कञ्चनपुर : प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम आउँदै छन्। प्रदेश राजधानीमा धनगढीमा नेकपाको ओली समूहले आयोजना गरेको जनसभालाई ओलीले सम्बोधन गर्ने कार्यतालिका छ। भेलामा ५० हजार जनता उतार्ने ओली समूहको दावी छ।
ओली समूहको प्रदेश कमिटीले यति धेरै जनप्रदर्शन गर्ने बताइरहँदा एक जना केन्द्रीय सदस्यले भने पदबाट राजीनामा दिएका छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य बनाइएका अमिन दहितले प्रधानमन्त्री ओलीको भ्रमणको पूर्वसन्ध्यामा बिहीवार पदबाट राजीनामा दिँदै ओली गुट छाडेका छन्।
पूर्वमाओवादी पृष्ठभूमिका थारु नेता दहित प्रचण्ड-नेपाल समूहमा प्रवेश गरेका छन्। दहितले दोस्रो संविधानसभामा कञ्चनपुर क्षेत्र नम्बर दुईमा कांग्रेसका केन्द्रीय नेता एनपी साउदसँग प्रतिस्पर्धा गरेका थिए।
नेकपा ओली गुट छाड्दै दहितले विज्ञप्तिमा भनेका छन्, ‘कसैको बाध्यता र विवस्थको व्यापार गरी आशा र भरोसा गरी यति कमजोर सम्बन्धसँग नाता तोड्दै अब उपरान्त संघर्ष र आन्दोलनसँग जीवन्त नाता राख्दै सरकारवादी नेकपासँग मेरो विचार राजनीतिक, भावनात्मक सम्बन्ध नरहेको व्यहोरा अवगत गराउन चाहन्छु। कसैको झुटो आश्वासन एबम् प्रलोभनमा परी सिंगो राष्ट्रले सुम्पेको जिम्मेवारीबाट पन्छिन नहुन अनुरोध गर्दछु।’