PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ओली घेर्न साथ खोज्दा माधवले पाए नागरिक समाजको हप्कीः नारायण वाग्लेलाई पूर्व पत्रकारको ट्याग, दमननाथले गराए प्रस्ताव पारित



प्रकाश भण्डारी

ओली घेर्न साथ खोज्दा माधवले पाए नागरिक समाजको हप्कीः नारायण वाग्लेलाई पूर्व पत्रकारको ट्याग, दमननाथले गराए प्रस्ताव पारित

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल 'प्रचण्ड' तथा माधव नेपाल समूह अर्का अध्यक्ष केपी ओलीविरुदको आन्दोलनको माहोल बनाउने प्रयासमा छ। आफ्ना समूहका नेता कार्यकर्तादेखि नागरिक समाजका अगुवालाई समेत आन्दोलनमा होमिन अनुरोध गरिरहेको छ प्रचण्ड-नेपाल समूह। त्यसका लागि बुधबार राजनीतिक दलका नेतासँग साथ खोज्यो भने बिहीबार नागरिक समाजका अगुवासँग। तर प्रचण्ड नेपालको आन्दोलनमा खुलेर लाग्ने मुडमा भने न राजनीतिक दल छन् न नागरिक समाज। बरु उनीहरूले प्रचण्ड नेपालप्रति नै आशंका व्यक्त गरेका छन्।

बिहीबार बानेश्वरमा आयोजित कार्यक्रममा प्रचण्ड नेपालाई नै नागरिक समाजका अगुवाले प्रश्न गरे -हामी मण्डलामा धर्ना बस्दा कति दिन सडकमा आउनुभो?

ओली मुख्य दोषी, प्रचण्ड नेपाल भागीदार

नागरिक समाजका अधिकांशलाई बोल्न समय दिएको थियो प्रचण्ड नेपाल समूहले। अनि अपेक्षा थियो ओलीको विरोध र आफ्नो समर्थन होस्। ओलीको विरोध त भयो नै तर मञ्चमा रहेका नेकपाका अध्यक्ष नेपाल र वरिष्ठ नेता झलनाथ खनालको समेत विरोध गर्न छोडेनन् वक्ताले। छोटो र तिखो आलोचना गरेका थिए कृष्ण पहाडीले। उनले ओलीलाई पार्टीको साधारण सदस्यबाट नहटाएकोमा आक्रोश व्यक्त गरे।

'ओली सचिवालय सदस्य छन् कि छैनन्। दोहोरो चरित्र अपनाइरहनु भएको छ। प्रतिगमनको सुरुवात धेरै अगाडि आएको थियो,' मञ्चमा बसेका माधवतर्फ औँला उठाउँदै पहाडीले भने।

उनले माधव प्रचण्ड ओलीको असंवैधानिक कदम सहेर बसेकोले आजको परिणाम आएको बताए। उनले प्रचण्ड नेपालाई सुझाव दिन समेत भ्याए।

'नेकपाको ब्यानरमा आन्दोलनमा आउन कोही तयार छैन। बरु नागरिकसँग क्षमा माग्दै प्रतिबद्धतासहितको पत्र लेख्नुस्। थामी नसक्नु मान्छे आउँछन्,' उनको सल्लाह थियो।

उनले ओलीको पतन निश्चित भएको ठोकुवासमेत गरे

वाग्लेलाई पूर्व पत्रकारको ट्याग

नेताको जस्तो लामो भाषण गरेनन् नागरिक समाजका अगुवाले। धेरै वक्ता भएकाले छिटो भाषण गर्नु बाध्यता पनि थियो। छोटोमा सबै विषय छुन भ्याएका थिए पत्रकार नारायण वाग्लेले। उनलाई कार्यक्रमका सञ्चालक रघुजी पन्तले पूर्व पत्रकार भनेर सम्बोधन गरेपछि वाग्लेले कटाक्ष गरे -पत्रकार न पूर्वको हुन्छ न पश्चिमको। वाग्ले र पन्तको तर्क वितर्क नै चल्यो। तपाईँ कान्तिपुरमा कहिले हुनुहुन्छ कहिल्यै हुनुहुन्न त्यसैले पूर्व सम्पादक भन्न खोजेको पत्रकार भएछ -पन्तले स्पष्टीकरण दिए। उनीहरूको तर्क सुनेर सभामा एकछिन् रमाइलो भयो। सहभागी हाँसे।

वाग्लेले ०६२/६३ को आन्दोलनलाई फल्यास ब्याक बनाए अहिलेको घटना व्याख्या गर्न। उनको भनाइ थियो -फेरि पनि त्यस्तै आन्दोलन जरुरी छ।

'हिजोको जनआन्दोलन नबिर्सौँ। हिजोको आन्दोलनपछि दलहरू बाटो बिराउनु भयो। नागरिक आन्दोलन जरुरी छ,' उनले भने।

दमननाथको प्रस्ताव नै पारित

नागरिक समाजका अगुवामा उपस्थितमध्ये सबैभन्दा सिनियर थिए दमननाथ ढुङ्गाना। त्यसको दाबी उनी आफैँले पनि गरे र सुरुमै भनिदिए -सायद यहाँ मध्यको अली पुरानो मै होला। यता त सबै पूर्व प्रम हुनुनुन्छ।'

ढुङ्गानाले नेपाल-खनालाई घुर्की नै लाए। ओलीमात्रै दोषी नभएको भन्दै जवाफ प्रचण्ड माधवले पनि दिनुपर्ने बताए। तर जवाफ भने नेताले दिन नसक्ने दाबी गरे ढुंगानाले।

'हामीलाई किन बोलाउनु भो। तपाईँलाई के थाहा थिएन संसद् विघटन गरेको। पहिला पनि नागरिक समाज सडकमा आएको हो। म कुनै पार्टीको कार्यक्रममा आएको होइन।

आजको यो दिन किन आयो तपाईँको जिम्मेवारी कति हो। बारम्बार संविधान किन तोडिँदैछ। ओलीसँगै तपाईँ पनि जिम्मेवार हो। सत्ताको प्रम र बाहिरका पूर्वप्रमबीचको लडाईँ हो यो,' उनले प्रश्न गर्दै भने।

भाषणको अन्तिममा हस्तलिखित प्रस्ताव पढेर सुनाए र पारित गर्न अनुरोध गरे। प्रतिगमनविरुदको आन्दोलनको प्रस्ताव थियो उनको।

माधवले देखाए दुःख र साझा ब्यानरको प्रस्ताव

नागरिक समाजका अगुवाले उठाएको जवाफको उत्तर दिन आएका थिए नेपाल। उनले सुरुमै नागरिक समाजको प्रशंसा गरे। पार्टी विधानले मात्रै आफूले बाहिर ओलीविरुद विद्रोह गर्न नसकेको स्पष्टीकरण दिए। उनले आफू ओली जस्तो नभएको भन्दै आफूलाई उनको ठाउँमा राखेर नहेर्न अनुरोध गरे।

'सबैलाई एउटै ड्याङका मूला नठान्नुस्। ओलीप्रति असन्तुष्ट भएर मैले संसद्मा बोलेका थिएँ। मलाई केपी ओलीले खेदेको-खेदेइ गर्नुभो। सच्चिनु भएन। पार्टीमा छलफल गर्न विषय उठायौँ। हामी त पीडित हौँ। वेदना छ पीडाको,' उनले सुनाए।

उनले राजनीतिमा लाग्दा उग्र भए पनि अहिले त्यसलाई बागमतीमा बगाइसकेको बताए। साझा ब्यानरमा आन्दोलनमा जान समेत नेपाले आग्रह गरे।

'हाम्रो पार्टीको झण्डामा होइन साझा झण्डामा आन्दोलनमा जाऔँ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell