PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

दोधारा चाँदनीमा भारतीय फौजले नेपालीमाथि किन चलायो गोली?



कमलराज भट्ट

दोधारा चाँदनीमा भारतीय फौजले नेपालीमाथि किन चलायो गोली?

काठमाडौं : कञ्चनपुरको दोधारा चाँदनीस्थित नेपाल-भारत सीमा क्षेत्रमा सोमवार साँझ एक नेपाली नागरिकमाथि गोली प्रहार भयो। सीमा क्षेत्रको गडिगोठ जंगलमा दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ का १६ वर्षीय नरेश सुनारमाथि भारतीय फौजले गोली चलाएको हो। खुट्टामा गोली लागेका उनी भाग्दै नेपालतिर आए। नेपाली सुरक्षाकर्मीले उद्धार गरी राती नै अस्पताल पुर्‍यायो। हाल उनको महाकाली उपप्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। गोली भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले चलाएको हो कि वनरक्षकले भन्ने अझै स्पष्ट हुन सकेको छैन।

किन हानियो गोली?

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटना किशोरकै गल्तीका कारण भएको जनाएको छ। कञ्चनपुर प्रहरी प्रवक्ता डीएसपी अमरबहादुर थापाले नेपालीहरु काठ चोर्न जाँदा भारतीय पक्षबाट गोली प्रहार भएको बताए।

‘उनीहरु काठ चोर्न गएका रहेछन्। कसले हान्यो भन्ने ठ्याक्कै खुलेको छैन। वन रक्षकले हो कि भन्ने अनुमान गर्न सकिन्छ। पीडितका अनुसार वनमा भएको ८/१० जनाको समूहले हानेको रहेछ। वनरक्षक नै हुनुपर्छ,’ उनले भने, ‘आरा लगेर रुख काट्दै रहेछन्। आरा छोडेको भेट्टियो। पछि बुझ्दा अर्को एक जना बब्लु भन्ने पनि सँगै गएको पत्ता लाग्यो। काठ काट्दै गर्दा ८/१० जनाको समूह आएछ। उ अगाडि नै भागेछ। नरेश पछाडि पर्दा गोली लागेछ। खुट्टा खुम्च्याउँदै नेपालतिर आएका रहेछन्। भारतीय जंगल गडीकोठमा काठ चोर्नै गएका रहेछन्।’

यता पीडित नरेशले भने सामान लिन गएका बेला भारतीय सुरक्षाकर्मीले गोली हालेको बताएका छन्। कञ्चनपुरका सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘घरको लागि दाल, चामल, प्याज, टमाटर, चिनी लिएर आउँदै थिए। ४/५ वटा रुख काटिएको थियो। आरा रुखमा अड्किएको थियो। त्यहाँनेर हामी आउँदै थियौं। बब्लु नामको एक जना अगाडि थियो। म पछाडि आउँदै थिए। त्यहीँनेर एउटा ढुंगा हान्यो। म लडे। त्यसपछि म उठे। त्यहाँबाट भागे। फेरि गन्ध आयो। पटाका पड्केजस्तो आवाज आयो। मेरो खुट्टामा लाग्यो। त्यसपछि म भागेर पूर्णागिरी स्कुलसम्म आएँ। त्यहाँबाट अंकलले उद्धार गरेर ल्याउनुभयो। गोली हान्नेहरु १०/१२ जनाको ग्रुपमा थिए। म भागेपछि रुख काट्नेहरुलाई उनीहरु खोज्न थाले।’

यहाँ प्रहरी र पीडितकै कुरा बाझिएको छ। नेपाली प्रहरीले काठ चोर्न गएको भनेको छ भने पीडितले सामान ल्याउँदा काठ तस्कर भनेर गोली हानेको बताएको छ। कसले हान्यो भन्ने अझै खुलेको छैन।

दोषीलाई कारवाहीको माग

नेपालीमाथि गोली प्रहार भएको खबर फैलिएपछि कञ्चनपुरवासी आक्रोशित भए। साँझदेखि नै सामाजिक सञ्जालमा भारतीय विस्तारवाद मुर्दावादको नारा लेख्न थाले। घटना भएको क्षेत्रका विघटित प्रतिनिधिसभा सदस्य दीपकप्रकाश भट्टले नेपाली नागरिकमाथि गोली हान्ने भारतीय सुरक्षा फौजलाई कारबाही गर्न माग गरे। आफ्नो निर्वाचन क्षेत्रमा भएको घटनालाई निन्दनीय भन्दै नेकपा (दाहाल-नेपाल समूह) का नेता भट्टले सत्यतथ्य पत्ता लगाउन तथा दोषीमाथि कारबाहीको माग गरेका हुन्। घाइतेको उपचारको व्यवस्था गर्न सरकारसँग माग पनि गरेका छन्।

यसैगरी भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट र वेदकोट नगरपालिकाका मेयर अशोक चन्दले पनि घटनाको विरोध गरेका छन्। उनीहरु सहित नेकपा र कांग्रेसका कार्यकर्ताले सामाजिक सञ्जालमा भारतीय विस्तारवाद मुर्दावादको नारा लेखेर विरोध गरेका छन्। जिल्लाका नागरिक अगुवाले पनि घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेका छन्।

पूर्वमन्त्री उर्वादत्त पन्तले घटनाको विरोध गर्दै 'भारतीय बिस्तारवाद मुर्दावाद, नेपालमा रहेका भारतीय एजेन्टहरु मुर्दावाद, नेपाली जनता र नेपाल राष्ट्रको स्वाधीनता जिन्दावाद' नारा फेसबुकमा लेखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell