PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

विडारीको प्रमलाई प्रश्न : १८औं शताब्दीको बेलायती प्रचलन देखाएर अहिले संसद विघटन गर्ने? रेकर्ड बजाउन माग



पहिलोपोस्ट

विडारीको प्रमलाई प्रश्न : १८औं शताब्दीको बेलायती प्रचलन देखाएर अहिले संसद विघटन गर्ने? रेकर्ड बजाउन माग

काठमाडौं: राष्ट्रियसभा सदस्य रामनारायण विडारीले संविधानसभामा भएका छलफलको रेकर्ड बजाउन माग गरेका छन्।

संविधानको धारा ७६ मा संसद विघटन सम्बन्धी प्रावधान राख्दा बृहत छलफल भएको र अन्तर्राष्ट्रिय विज्ञका सुझावलाई समेटिएको भन्दै प्रधानमन्त्रीले सनकका आधारमा विघटन गर्न नपाउने व्यवस्था गरिएको विडारीको भनाई छ।

‘तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओली र संविधानसभा अध्यक्ष सुवाचन्द्र नेम्वाङ सहभागी भएर गरेको धारा ७६ को रेकर्ड हेरौं। अहिले कति नालायकी काम गरेका रहेछौं भन्‍ने देखिन्छ। रेकर्ड मगाएर बजाउन माग गर्दछु,’ उनले भने।

विडारीले बहुमतको प्रधानमन्त्रीले २०४७ सालको संविधान र बेलायतको पुरानो १८ ‍औ शताब्दीको प्रचलन अहिले प्रयोग गरेर विघटन गरेको भन्दै आक्रोश व्यक्त गरे। ‘बेलायतको पुरानो हेरेर गर्ने? यो १८ औ शताब्दीको प्रचलन अहिले गर्ने? यस्तो मुर्खता अहिले बेलायतमा पनि गर्दैन,’ उनले भने।

विडारीले संसद विघटन गर्दा नेपाल आमा रोएको टिप्पणी गरे। ‘नेपाल आमाको चित्कार छ, गुहार गुहार। मलाई आपत पर्‍यो। संविधान बचाउ,’ उनले भने।

विडारीले कहिले पार्टी फुट्ला र मन्त्री पाउला, फेरि मन्त्री होउला भनेर बसिरहेकाहरुले नै नेपालको संविधानको धारामा जथाभावीक कुतर्क गरेर बेइज्जत गरेको आरोप लगाए। ‘हरेक क्षेत्रमा दलालै दलाल भए। भ्रष्टाचार, अपराध भए भनेर गुहार गुहार गरिरहेकी छन्। विघटन गर्दा नेपाल आमा गुहार गुहार भन्दैछिन्,’ विडारीले भने।

विडारीले राष्ट्रपतिलाई संसारका अगाडि बद्नाम गर्न खोजिएको बताए। ‘राज्यका सबै संविधानिक अंगलाई विवादित बनाए। पार्टीले काम गर्न दिएन भने अध्यक्ष पार्टीमा असफल हो। संसद अविश्वास आउनु भनेको प्रधानमन्त्री असफल हो। अनि विवाद पार्टीमा भयो प्रहार संसदलाई गर्ने? ताजा जनादेश प्रमको हुकुमबाट हुने कि संविधानिक प्रक्रियाबाट हुने?’ उनले प्रश्न गरे।

विडारीले प्रधानमन्त्री र राष्ट्रपति संविधान नभएको स्पष्ट पारे। वैशाखमा चुनाव नहुने ठोकुवा गर्दै विडारीले अबको तीन महिनापछि ओलीले फट्याई गरेको पुष्टि हुने जिकिर गरे। ‘म प्रधानमन्त्रीको व्यक्तिगत विरोधी होइन। काम र अपराधको घोर विरोधी हुँ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell