काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले संसद विघटनको कदमलाई अनुमोदन गर्न संविधान संशोधनको षडयन्त्र भइरहेको आशंका गरेको छ।
समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विघटनको कदमलाई न्यायलयबाट सदर गर्नका लागि संविधान संशोधनको षडयन्त्र भइरहेको उल्लेख गरेका छन्। राष्ट्रियसभा बैठकमा बोल्दै श्रेष्ठले प्रधानमन्त्री चालेको असंवैधानिक विघटनको कदमलाई सदर गरे सैह्य नहुने चेतावनी दिए।
सर्वोच्च अदालतले संविधानअनुसार निर्णय गर्ने भन्दै राष्ट्रिय सभा सदस्य श्रेष्ठले अदालतको स्वतन्त्र भूमिकाप्रति आफूहरु विश्वस्त रहेको बताए। ‘अदालतले संविधानकै आधारमा टेकेर फैसला गर्ने हो। संविधान बाहिर गएर होइन। सर्वोच्च अदालतलाई संविधान संशोधन गर्ने अधिकार दिएको छैन। संविधानअन्तर्गत फैसला गर्ने हो,’ श्रेष्ठले संशोधन गरेर विघटनलाई सदर गर्ने तयारी भइरहेको तर्फ संकेत गर्दै भने।
प्रवक्ता श्रेष्ठले अगाडि भने, ‘यो विषयमा संशोधनको फैसला गर्यो भने संविधान काजगको खोस्टोमा परिणत हुन्छ। संविधानमा हुँदै नभएको प्रावधान कसैले गर्ने, त्यसलाई अनुमोदन गर्न अदालतले संशोधनको फैसला गर्यो भने संविधान च्यातिएको अवस्था हुन्छ। समग्र व्यवस्थामाथि प्रहार हुन्छ। व्यवस्था उम्किने खतरा हुन्छ। देश प्रतिगमनतिर जान्छ।’
विघटनका लागि संविधान संशोधन कुनै हालतमा सैह्य नहुने चेतावनी दिँदै श्रेष्ठले भने, ‘यद्यपि अदालतले संविधानसम्मत गर्नेछ भन्नेमा विश्वस्त छौं।’
श्रेष्ठले प्रधानमन्त्रीले संविधानको ठाडो उल्लंघन गरेर चालिएको विघटन कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी भएको बताए। ‘राजनीतिक परिवर्तनमाथि कालो बादल मडारिएको छ। तर नेपाली जनताले रक्षा गरिछाड्ने छन्। प्रधानमन्त्रीलाई कुनै विशेषाधिकार छैन। संविधानमाथि घात गरेर विघटन गरियो,’ उनले भने।
श्रेष्ठले धारा ७६ का ४ वटा उपधाराले सरकार बनाउने अधिकार दिएको भन्दै सरकार बन्नै सकेन भने मात्र विघटन हुने र त्यो बाध्यकारी दायित्वमात्रै भएको उल्लेख गरे। ‘प्रधानमन्त्रीलाई विशेषाधिकार छैन। पूर्णत संविधान विरोधी छ। संवैधानिक होइन। राजनीतिक बाध्यताका कारणले संविधान उल्लंघन गर्न पाइँदैन। कुनै राजनतीतिक पार्टीको आन्तरिक कलहले संविधानको हत्या र प्रहार गर्न पाइँदैन,’ उनले भने, ‘पदीय स्वार्थ, पदका निम्ति एकता पनि भंग गर्ने, लोकतान्त्रिक पद्धती, संविधान मान्दिन भन्न पाइन्न।’
श्रेष्ठले प्रतिनिधिसभा सूचारु गर्नेतर्फ लाग्न प्रधानमन्त्री ओलीलाई आह्वान गरे।
