PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कर बुझाउने समय थप गर्न चार्टर्ड एकाउन्टेन्ट संघको अर्थमन्त्रीसँग आग्रह



पहिलोपोस्ट

कर बुझाउने समय थप गर्न चार्टर्ड एकाउन्टेन्ट संघको अर्थमन्त्रीसँग आग्रह

काठमाडौं : कोभिड १९ लाई कारण देखाउँदै चार्टर्ड एकाउन्टेन्टहरुले आयकर विवरण बुझाउने म्याद तीन महिना थप गर्न सरकारसँग आग्रह गरेका छन्। अनुमानित आयकर पुस मसान्तसम्म बुझाउनुपर्ने व्यवस्था भए पनि कोभिड १९ का कारण चुनौती देखिएकाले चैत मसान्तसम्म हुनेगरी व्यवस्था मिलाउन आग्रह गरेका हुन्। 

नेपाल चार्टर्ड एकाउन्टेन्ट संघका अध्यक्ष आनन्दराज शर्मा वाग्ले, महासचिव तेजप्रसाद सुवेदी, कार्यकारी सदस्य शेषमणि दाहाल र आजीवन सदस्य निल सरु मगरको टोलीले अर्थ मन्त्री विष्णुप्रसाद पौडेललाई भेट्दै कर तिर्ने समय थपसहित १० बुँदे ज्ञापनपत्र बुझाएको हो।

उनीहरुले बजेट निर्माणका क्रममा चार्टर्ड एकाउन्टेन्टहरुलाई पहिलो चरणमा नै छलफलमा सहभागी गराउन आग्रह गरेका छन्। वित्तीय पारदर्शित, राजश्व संकलन र राजश्वको उपयोगिताको विषयमा थप विश्लेषणका लागि आफूहरु तयार रहेको जनाएका हुन्।  

साथै उनीहरुले प्रदेशस्तरीय आर्थिक गतिविधिसँग जोडिएका विषयमा चार्टर्ड एकाउन्टेन्टहरुसँगको सल्लाह लिएर काम गर्न आग्रह गरेका छन्। त्यसरी काम गर्दा सरकारलाई काम गर्न थप सहज हुने उनीहरुको दावी छ।

साथै पब्लिक कम्पनीहरुको संचालन समिति अथवा उच्च व्यवस्थापनामा कम्तिमा एकजना चार्टर्ड एकाउन्टेन्ट राख्न कानुनी रुपमा नै व्यवस्था गर्दै त्यसबाट वित्तीय पारदर्शिता र सुशासनमा सघाउने जनाएका छन्। 

वित्त क्षेत्रसँग सम्बन्धित नियामक निकायमा चार्टर्ड एकाउन्टको उपस्थित हुने हो भने त्यसले नेपाल वित्त प्रतिवेदन मानमा आधारित लेखा परीक्षण प्रतिवेदन बनाउन सहज हुने जनाएका छन्। त्यसैलाई आधार मानेर उनीहरुले दरबन्दी बढाउन माग गरेका हुन्। 

लाभांश फिर्ता प्रमाणपत्र चार्टर्ड एकाउन्टेन्टले गरेको प्रमाणिकरणका आधारमा दिनुपर्ने उनीहरुको माग छ। वैदेशिक लगानीको वातावरण निर्माणका लागि यसले सहयोगी भूमिका खेल्ने उनीहरुको दावी छ।  

त्यसैगरी, सबल बैंकिङ प्रणाली विकासका लागि संघ तयार रहेको जनाउँदै अर्थ मन्त्रालयलाई सहजिकरणका लागि भूमिका खेल्न आग्रह गरेको छ।  

संघले लोकसेवा आयोगको परीक्षा प्रणालीमाथि प्रश्न उठाउँदै सहज प्रवेशको वातावरण बनाउनुपर्ने पनि जनाएको छ।

अर्थमन्त्री पौडेलले मुलुकको आर्थिक विकासमा चार्टर्ड एकाउन्टेन्टसको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै समृद्ध नेपाल निर्माणको लागि चार्टर्ड एकाउन्टेन्टसलाई साथमा लिए अघि बढ्ने प्रतिबद्धता जनाएको संघले जनाएको छ। पौडेलले संघले अघि सारेको मिति थप गर्ने विषय लगायत अन्य मुद्दामा पनि आफू सकारात्मक रहेको बताए। अर्थमन्त्रीसँग भेटघाटको लागि संघका आजीवन सदस्य निल सारुले सहजीकरण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell