कैलाली : प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। धनगढीका चोकचोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठकबाट तय गरिएको सुरक्षा रणनीति अनुसार जिल्लाभर सुरक्षा कडा पारिएको छ। धनगढी विमानस्थलमा भने सेना परिचालन गरिएको छ।
विभिन्न स्थानमा एक हजार सात सय बढी सुरक्षाकर्मी खटाइएको छ भने साढे २ सय जनामात्र सादा पोसाकका प्रहरी खटाइएको जनाइएको छ।
नेकपा ओली गुटको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री धनगढी आउन लागेका हुन्। धनगढीको खुला मञ्चमा आयोजना हुने जनसभा ५० हजारको उपस्थिति गराउने ओली गुटको तयारी छ।
प्रतिकुल मौसमका कारण ओलीको धनगढी आउने समय भने प्रभावित भएको छ। शुक्रवार बिहान ८:१५ बजे काठमाडौँबाट श्री एयरलाइन्स मार्फत धनगढी उड्ने पूर्व निर्धारित कार्यतालिका बाक्लो हुस्सुका कारण प्रभावित भएको हो।
श्री एयरलाइन्स धनगढीका प्रमुख गजेन्द्र शाहीका अनुसार पूर्व निर्धारित समयमा उडान हुन सकेको छैन। सम्भवत मौसममा सुधार आए १० बजेसम्म उडान हुने उनले बताए।