PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

चिनियाँ नागरिकको अपराध, दोहोरियो अनुसन्धानमा भाषाकै समस्या



पहिलोपोस्ट

चिनियाँ नागरिकको अपराध, दोहोरियो अनुसन्धानमा भाषाकै समस्या

काठमाडौं : पछिल्ला केही वर्षयता चिनियाँ अपराधिक समूह देशभित्र सक्रिय रहँदै आएको छ। एटीएमबाट पैसा लुट्ने, सुन तस्करी गर्ने, मानव बेचविखन देखि लागू औषध र अपहरणसम्म उनीहरुको सक्रियता बढ्दो छ। सार्वजनिक स्थानमा अभद्र व्यवहार गर्नेदेखि महिला हिंसाका घटनासम्मका चिनियाँ नागरिक पक्राउ परिरहेका छन्। 

बिहीवार मात्र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अपहरण गरेको अभियोगमा दुई जना चिनियाँ नागरिकसहित चार जनालाई सार्वजनिक गरेको छ।

उनीहरु माथि अर्का एक चिनियाँ नागरिकलाई अहपरहण गरेको आरोप लागेको छ। अपहरित भनिएका चिनियाँ नागरिक चउ चफिङले प्रहरीमा उजुरी दिएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

चीनको आङ्गखोई उहु स्थायी बसोबास भई हाल काठमाडौं १७ ठमेल बस्ने वु चाओ र चीनको सान्दोङ्ग छिन्दिय भर भई हाल ठमेल बस्ने राहदानी नम्बर ईबी ९४०९६३६ भएका चिनियाँलाई पनि पक्राउ परेका हुन्।

त्यस्तै, पक्राउ पर्ने दुई नेपालीमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षीय दावा पासाङ लामा र सोही स्थानका ३२ वर्षीय माइला भन्ने भक्त लामा रहेका छन्। चिनियाँ नागरिकको योजनमा नै आफ्नै साथीलाई अपरहण गरेको परिसरका एसएसपी अशोक सिंहले बताए।

'अहिलेसम्म उनीहरुको योजनामा अपराध भएको देखिएको छ। नेपालीहरुको कनेक्सन कसरी भयो थप अनुसन्धान गरिरहेका छौं,' एसएसपी सिंहले भने।

गत पुस १९ गते काठमाडौं महानगरपालिका वडा नम्बर ९ गौशालाको तिलगंगास्थित आनन्द होटलबाट चाइनिज नागरिक लिउ वेइपिङ र ली सियाओनिङ अपहरणमा परेका थिए। उनीहरुलाई नम्बर नखुलेको ट्याक्सीमा राखी सिन्धुपाल्चोकको मार्मीङसम्म पुर्‍याएका थिए। त्यहाँ बन्धक बनाएर उनीहरुलाई कुटपिट समेत गरेको पीडितका साथी चउ चफिङले महानगरीय प्रहरी परिसर काठमाडौंमा सूचना दिएका थिए। अपहरणको कारण पैसा उठाउनका लागि भएको देखिएको छ।

'लेनदेनको विषयमा अपहरण भएको बुझिएको छ। तर कति लेनदेन थियो वा थिएन भन्ने कुरा कागजमा देखिएको छैन,' एसएसपी सिंहले भने।

अहिले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। नियन्त्रणमा रहेका चिनियाँ नागरिकले अंग्रेजी नबुझ्ने र प्रहरीले चिनियाँमा कुरा गर्न नसक्ने भएकाले अनुसन्धानमा फेरि अफ्ठेरो परेको छ। प्रहरीले दोभाषे झिकाएर अनुसन्धान अगाडि बढाएको छ।

'हामीले दोभाषे बोलाएका छौं। त्यसपछि थप खुल्ला,' एसएसपी सिंहले भने।

प्रहरीले कागजी रुपमा नै बयान लिँदा लाइसेन्स प्राप्त दोभासेको आवश्यकता पर्छ। उपत्यकाभित्र पर्यटकको सेवा र सुरक्षाका लागि परिचालन हुने पर्यटन प्रहरीसँग अहिलेसम्म पनि लाइसेन्सप्राप्त भाषागत प्रहरी छैनन्। पर्यटक प्रहरीले केही प्रहरीलाई भाषा सम्बन्धी कक्षा लिन लगाएको छ। उनीहरूले चिनियाँ र फ्रेन्च भाषाको कक्षा लिएका छन्। तर, पर्याप्त कक्षा नहुनु र त्यसपछि दैनिकको अभ्यास नुहँदा खासै प्रभावकारी भएको छैन।

'हामीसँग दोहोरो रुपमा कुरा गर्न सक्ने एक जना पनि प्रहरी छैनन्। हामीलाई आवश्यक परेको समयमा अन्य व्यक्तिलाई नै झिकाउने हो,' पर्यटन प्रहरी भृकुटीमण्डपका एसपी दीपेन्द्र शाहीले भने।

प्रहरीले भाषा सम्वन्धि केही कक्षा नदिएको भने होइन। तर त्यो प्रभावकारी भएको देखिएको छैन।

२०७६ पुस ७ गते राजधानीका विभिन्न स्थानमा रहेका ९ वटा घरबाट 'साइबर अपराध'को अभियोगमा १ सय २२ चिनियाँलाई पक्राउ गरिएको थियो। उनीहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहारमा जनही एक हजार रुपैयाँ जरिवाना तिराएर डिपोर्ट गरेको थियो।

त्यस्तै, एटिएमको अनाधिकृत प्रयोग गरेर रकम झिकेको अभियोगमा ६ जना चिनियाँ नागरिक अझै पुर्पक्षको लागि थुनामा छन्। उनीहरुको अनुसन्धान गर्दा समेत भाषामा समस्या देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell