडियामा ज्याक हराएको विषयमा कुनै पनि समाचार छैन। सीएनएनले भने ज्याक मा कहाँ छन् भन्ने शीर्षकमा समाचार प्रकाशन गरेका छन्।

तर, पछिल्ला तीन सातामा ज्याकको नाम एन्ट ग्रुप र चिनियाँ नियमक निकायको टकरावको रुपमा प्रस्तुत भएका छन्। चलेका अन्तर्राष्ट्रिय मिडियामा ज्याक मा र चिनियाँ सरकारी नीतिबीचको टकरावको विषयमा रिपोर्ट, लेख लगायतका सामाग्री प्रकाशित भएका छन्। तर, उनी हराएको विषयमा कुनै पनि रिपोर्ट छैन। 

मौन साउथ चाइना मर्निङ पोस्ट 

चिनियाँ समाचार संस्थाहरुमा यस विषयमा कुनै पनि जानकारी छैन। उनको विषयमा समाचार प्रकाशित छैनन्।

यति हुँदा हुँदै पनि ज्याक माको विषयमा साउथ चाइना मर्निङ पोस्ट (एससीएमपी) पनि मौन छ। साउथ चाइना मर्निङ पोष्टको मातृ संस्था अलिबाबा हो। अलिबाबाका संस्थापक ज्याक हुन्।

यो सामाग्री तयार पार्दा सम्म एससीएमपी ज्याक मा सर्च गर्दा उनी हराएको विषयमा कुनै पनि सामाग्री प्रकाशित छैनन्। यद्यपि, उनको सेयर घटेको अलिबाबालाई कारवाही भएको लगायतका सामाग्रीहरु भने साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell