काठमाडौं : हुम्लाको चंखेली-दार्मास्थित महादेव उच्च माध्यमिक विद्यालयमा प्रयोगशाला र पुस्तकालय भवन निर्माणका लागि भारतीय राजदूतावास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र चंखेली-दार्मा गाउँपालिकाका प्रतिनिधिहरुबीच आज एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ। नेपाल–भारतमैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि सारिएको परियोजनामार्फत भवन निर्माण गर्न लागिएको हो।
सो परियोजनाका लागि भारत सरकारले ४.४१३ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ। सन् १९७६ मा स्थापना भएको उक्त विद्यालय राष्ट्रिय परीक्षा बोर्ड र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्सँग आवद्घ रहेको छ। साना विकास परियोजनाको नामले परिचित यस उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमले विशेष गरी नेपालको स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई तथा अन्य सार्वजनिक सुविधाहरुको निर्माणका क्षेत्रमा काम गरिरहेको राजदूतावासले जानकारी दिएको छ।
राजदूतावासले आज एक विज्ञप्ति जारी गरी सो परियोजनाअन्तर्गत भारतले सन् २००३ देखि नेपालका सातै वटा प्रदेशमा ४२८ वटा परियोजनाहरु सम्पन्न गरिसकेको जनाएको छछ। यीमध्ये १४ वटा परियोजनाहरु प्रदेश नम्बर ६ मा रहेका छन्, जसमा हुम्लामा निर्माण सम्पन्न एक विद्यालय तथा चार विद्यालय निर्माण परियोजना विविध चरणमा रहेका छन्।
नजिकका छिमेकी भारत र नेपालबीच मित्रता र सहयोगको अद्वितीय सम्बन्ध रहेको राजदूतावासको भनाइ छ। प्राथमिकताको क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्नका लागि नेपाल सरकारको प्रयासलाई पूर्णता दिन भारत सरकारको निरन्तर प्रतिबद्घतालाई पनि दुई देशबीच सम्पन्न आजको यस सम्झौता पत्रले प्रतिबिम्बित गरेको राजदूतावासले बताएको छ।
