काठमाडौं: नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले युवा तथा खेलकुद मन्त्री दावा लामासँग ६ बुँदामा ध्यानकर्षण गराएको छ। मन्त्रालयमा आज संघका अध्यक्ष दीपक श्रेष्ठ लगायतको उपस्थितिमा मन्त्री लामाको ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएका हुन्।
'चार वर्षदेखि सरकारले आफू मातहतको राष्ट्रिय खेलकुद परिषद मार्फत ओलम्पियन, एसियन खेलकुदका पदक विजेता र दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता खेलाडीहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको थियो,' संघको ध्यानाकर्षण पत्रमा भनिएको छ, 'तर चालु आर्थिक वर्ष २०७७/७८ बाट त्यो प्रोत्साहन भत्ता रोकिएको मन्त्री ज्युलाई जानकारी भएकै विषय हो।'
पछिल्लो समय निवर्तमान खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले प्रोत्साहन भत्ताका लागि कार्यविधि बनाउन आनकानी गरेकाले समस्या आएको खेलाडीहरुले बताउँदै आएका थिए। गता वर्ष नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले ५१ स्वर्ण पदक जितेपनि खेलाडीहरुले हालसम्म प्रोत्साहन भत्ता पाउन सकेका छैनन्।
'प्रोत्साहन भत्ताको सुनिश्चितताका लागि कार्यविधिको मस्यौदा तयार गर्नका लागि मन्त्री ज्युबाट आफ्नो पहिलो निर्णय का रुपमा ७ सदस्यीय समिति गठन गरेको खबरलाई संघले सकारात्मक रुपमा लिएको छ,' ध्यानकर्षण पत्रमा भनिएको छ, 'कार्यविधि मस्यौदा तयार पार्ने क्रममा समितिले संबन्धित खेलाडी संघसँग छलफल गराउने वातावरण निर्माणका लागि मन्त्री ज्यूले निर्देशन दिनुहुन्छ भन्नेमा संघ आशावादी छ।'
यसअघि प्रोत्साहन भत्ताका रुपमा ओलम्पियनले मासिक ४ हजार, एसियाली खेलकुदका पदक विजेता सागका स्वर्ण विजेताले ले प्रतिपदक ६ हजार पाउँदै आएका थिए।
संघले यो बाहेक नवौं राष्ट्रिय खेलकुदको बारेमा आवश्यक पहल लिनुपर्ने, स्वास्थ्य मापदण्ड अपनाएर सुरु हुन बाँकी खेलहरुको अभ्यास सुरु गराउनुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराएका छन्।
मन्त्री लामाले पनि कार्यदल बनाइसकेको र १५ दिनभित्र कार्यविधि बनाइसक्ने भनेर आफूहरुलाई आश्वस्थ गराएको संघका अध्यक्ष श्रेष्ठले बताए।
