काठमाडौं : आज दिउँसो ४ बजेतिर महानगरीय प्रहरी परिसर ललितपुरको १०० नम्बरमा आएको एउटा फोन कलले एकछिन प्रहरीमा खैलाबैला मच्चायो।
एक अपरिचित व्यक्तिले १०० मा फोन गरेर ठूलो क्राइम गर्ने चेतावनी दिएका थिए। उनले त्यति मात्र भनेनन् क्राइम गर्ने समय पनि तोकिदिए। समय थियो रातको ८ बजे।
प्रहरीलाई नै फोन गरेर क्राइम गर्ने धम्की दिएपछि प्रहरीले फोन गर्ने मानिसको खोजी गरेको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी प्रज्वल महर्जनले जानकारी दिए। एक घण्टा पनि नबित्दै प्रहरीले ती व्यक्तिको पहिचान गर्यो।
काभ्रे घर भएर ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ बस्ने ३८ वर्षीय राजकुमार श्रेष्ठलाई नियन्त्रणमा लियो। अहिले श्रेष्ठलाई महानगरीय प्रहरी वृत सातदोबाटोमा राखेर अनुसन्धान भइरहेको एसपी महर्जनले जानकारी दिए।