PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

दिल्ली र बेइजिङको झझल्को दिने काठमाडौँको वायु प्रदूषणः हानिकारक कुहिरो कहिले होला साम्य?



सहयोग रञ्जित

दिल्ली र बेइजिङको झझल्को दिने काठमाडौँको वायु प्रदूषणः हानिकारक कुहिरो कहिले होला साम्य?

काठमाडौँ: काठमाडौँमा चिसो ह्वात्तै बढेको छ। सँगै बढेको छ वायु प्रदूषण। कोरोना संक्रमणसँग जुध्दै खुलिरहेको काठमाडौँमा अहिले हानिकारक कुहिरो मडारिएको छ।

सोमबारबाट काठमाडौँ धुम्म भएको छ। लाग्छ चारैतिर हुस्सु लागेको छ। त्यही धुवाँजस्तो पातलो कुहिरो काठमाडौँवासीका लागि निकै खतरनाक बनेको छ। सरकारले नै काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको घोषणा गर्दै त्यसबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ। खासगरि बिहान र बेलुकीको समयमा वायु प्रदूषण अत्यधिक बढेको भन्दै वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले सो समयमा बाहिर निस्किँदा सावधानी अपनाउन भनेको छ। यसबाट बालबालिका, वृद्ध, वृद्धा एवं दम, खोकी जस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामी बढी प्रभावित हुने भएकाले घर बाहिर ननिस्किन विभागले भनेको छ। काठमाडौँसँगै नेपालगन्ज र विराटनगरमा समेत वायु प्रदूषण उच्च रहेको जनाइएको छ।

सोमबार काठमाडौँको वायु प्रदूषणले खतराको तह नै पार गरेको थियो। एक्युआइआरमा उल्लेख भए अनुसार सोमबार काठमाडौँको वायुको गुणस्तर ४८७ थियो। जुन खतरनाक हो। अहिले काठमाडौँको हावामा हानीकारण धुलो भएको हुँदा त्यसले आँखामा असर समेत गर्न सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ।

काठमाडौँको वायु प्रदूषित हुनुको मुख्य कारण वर्षा नहुनु पनि हो। काठमाडौँ र आसपासका क्षेत्रमा बादल त लाग्यो तर वर्षा हुन सकेन। केही फाटफुट वर्षा भए पनि त्यो पर्याप्त भएन। काठमाडौँ कचौरा आकारको जस्तो छ। त्यसैले वायुमण्डलको हावा नतात्दा काठमाडौँको हावा पनि बाहिरिन सकेन। त्यसकरण काठमाडौँमा प्रदूषणको कुइरो लाग्यो। मंगलबार काठमाडौँको वायुको गुणस्तर घटे पनि कुइरो हट्न सकेको छैन। त्यसैले वातावरण विभागले वायु प्रदूषण झनै खराब समेत हुने सम्भावना रहेको जनाएको छ।

यता वायु प्रदूषणसँगै काठमाडौँमा कोरोनाको कहर जारी नै छ। तर संक्रमणको डर हटिसकेको भान हुन्छ। कुनै स्वास्थ्य मापदण्डको पालना नहुँदा कुनै पनि बेला संक्रमण बढ्न सक्ने चिकित्सकहरू बताउँछन्। यसबीच वायु प्रदूषणले समेत काठमाडौँलाई पिरोलेको छ।

जनस्वास्थ्यविदहरुले कोरोना र वायु प्रदूषणसँग बच्न मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेका छन्। तर कोरोना भुलेको काठमाडौँले कुइरोलाई पनि खासै महत्त्व दिएको देखिँदैन।

अहिलेको काठमाडौँको दृश्य हेर्दा दिल्ली र बेइजिङको झझल्को आउँछ। दिल्ली र बेइजिङमा वायु प्रदूषणका कारण पुरै शहर प्रदूषणको कुइरीमण्डलमा बस्न बाध्य हुन्छ। अहिले काठमाडौँको अवस्था पनि त्यस्तै भएको छ। यसरी शहर नै कुइरोले ढाकिनुको मुख्य कारण अव्यवस्थित शहरीकरण पनि हो। दिल्लीले त प्रदूषण रोक्न अत्याधुनिक मेसिनदेखि सवारीसाधनमा ‘जोरबिजोर’ प्रणाली समेत लागू गरेको थियो। तर प्रदूषण नियन्त्रणमा सफल भने हुन सकेन। अहिले जाडोले छोएको काठमाडौँको वायुलाई थप प्रदूषित बनाउनबाट रोक्न वायुको गुणस्तर घटाउने कामहरूमा रोक लगाउन आवश्यक छ। सवारी साधनको चापलाई व्यवस्थित बनाउनु सबैभन्दा ठूलो समस्या हो।

मंगलबार दिउँसो केही समय घाम लागेकोले वायु प्रदूषण घटेको बताइएको छ। तर काठमाडौँमा मडारिएको प्रदूषणको कुइरो हट्न आकाश पुरै खुल्नै पर्छ। या त पानी पर्नुपर्छ। त्यो नभएसम्म मौसमी प्रतिकूलतालाई ध्यानमा राख्दै सतर्कता अपनाउन आवश्यक रहेको बताइएको छ।

मंगलबार राम्ररी घाम नलागेको र पानी पनि नपरेको कारण बुधबार पनि काठमाडौँको मौसममा परिवर्तन आउने सम्भावना कम रहेको छ। त्यसैले बिहान र बेलुकीको समयमा मर्निङ वाकदेखि अन्य क्रियाकलापमा नहिँड्न आग्रह गरिएको छ।

भोलिको मौसम कस्तो रहला?

बुधबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ। यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने समेत सम्भावना रहेको छ। यस्तै बुधबार राति भने देशको पहाडी क्षेत्रमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। यस्तै, पश्चिमी उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुधबार देशभर बदली भई हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको र त्यसकारण तापक्रम सामान्य घट्न सक्ने र चिसो बढ्ने सक्ने महाशाखाले जनाएको छ। त्यसैले चिसो बढ्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell