काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न भएसँगै काठमाडौंलाई हिलो धुलोमुक्त बनाउने अभियानले मुर्तरुप प्राप्त गर्ने बताएका छन्।
काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबिच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षरपछि सम्वोधन गर्दै शाक्यले यस्तो बताएका हुन्। समझदारी–पत्रमा मेयर शाक्य र मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले हस्ताक्षर गरे। ‘काठमाडौंबासी लामो समयदेखि मेलम्चीको पानी आउने आशामा छन्। काठमाडौँबासी सबैलाई मेलम्चीको नाम थाहा छ,’ प्रमुख शाक्यले भने, ‘आज त्यही नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्दै गर्दा मेलम्ची र काठमाडौँबासीको सम्बन्ध थप प्रगाढ हुने अपेक्षा हामीले लिएका छौँ।’
शाक्यले मेलम्ची खानेपानी विस्तारको आयोजना सम्पन्न नहुँदा काठमाडौँ महानगरको धेरै बजेट सडक खन्ने र पुर्ने खर्च हुँदै आएको पनि उल्लेख गरे। ‘खानेपानी आयोजना र सडक विस्तारको काम छिटो सम्पन्न भयो भने यहाँका सडकलाई धुलो हिलोमुक्त बनाउन सकिन्छ,’ प्रमुख शाक्यले भने। उनले नगर–नगर साझेदारी कार्यक्रम अन्तरगत हरियाली प्रर्वद्धन र पार्क निर्माणका लागि काठमाडौँका १० ओटा र मध्यपुर ठिमी नगरपालिकासँग पनि साझेदारी गरिसकेको स्मरण गराए।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ को खण्ड (ट) को कानुनी व्यवस्था बमोजिम संघीय राजधानी काठमाडौंमा रहेको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वको काठमाडौं महानगरपालिका र प्राकृतिक श्रोत साधन सम्पन्न पर्यटकीय नगर मेलम्चीबिच भगिनी सम्बन्ध स्थापना गरेको महानगरपालिकाले जानकारी दिएको छ। ‘जलाधार संरक्षण, स्थानीय उत्पादन तथा बजार व्यवस्थापनमा सहकार्य गर्ने उदेश्यले मेलम्ची नगरपालिकासँग सम्बन्ध स्थापना भएको हो,’ प्रमुख शाक्यले भने, ‘मेलम्ची नदी र सहायक खोलाहरुको उदगम स्थलदेखिका बहाव क्षेत्रहरुमा बृक्षारोपण तथा प्रदूषण नियन्त्रण गरी नदीको पवित्रता कायम राख्न, स्थानीय स्तरमा उत्पादन हुने बहुमुल्य जडिबुटी र प्राङ्गारिक कृषि उत्पादनमा बृद्धि तथा बजार व्यवस्थापन समेतका लागि दुई नगरबीचमा सहकार्य प्रवर्द्धन हुने कार्यक्रम संचालन गर्नेछौं।’
महानगरपालिकाले समझदारीपछि मेलम्ची नगरपालिका वडा नं.१० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि रु. १ करोड ५० लाख रकम अनुदान दिने सम्झौता पनि गरेको छ।
