PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

ओली र थापामाथि निर्मला प्रकरणमा लागेको 'असफलताको दाग' मेटाउन सक्लान् यिनले?



सविन ढकाल

ओली र थापामाथि निर्मला प्रकरणमा लागेको 'असफलताको दाग' मेटाउन सक्लान् यिनले?

२०७५ साउन १० गते।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारी नजिकै दुई शंकास्पद मोबाइल सेल आइडी सक्रिय भयो। त्यसो त वरपरहेका अन्य सेल आइडी नदेखिएको भने होइन, यी दुई आइडी संदेहको घेरामा थिए।

कोइरी थरकी एक युवतीको मोबाइल पनि सोही सेल आइडीमा दिउँसो २ बजेर २५ मिनेटमा सक्रिय भएको भेटियो। त्यसैगरी कोइरी थरकै अर्का युवकको पनि मोबाइल २ बजेर २७ मिनेटमा सक्रिय देखियो।

युवकले दिएको प्रहरी बयानले अनुसन्धानलाई थप शंकामा घेराभित्र धकेल्दियो।

ती युवकले बयानमा भने, 'कोइरी थरकी युवती निर्मलाको साइकल भेटिएको ठाउँ नजिकै मोबाइलमा चलाउँदै जाँदै गरेको देखेको हुँ।'

प्रहरीले सोधपुछ गर्दा ती युवतीले आफू दही लिन गएको बताइन्। दही किन्ने ठाउँ बम दिदीबहिनीको घर नजिकैको चोकमा पर्छ। त्यति नजिकै भए पनि ती युवती पौने ५ बजेसम्म घर फर्किएकी थिइनन्। सवा २ बजेदेखि ५ बजेसम्म ती युवती कता थिइन् त?

केही समय केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)बाट गएको टोलीले थप अनुसन्धान गर्‍यो। घटनाक्रम केलायो। एकाएक उनी अनुसन्धानको रिङबाट आउट भइन्। जुन अनुसन्धानको एउटा साक्षी पात्र थिए - एसपी उमाशंकर चतुर्वेदी।

प्रसङ्ग हो, निर्मला पन्त हत्या प्रकरणको हो। निर्मलाको हत्या प्रकरणले सिंगै देश तातेको थियो। प्रहरी र राज्यसंयन्त्र माथि प्रश्नहरु थोपरिएको थियो। त्यही क्रममा झन्डै तीन महिनापछि अनुसन्धानमा व्यूरोबाट पुगेका थिए, एसपी उमाशंकर चतुर्वेदी।

७५ दिनसम्म कंचनपुरमा नै रहेर उनले अनुसन्धानलाई नजिकबाट नियाले। त्यतिखेरको परिस्थिति बेग्लै थियो। देखेको अनुसन्धानलाई सही हो भन्ने हिम्मत कुनै प्रहरीमा थिएन। तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालदेखि गृहमन्त्रीसम्म अनुसन्धानमा खटिएका प्रहरीको गल्ती देखाउँदै आफू चोखिने रणनीतिमा थिए। अरु सिराबाट अनुसन्धानतिर उनीहरुको ध्यान थिएन, न त कुनै निर्देशन नै दिइरहेका थिए।

घटनाको दुई वर्ष बितिसक्दा पनि निर्मला प्रकरण जहीँको तहीँ छ। नयाँ प्रमाण त छाडौं, सुरुमै खटिएका प्रहरीको अनुसन्धान भन्दा फरक तथ्य पनि फेला परेको छैन। अनुसन्धानमा डामिएका प्रहरीले अदालतबाट सफाइ पाएका छन्, उनीहरु निर्दोष ठहरिए। तर, निर्मलालाई न्याय मिलेन।

+++

अब फेरि निर्मला हत्याको अनुसन्धानको जिम्मेवारी तिनै एसपी चतुर्वेदीको काँधमा आइपुगेको छ, फरक भूमिकाबाट। यो केसलाई अब जिल्ला प्रहरी प्रमुखको हैसियतले सुल्ट्याउनुपर्ने ठाउँमा पुगेका छन् उनी।

मंगलवार ३० जना एसपी सरुवा पर्दा कञ्चनपुर जिल्लाको कमान चतुर्वेदीको काँधमा परेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआइवी)मा लामो समय काम गरेका चतुर्वेदीको सरुवा निर्मलालाई न्याय पाउने आशाको रुपमा पनि हेरिएको छ।

'मैले पहिले पनि अनुसन्धान हेरेकाले केही सजिलो होला। मेरा लागि निर्मला प्रकरण चुनौतीपूर्ण छ,' एसपी चतुर्वेदीले भने, 'त्यसैले मेरो कार्यकालमा यसलाई टुङगोमा पुर्‍याउने कोसिस गर्नेछु।'

निर्मलाको हत्यारा पत्ता लाग्न सकेको छैन। प्रहरीले पहिले सार्वजनिक गरेका अभियुक्त दिलीपसिंह विष्टभन्दा बाहिर अनुसन्धान जान पनि सकेको छैन। हरेक घटना र प्रमाणले औंला विष्टतिर नै सङ्केत गरिरहेको छ। विष्टविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले किटानी जाहेरी समेत दिइसकेकी छिन्। तर, उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने साहस प्रहरीले देखाउन सकेको छैन।

सरुवा भएका एसपी चतुर्वेदी निर्मला प्रकरणलाई नजिकबाट हेरेका अनुसन्धान अधिकृत हुनाले उनीप्रति धेरैको आशा पनि छ।

+++

सुरुका दिनमा प्रहरीका केही अनुसन्धान अधिकृतले घटनास्थल शव भेटिएको उखुबारी हो वा होइन भन्ने निष्कर्ष समेत निकाल्न सकिरहेका थिएनन्। तर, एसपी चतुर्वेदी भने त्यतिखेर नै घटनास्थल उखुबारी भएको ठोकुवा गर्थे। एसपी चतुर्वेदीले घटनास्थलदेखि प्राविधिक पक्ष र केही मानिससँगको बयानका आधारमा यस्तो निचोड दिएका थिए।

घटनामा भीआइपीको संलग्नता नभएको, घटनास्थल त्यहीँ भएकोमा उनी प्रस्ट थिए। त्यसैले पनि अहिले चतुर्वेदीको कञ्चनपुर पोस्टिङलाई निर्मलाले न्याय पाउलिन् कि भनेर हेरिएको छ।

कुनै पनि अनुसन्धान को व्यक्ति भन्ने कुरा र उसको काम गर्ने शैलीले अर्थ राख्छ। ठाकुर ज्ञवाली आफैँ पनि निर्मला प्रकरणमा अनुसन्धानका लागि पुगेका थिए। उनी प्रहरी प्रमुख पनि भए तर यो विषय टुंगोमा पुगेन। जबकि पाँच महिने कार्यकालमा उनले निर्मला प्रकरण टुङ्गोमा पुर्‍याउने दाबी गरेका थिए।

आफ्नो कार्यकालमा भएको घटना सुल्ट्याउन तत्कालीन महानिरीक्षक सर्वेन्द्र खनाल पनि नलागेका होइनन्। एसपी सरुवा गरेर उनले केस टुङ्ग्याउन खोजे तर सकेनन्। यसबीचमा दुई प्रहरी प्रमुख फेरिए। तीन जना एसपीले कञ्चनपुर जिल्लाको कमाण्ड सम्हाले तर निर्मला प्रकरण यथावत रह्यो, निचोडमा पुगेन।

२०७५ भदौमा तत्कालीन एसपी दिल्लीराज विष्टलाई हटाएर एसपी कुवेरबहादुर कठायतलाई जिल्लाको कमान सम्हाल्न पठाइयो। २०७५ फागुनसम्म उनी त्यहीँ रहे। तर, थप कही खुलेन। त्यसपछि एसपी दिनेश आचार्यलाई घटनाको अनुसन्धानको लागि मुख्य जिम्मेवारी दिएर कञ्चनपुरको प्रहरी प्रमुख बनाएर पठाइयो। उनले पनि खासै नयाँ कुरा पत्ता लगाउन सकेनन। पुरानो अनुसन्धानलाई थप प्रमाण जुटाएनन्। त्यसपछि महानिरीक्षक खनालले नै २०७६ पुसमा एसपी मुकुन्द मरासिनीलाई पठाए। एक वर्षको अवधिमा उनले पनि अपराधीलाई उभ्याउन सकेनन्।

निश्चित छ, प्रधानमन्त्री ओलीले चुनाव गराउने नै भए भने पेचिलो मुद्दा बनिरहने छ - निर्मलाको हत्या प्रकरण। न्यायको खोजी नभए पनि चुनावमा मुख टाल्नै सहि, केही देखाउन आवश्यक छ उनले र गृह मन्त्री रामबहादुर थापाले। एकै गुटमा रहेका ओली र थापा दुवैविरुद्ध चुनावमा चर्कै नारा बन्न सक्छ - निर्मला प्रकरण। प्रधानमन्त्री ओलीलाई ट्विटरमा 'जष्टिस फर निर्मला' भन्दै मेन्सन गर्नेहरु अहिले पनि सक्रिय छन्।

तर, ओली सरकारले यसमा दिनसक्ने जवाफ छैन। 'घटना धेरै गिजलिएको छ। प्रहरीले मात्र होइन अब सरकारले नै अनुसन्धान गर्न प्रहरीलाई हौसला र साथ दिनुपर्छ,' पूर्व डीआइजी हेमन्त मल्ल ठकुरीले भने। चुनावी नाराकै बीचमा भए पनि निर्मलाले न्याय पाउने आधार बन्छ कि? अहिले पनि केन्द्रीय अनुसन्धान ब्युरोबाट निर्मला प्रकरण अनुसन्धान गर्न डीएसपीको नेतृत्वमा टोली नपठाएको होइन। तर, अनुसन्धानले कुनै मोड लिन सकेको छैन। निर्मला प्रकरणलाई नजिकबाट हेरेका एसपी चतुर्वेदीले निर्मलालाई न्याय र ओली र थापामाथिको असफलताको दाग मेटाउन कति सक्छन्, त्यो समयले बताउने नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell