PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ओलीलाई घेराबन्दी गर्न आयोजित अन्तर्क्रियामा तारो बने माधव नेपाल, समाचार वाचकले राजनीति नबुझेको सीपीको आरोप

ओलीलाई घेराबन्दी गर्न आयोजित अन्तर्क्रियामा तारो बने माधव नेपाल, समाचार वाचकले राजनीति नबुझेको सीपीको आरोप

प्रकाश भण्डारी/पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधिसभा विघटनपछि विरोधमा छ नेकपाकै (हाल विभाजनको अवस्थामा रहेको) पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल  समूह। दैनिक विभिन्न गतिविधि भइरहेको छन्। बुधबार बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा समूहले राजनीतिक दलसँग अन्तर्क्रिया गर्‍यो। आफ्नो आन्दोलनप्रति सद्भावका लागि छलफलको आयोजना गरिएको भनिए पनि प्रचण्ड-नेपाल समूहले सोचेझैँ कार्यक्रम भएन।

व्यवस्थापन नै भद्रगोल

कार्यक्रम २ बजेका लागि बोलाइएको भए पनि सुरु निर्धारित समयभन्दा डेढ घण्टा ढिलो भयो। नेपाली कांग्रेस, जनता समाजवादी, विवेकशील साझा, नेकपा माले, मसाल, नेकपा क्रान्तिकारी लगायतका दललाई बोलाइएको थियो अन्तर्क्रियामा। आशनग्रहणका बेला नेताहरुलाई मञ्चमा बस्ने व्यवस्था गरिएको थियो। तर, सबैलाई बस्न कुर्सी नै पुगेन। त्यसपछि नेकपाका नेताहरु आफैँले हलको भुँइमा कुर्सी सार्न लगाए। कार्यक्रम सञ्चालनको जिम्मेवारीमा थिइन् नेकपा प्रचण्ड-नेपाल समूहकी स्थायी कमिटी सदस्य पम्फा भूसाल। उनले बेला-बेलामा नेताहरुको पार्टीको नाम समेत भुलिन्। विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रलाई मञ्चमा बोलाउँदा उनले मिश्रलाई नै सोध्नुपर्‍यो दलको नाम।

बाबुरामलाई भयो हतारो

कार्यक्रमको सुरुमै  प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले बोले। उनले प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध मोर्चाबन्दीमा लाग्नुपर्ने धारणा राखे। उनले अरु दलका नेतालाई फकाउँदै ओलीले सुरुमा आफ्ना पार्टीका नेता र पछि सबै दलका नेतालाई सिध्याउने धारणा राखे।

‘घरमा झमेला भएकोले घरै सिध्याए भन्ने कुराले सबैको विनाश हुन्छ। ओलीले कसैलाई पनि बाँकी राख्दैनन्। आफ्नो पार्टीलाई मात्र होइन संसदमा ओलीले दिएको जवाफ पनि हामीलाई कसो-कसो हुन्थ्यो। तर, त्यो भन्न मिलेन। तपाईँलाई पनि भएको थियो होला?’ उनले अरु नेताहरुलाई सोधे।

माधव नेपालपछि आफ्नो धारणा राख्न जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष बाबुराम भट्टराई आए। उनले प्रचण्ड-नेपाल समूह नै आन्दोलनप्रति इमान्दार नभएको आरोप लगाए। उनले कार्यक्रममा नेताहरुलाई छेडछाड गरे।

ओलीलाई बोकेर अहिलेको अवस्था ल्याएको भन्दै उनले माधवकुमार नेपालप्रति कटाक्ष गरे। नेपाली कांग्रेसले चुनावप्रति मोह देखाएको भन्दै चुनाव नै नहुने ठोकुवा गरे बाबुरामले।

‘कांग्रेसलाई मेरो सुझाव छ, चुनावमा हामीलाई र कांग्रेसलाई फाइदा हुन्छ। तर, लेखेर राख्नुस् केपी ओलीले चुनाव गर्दैनन्,’ उनले भने।

उनी अरु नेताहरुको भाषण सुन्न भने पर्खेनन्। कार्यक्रममा अरु नेताभन्दा ढिलोगरि मात्रै उपस्थित भएका बाबुराम सबैभन्दा पहिला बाहिरिए।

प्रचण्ड-नेपाल समूहले अरु दलको आन्दोलनप्रतिको धारणा सुन्न र मोर्चाबन्दी गर्न अन्तर्क्रियाको आयोजना गरेको भएपनि अरु दलले भने अहिले नै प्रचण्ड नेपाललाई साथ दिने संकेत गरेनन्।

कांग्रेस छैन प्रचण्ड-नेपालप्रति सकारात्मक

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनप्रति आफ्नो प्रष्ट धारणा नदेखाएको भन्दै आलोचना भइरहेको छ। बानेश्वरको अन्तर्क्रियामा कांग्रेसको प्रतिनिधित्व गरेका थिए पूर्व सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले। उनको भाषणको सुरुवात नेताहरुसँग उनको सम्बन्धबाट भयो। को नेतासँग आफ्नो पहिला कस्तो सम्बन्ध रह्यो। कसरी आन्दोलनमा सँगै होमियो भन्नेबारे प्रष्ट्याउन खोजे रिजालले।

उनले कांग्रेस अदालतलाई पर्खिएर मात्रै मोर्चाबन्दीमा लाग्ने धारणा राखे। कांग्रेस अदालतको सम्मान गर्ने पार्टी भएकाले अदालतको निर्णय नै मान्य हुने उनको भनाई थियो।

‘तपाईँ र हाम्रो अदालतप्रतिको धारणा फरक होला। तर, कांग्रेस अदालत मान्ने ट्रेडिसन बोकेको पार्टी हो। सभापतिलाई जेल हालिएका बेला पनि हामीले अदालत पर्खने निर्णय गरेका थियौँ,’ उनले भने।

पछाडिसम्म नेता कार्यकर्ताले भरिभराउ हलमा अगाडि शीर्ष नेताहरुको पनि बाक्लै उपस्थिति रहेको थियो। आफ्नो भाषण गरेर सकेका मीनेन्द्र रिजालले अरु नेताको भाषण सुन्न उपयुक्त देखेनन्। उनी भाषण सक्ने बितिक्कै निस्के।

‘संसद् पुनर्स्थापना भए के हुन्छ?’

विभिन्न २३ दलको कार्यगत एकता गरेर मोर्चाबन्दीमा छन् मसाल, माले, नेकपा क्रान्तिकारीलगायतका साना दल। मोर्चाका तर्फबाट उपस्थित थिए सीपी गजुरेल। उनले संसद् विघटन गरेर केपी ओली नरोकिने बताए। भित्र-भित्रै संकटकाल लगाउने तयारी भएको दाबी गर्दै उनले संसद् पुनर्स्थापन भएपछि प्रचण्ड-नेपाल फेरि पनि सत्तामा जाने र आफूहरुलाई बिर्सिने बताए।

छेउमा बसेका माधवकुमार नेपालतर्फ फर्कंदै उनले संसद् पुनर्स्थापन भए त्यसपछि के हुन्छ? भन्ने प्रश्न समेत गरे। उनले व्यवस्थामै कही न केही खोट भएको बताउँदै बरु अहिले सबै दल ओलीले लागू गर्ने संकटकालविरुद्धको तयारीमा लाग्नुपर्ने बताए।

‘ओलीले चालेको कदम अदालतले उल्ट्याएमा प्रचण्ड नेपाल के गर्नु हुन्छ, आन्दोलन गर्नु हुन्छ कि हुन्न? २३ दलको कार्यगत एकता गरौँ,’ उनले भने।

रवीन्द्रको भाषणको आकर्षण

खचाखच भरिएको हलमा भइरहेको हल्लाले अगाडि बसेका नेतालाई झिझो लागिरहेको थियो। तर, भाषण गर्न विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्र आएपछि भने एकाएक हल शान्त भयो। पूर्व पत्रकार समेत रहेका मिश्रले आक्रमक रुपमा भाषण गरे।

उनले सुरुमै तत्कालीन परिस्थितिका लागि तीन विकल्प प्रस्तुत गरे। अदालतको निर्णय, सभामुखको भूमिका र आन्दोलनमात्रै विकल्प भएको बताए। मिश्रले कांग्रेसको व्यवहारप्रति आपत्ति जनाए।

नेपाली कांग्रेसका नेता रिजाललाई उनले प्रश्न गरे, ‘चुनाव मान्य हुने र अदालतको निर्णय पर्खने भए, हिजो राजाले गरेको चुनाव घोषणालाई किन नमानेको।’

उनले असंवैधानिक कदम र संविधान मिचेर गरिएको निर्णयको सोझै विरोधमा उत्रनुको विकल्प नभएको कांग्रेसलाई सुझाव दिँदै लोक कल्याणकारी राज्य नभएसम्म प्रतिगामी कदम चलिरहने दाबी गरे।

सीपी मैनालीले पोखे भडास

मालेका महासचिव सीपी मैनाली थिए कार्यक्रमका अन्तिम वक्ता। उनले आफ्नो भाषण अली लामो हुने भन्दै सुरुमै धैर्य गर्न आग्रह गरेका थिए। तर, उनको भाषण सुरु हुँदासम्म हल आधा खाली भइसकेको थियो। अगाडिको लाइनमा बसेका नेताका कुर्सी पनि खाली भइसकेका थिए।

उनले सुरुमै  माधव नेपालको आलोचना गरे। मास्क लगाएर बसेका नेपाल उनको आलोचना सुनेर हाँसे र उनको भाषणतर्फ फर्किएर सुनिमात्रै रहे। उनले माधव नेपालले कसरी आफूलाई पदबाट हटाएका थिए र आफू हालको अवस्थामा कसरी पुगेँ भन्नेबारे प्रष्ट्याउन खोजे।

उनले प्रचण्ड-नेपालको आन्दोलनमा आफ्नो समर्थन भए पनि उनीहरु इमान्दार नभएको आरोप लगाए।

‘मैले राजीनामा दिएको एक घण्टा भएको थिएन। म त्योबेला अल्पमतमा परेको थिएँ। साथीहरुले हामी तपाईँबिनै बैठकमा बस्न चाहन्छौँ भन्नु भयो। मैले त्यतिबेला राजीनामा गरिसकेको थिएँ। तर, एकछिनपछि राजीनामा उहाँहरुले स्वीकृत गर्नु भएन मलाई बरु स्थायी कमिटी र पोलिटब्यूरो सदस्यबाट हटाउन कारबाही भयो,’ उनले भने।

उनले प्रचण्ड भारत परस्त भएको समेत आरोप लगाए। ओली र प्रचण्डबीच भएको सहमतिलाई प्रचण्डले दिल्लीमा गएर खोल्नुले उनी भारतपरस्त भएको पुष्टि हुने उनको तर्क थियो। उनले अहिलेको संविधानमै कमजोरी भएको बताए।

उनले नेकपाको प्रचण्ड-नेपाल समूहको आन्दोलनमा मोर्चाबन्दीमा आफू सहभागी हुनेबारे केही बताएनन्। ओलीको कदम गलत भए पनि प्रचण्ड-नेपाल पनि त्यही कित्ताकै भएको उनको आरोप थियो।

रवीन्द्रलाई सीपीले गाली गर्दा कड्किए नारायणकाजी

विवेकशील साझाका अध्यक्ष मिश्र पनि कार्यक्रम हलबाट बाहिरिसकेका थिए। तर, उनको चर्को आलोचना गरे मालेका महासचिव मैनालीले। उनले समाचार वाचकले राजनीति नबुझको आरोप समेत लगाए। राजनीति नबुझेको मान्छेले मात्रै मिश्रको जस्तो कुरा गर्ने उनको तर्क थियो।

‘त्यो अघिको भाषण गर्ने बीबीसीको समाचार वाचक होइन? राजनीति नै बुझेको रैनछ। समाचार वाचन गर्ने मान्छेले राजनीति कहाँ बुझ्न सक्छ र,’ उनले भने।

कार्यक्रमको अध्यक्षता गर्दै अगाडिको लाइनको कुर्सीमा बसेका नेकपाका प्रवक्ता भाषण गरिरहेका मैनालीप्रति कड्किए।

उनले मैनालीलाई रोक्दै भने, ‘यहाँ अरु नेताहरु हुनुहुन्छ। उहाँहरुको बारेमा भन्नुस् न। किन मिश्रजी त गइसक्नु भो।’

त्यसपछि मैनालीले मिश्रको नाम नै लिएनन् र आफ्नो भाषण छोट्याए। उनले भाषण सकेर आएपछि माधव नेपालसामु गएर कानेखुसीमा लागे।



ट्रेन्डिङ पोस्ट

Ncell