काठमाडौं : दुई चिनियाँ नागरिकलाई अपहरण गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जसमा दुई चिनियाँ नागरिक र दुई जना नेपाली रहेका छन्।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षीय दावा पासाङ लामा र सोही स्थानका ३२ वर्षीय माईला भन्ने भक्त लामा रहेका छन्। त्यस्तै, प्रहरीले चीनको आङ्गखोई उहु स्थायी बसोबास भई हाल काठमाडौं-१७ ठमेल बस्ने वु चाओ र चीनको सान्दोङ्ग छिन्दिय भर भई हाल ठमेल बस्ने राहदानी नम्बर ईबी ९४०९६३६ भएका चिनियाँलाई पनि पक्राउ गरेको छ।
गत पुस १९ गते काठमाडौं-९ गौशालाको तिलगंगास्थित आनन्द होटलबाट चाईनिज नागरिक लिउ वेइपिङ र ली सियाओनिङ अपहरणमा परेका थिए। अज्ञात समूहले उनीहरुलाई नम्बर नखुलेको ट्याक्सीमा राखी सिन्धुपाल्चोकको मार्मीङसम्म पुर्याई बन्धक बनाएर कुटपिट समेत गरेको भनि पीडितका साथी चउ चफिङले महानगरीय प्रहरी परिसर काठमाडौंमा सूचना दिएका थिए।
सूचना पाएपछि तत्काल प्रहरी टोली परिचालन गरी उनीहरुलाई पक्राउ गरिएको हो। प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ।