PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

सुदूरपश्चिम पुगेर भीम रावलमाथि ओलीको आक्रमण : नक्कली राष्ट्रवादीदेखि जंगल सिध्याउने योजनाकारसम्म



पहिलोपोस्ट

सुदूरपश्चिम पुगेर भीम रावलमाथि ओलीको आक्रमण : नक्कली राष्ट्रवादीदेखि जंगल सिध्याउने योजनाकारसम्म

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सुदूरपश्चिम इन्चार्ज डा. भीम रावलको कडा आलोचना गरेका छन्।

संसद विघटनपछि धनगढीमा ओली समूहको प्रदेश कमिटीले आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्दै ओलीले रावललाई नक्कली राष्ट्रवादीदेखि जंगल सिध्याउने योजनाकारसम्म आरोप लगाए। कार्यक्रममा उनले भीम रावलको नाम भने उच्चारण गरेनन्।

‘लिम्पियाधुरा, लिपुलेक र कालापानीको नक्सा र संविधान संशोधनपछि केहीलाई छटपटि भयो। अहिले परिस्थिति निर्माण गरियो। यहीँ प्रदेशका मान्छेलाई असैह्य भयो। उखरमाउलो भएर उठबस गर्ने, पछारिँदै भइँमा लडिबुडि निस्किए। नक्कली राष्ट्रवादीहरुलाई असैह्य भयो,’ ओलीले रावललाई नक्कली राष्ट्रवादीको ट्याग दिए।

त्यसैगरी ओलीले रावललाई पदका लागि मरिमेट्ने नेता भएको आरोप लगाए। ‘पदका लागि लड्ने। मैले मन्त्री बनाएका बेला केपी ओली ठिक थियो भन्ने। मैले एक जनालाई मात्रै प्रदेशबाट सधै कति पटक मन्त्री बनाउने भनेर उहाँलाई बनाउन मानिन। उहाँलाई पीर पर्‍यो। आज यो ठाउँले केन्द्रमा ४ मन्त्री पाएको छ। पहिलो रेकर्ड होला। उहाँ खुसी हुनुपर्ने दुखित हुनुहुन्छ। किन दुखित हुनुहुन्छ वैज्ञानिक वनका नाममा सालघारी देशभरीबाट फाँडेर सिध्याउने। किन सिध्याउने? तपाईलाई थाहा छ। योजनामा ब्रेक लाग्यो। असफल भयो। तुहियो। सालघारी फाडेर वन मासेर आफू सप्रिन खोज्ने तत्वहरुको बेग्लै मक्सद छ।’

आफूले छोडेपछि पार्टी कसरी चल्ला भनेर घमण्ड नगर्न रावललाई ओलीले चेतावनी दिए। ‘गणतन्त्रका लागि ५० वर्षअघि संघर्षको मैदानमा उत्रिने मै हुँ। १४ वर्ष जेल बसे। अहिले गणतन्त्रवादी होइन भनेर कुर्लिने अछामको एउटा केटा म जेल बस्या बेला बाटोमा हिँड्दा हिँड्दै पुलिसले समाएर ल्याएछ र भेट्टाएर मैले राजनीतिकरण गरे। अहिले कुराकानी सानातिना छैनन्। मान्छेभन्‍दा कुरा ठूला छन्। यस प्रदेशको विकासको समस्या हुन् ती मान्छे। अब त्यो समाधान भयो। केही मान्छेहरुले सोचे होलान, पार्टी कसरी चल्छ होला? पिलो निचोरिँदैमा ओजन घटेको हुन्न। दुई चार जना पिलो निचोरिएजसरी निचोरिँदैमा ओजन घटेको हुन्न। देश बनाउने उद्देश्य, योजना, संकल्प कमजोर भएको हुन्न।

पार्टीका नेताहरुले आफ्नो परिवार र स्वार्थका लागि मात्र राजनीति गरेको आरोप लगाउँदै ओलीले यसमा रावललाई पनि जोडे। ‘यहीँ प्रदेशमा पनि मैले भनिरहनुपर्ला जस्तो लाग्दैन। ककस्का आफन्त कहाँ कहाँ छन्?’

वैशाख १७ गते २७ गते चुनाव हुने ठोकुवा गर्दै प्रधानमन्त्री ओलीले रावललाई ठेगान लगाउन आह्वान गरे। ‘खराब तत्वलाई गाउँमै ठेगान लगाउनुस्। माथि गए भने साह्रै दु:ख दिन्छन्। भ्रष्ट, विदेशीको काम गर्ने तत्वलाई गाउँबाटै ठेगान लगाउनुस्। त्यस्ता तत्वलाई भोट नहाल्नुस्। देश जनता विकासका लागि काम गर्नेलाई जिताएर पठाउनुस्,’ उनले भने।

सम्बोधनका क्रममा भीम रावल, प्रचण्ड, माधव नेपालप्रति आक्रामक देखिएका प्रधानमन्त्री ओली प्रतिपक्षी कांग्रेसप्रति भने मौन रहे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell