PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोरोना भाइरसको सुरुवात कसरी भयो भन्ने खोज्न हिँडेका डब्लुएचओका अनुसन्धानकर्ताले पाएनन् चीनमा 'इन्ट्री'



पहिलोपोस्ट

कोरोना भाइरसको सुरुवात कसरी भयो भन्ने खोज्न हिँडेका डब्लुएचओका अनुसन्धानकर्ताले पाएनन् चीनमा 'इन्ट्री'
चीनको मासु बजार। GETTY IMAGES

कोभिड १९ को सुरुवात कसरी भयो भन्ने अनुसन्धानका लागि खटिएको विश्व स्वास्थ्य संगठनको एउटा टोलीलाई चीन प्रवेश गर्न रोक लगाइएको छ। कोरोना भाइरस चीनको वुहानबाट सुरु भएको हो। त्यहाँ अध्ययनका लागि जान लागेको टोलीलाई प्रवेश नदिइएको हो।

टोलीमध्येका दुई जना अनुसन्धानका लागि हिँडिसकेका थिए जसमध्ये एकजना फर्काइए भने एकजना तेस्रो मुलुकमा अड्किएका छन्। 

भिसा नमिल्दा समस्या भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संगठन र बेइजिङबीच लामो समयको छलफलपछिमात्रै अनुसन्धान गर्न दिने विषयमा सहमति जुटेको थियो। 

यो भाइरस पहिलो पटक वुहानमा सन् २०१९ को अन्त्यतिर देखिएको थियो जहाँबाट यो विश्वभर फैलियो। 

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडनोम गेब्रियसले चीनले भिसा नदिनुलाई ज्यादै निराशापूर्ण भनेका छन्। चीनले अझै संगठनका टिमलाई अनुमति दिएको छैन जबकि अनुसन्धानका लागि टोली तयारी अवस्थामा पुगिसकेको छ। टोलीमध्येका दुई जना हिँडिसकेका छन् भने बाँकी अन्तिम समयमा आएर अड्किएका छन्। 

'मलाई दिइएको आश्वासन अनुसार चीनले सकेसम्म छिटो आन्तरिक प्रकृयाहरु पूरा गर्ने छ,' गेब्रियसले जेनेभामा पत्रकारहरुसँग भने। उनका अनुसार चिनियाँ उच्च अधिकारीहरुसँग यस विषयमा लगातार संवाद भइरहेको छ। 

विश्व स्वास्थ्य संगठनले १० जना विज्ञको अन्तर्राष्ट्रिय टोली चीनमा अनुसन्धानका लागि महिनौ अघिदेखि तयारी अवस्थामा राखेको हो। यो टोलीले पेन्डामिकको सुरुवात कुन जनावरबाट सुरु भयो र कसरी मानव जातिमा फैलियो भन्ने खोज गर्ने लक्ष्य लिएको छ।
गत महिनामात्र यो टोलीले २०२१ को जनवरीबाट काम थाल्ने घोषणा भएको थियो। 

रोयटर्सले डब्लुएचओका इमर्जेन्सी प्रमुख माइक रायनलाई उदृत गर्दै जनाएअनुसार चीनबाट एक जनालाई फर्काइएको छ भने एक जना तेस्रो मुलुकमा नै रहेका छन्। 

कोभिड १९ पहिलो पटक चीनको हुवेई प्रान्तको वुहान शहरमा पहिचान भएको थियो।

जनावरको मासुबाट मानिसमा यो भाइरस प्रवेश गरेको सुरुवाती आँकलन थियो। त्यहाँको मासु बजारबाट मानिसमा भाइरस प्रवेश गरेर विश्वव्यापी संकट पैदा भएको अनुमान थियो। तर, त्यो मासु बजार भाइरसको स्रोत नहुने सम्भावनाहरु पनि उत्तिकै देखिएका थिए। कतिपयले चमेरोबाट मानवमा यो भाइरस फैलिएको तर्क गरेका छन्। वैज्ञानिक अनुसन्धानको अभावका कारण यो भाइरस कसरी मानिसमा आयो भन्न सकिने अवस्था छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell