काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेता भीम रावलले पार्टी फुटाउन प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेशलाई नक्कली माया देखाएको बताएका छन्।
प्रधानमन्त्री ओलीको सुदूरपश्चिम भ्रमण सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दै सुदूरपश्चिम इन्चार्ज रावलले प्रधानमन्त्री निर्वाचित हुँदा एक जना पनि मन्त्री नबनाउने ओलीले पार्टी फुटाउन मन्त्री पदको दुरुपयोग गरी पार्टी फुटाउन नक्कली माया देखाएको जिकिर गरे।
प्रधानमन्त्री ओलीले सुदूरपश्चिमबाट लेखराज भट्टसहित थप तीन जनालाई मन्त्रिपरिषदमा स्थान दिएका छन्। प्रेम आले, गौरीशंकर चौधरी र गणेश ठगुन्नालाई हालै ओलीले मन्त्री बनाएका छन्। नवनियुक्त मन्त्रीहरु रावलप्रति आक्रामक प्रस्तुत भइरहेका बेला रावलको धारणा आएको हो।
‘गत आम निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा साविक नेकपा (एमाले)ले अभूतपूर्वरुपमा सफलता हासिल गरी उहाँलाई प्रधानमन्त्री सहज बनाइदिँदा एकजना पनि मन्त्री नबनाउने प्रधानमन्त्री ओलीले हाल पार्टी फुटाउन मन्त्री पदको दुरुपयोग गर्नुभएको छ। त्यसलाई सुदूरपश्चिम प्रदेशलाई माया गरेको नक्कली गर्नुभएको छ। यो माया गरिएको होइन। विदेशी अतिक्रमणमा परेको लिम्पियाधुरा, कालापानी र लिपुलेक रहेको प्रदेशमा नेकपालाई कमजोर तुल्याउने षडयन्त्रको एउटा अंग मात्र हो,’ उनले भनेका छन्।
आफ्ना गलत कार्यमाथि पर्दा हाल्न प्रधानमन्त्री ओलीले कुप्रचार टोलीमार्फत भ्रम सिर्जना गर्ने, असहमतहरुका विरुद्ध गालीगलौज गर्न लगाउने, गुटस्वार्थमा राज्यकोषको दुरुपयोग गर्ने, आर्थिक प्रलोभन, धाकधम्की दिनेजस्ता क्रियाकलाप गराइरहेको उनको आरोप छ।
रावलले यस्तो गलत कार्यलाई देखाउन आज धनगढीमा गुटको भेला राखिएको पनि टिप्पणी गरेका छन्। ‘यस्ता अलोकतान्त्रिक र गलत कार्यको विरोध गर्न तथा उहाँको गुटले सिर्जना गरेका भ्रममा नपर्न म नेकपाका सम्पूर्ण नेता कार्यकर्ता सदस्य शुभेच्छुक तथन आम जनसमुदायमा आह्वान गर्दछु,’ उनले भनेका छन्।
