PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

कोमल वलीलाई अमेरिकाको चिन्ता!



पहिलोपोस्ट

कोमल वलीलाई अमेरिकाको चिन्ता!

काठमाडौं: विहीवार राष्ट्रियसभाको बैठक बस्यो। शून्य समयदेखि विशेष समयसम्म राष्ट्रियसभा सदस्यहरुलाई बोल्न पाउने तय गरिएको थियो। १ बजे सुरु भएको बैठक ३ बजेसम्म चल्यो। बोल्ने सबै सांसदले देशको वर्तमान परिस्थितिमा रहेर चासो र चिन्ता व्यक्त गरे।

प्रधानमन्त्रीले गरेको संसद विघटन, मध्यावधि निर्वाचन, उखु किसानले भुक्तानी नपाएको, नेकपाको विभाजन लगायत देशभित्रकै विषयमा सदस्यहरुले आ-आफ्नो धारणा राखे।

तर गायिका समेत रहेकी नेकपाबाट राष्ट्रियसभा सदस्य कोमल वलीले भने देशको वर्तमान परिस्थितिबारे एक शब्द पनि बोलिनन्। वलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्य बनाएका थिए। वर्तमान नेकपा विभाजनमा उनी ओली समूहतिरै रहेको बताइन्छ। संसद विघटनले देश अनिश्चिततातर्फ उन्मुख भइरहेका बेला वलीले आफ्नो पार्टीभित्रको, देशको परिस्थितिको कुरै गरिनन्। यतिसम्मकी आफैलाई राष्ट्रियसभा सदस्य बनाउने प्रधानमन्त्री ओलीको पनि बचाउ गरिनन्।

तर उनले एक मिनेटको शून्य समय भने अमेरिकाको चिन्ता गर्न खर्च गरिन।

‘आज अमेरिकी संसदमा जुन हिंसात्मक गतिविधि भयो त्यसले विश्वमै प्रजातन्त्रमाथि खतरा उत्पन्न गराएको छ। ४ जनाको ज्यान जानेगरी वासिङटन डिसीमा भएको दंगा र हिंसाले संसदीय व्यवस्थालाई सर्वोपरी मान्ने सबै देशलाई थप चिन्ता र चुनौतीको वातावरण बनाइदिएको छ। सत्ताको शान्तिपूर्ण हस्तान्तरणको प्रक्रियालाई यस्तो गैरकानुनी विरोधले लोकतान्त्रिक प्रक्रियामाथि खतरा उत्पन्न गराउँदछ। म यस घटनाको कडा शब्दमा विरोध गर्दछु,’ अमेरिकी घटनाबाहेक उनले देशको परिस्थितिबारे धारणा नै राखिनन्।

शून्य समयमा अन्य राष्ट्रियसभा सदस्यहरु उदया शर्माले प्रतिनिधिसभा विघटन चित्तबुझ्दो नभएको बताउँदै सरकारलाई उक्त कदम फिर्ता लिन आग्रह गरिन्। जीवन बुढाले गत भदौमा कालिकोटमा बाढी र पहिरामा एक हजार १०० परिवार विस्थापन भएको र हालसम्म पनि पुनःस्थापना हुन नसक्दा जाडोमा खुला आकाशमुनि बस्न बाध्य हुनुपरेको प्रति सरकारको ध्यानाकर्षण गराए। तारादेवी भट्टले उखु किसानले आफ्नो उत्पादनको मूल्य पाउन पनि सधैं आन्दोलन गर्नुपर्ने समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै यसप्रति सरकारलाई जवाफदेही हुन आग्रह गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell