PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

सुदूरपश्चिम पुगेर प्रधानमन्त्रीले फुकाए विकासको पोको, फस्फोरस खानीदेखि चीनको उरै नाका खोल्नेसम्म



पहिलोपोस्ट

सुदूरपश्चिम पुगेर प्रधानमन्त्रीले फुकाए विकासको पोको, फस्फोरस खानीदेखि चीनको उरै नाका खोल्नेसम्म
फाइल फोटो

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमवासीलाई आफ्नो विकास योजना सुनाएका छन्।

नेकपाभित्रको आफ्नो समूहले आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्न सुदूरपश्चिमको प्रदेश राजधानी धनगढी पुगेका प्रधानमन्त्री ओलीले फस्फोरस खानीदेखि चीनसम्मका नाका खोल्ने योजना सुनाए।

ओलीले गौरिफन्टा नाका खोल्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारतमा भ्रमणमा एजेण्डा बन्ने बताए। सेती लोकमार्ग अघि बढिरहेको र महाकाली करिडोरको काम अघि बढ्दै भने। दार्चुलाको छाङरुसम्मको बाटो नेपाली सेनाले पहरो फोडेर तयार गरिरहेको भन्दै ओलीले छिट्टै नै मोटरेबल बाटोका रुपमा तयार हुने दावी गरे।

ओलीले बैतडीमा फस्फोरस खानी पत्ता लागेको भन्दै त्यसलाई छिट्टै विकास गर्ने आश्वासन दिए। वर्षौदेखि अलपत्र पश्चिम सेती जलविद्युत आयोजनालाई अगाडि बढाने उनको भनाई छ। ‘आफ्नै लगानी वा अरु लगानीमा अगाडि बढानेछ। निकट भविष्यमा तयारी गरिनेछ,’ ओलीले भने।

प्रधानमन्त्री ओलीले चीनसँग जोडिएको बझाङको उरै नाका अगाडि बढाउने बताए। उरैबाट ताक्लाकोट जाने रुट खोलिने उनको भनाई छ।

त्यसैगरी सुदूरपश्चिममा उद्योग स्थापनाका लागि दैजीमा औद्योगिक क्षेत्र स्थापना हुन लागको र त्यहाँ उद्योगहरु स्थापना हुने बताए।

दोधारा चाँदनीमा सुख्खा बन्दरगाहा बन्ने काम अघि बढिसकेको र केही दिनअघि भारतसँग सहमति भइसकेको ओलीले जानकारी गराए। त्यसैगरी महाकाली पुलको आधा काम सकिसकेको भन्दै छिट्टै सुदूरपश्चिमले नयाँ पुल पाउने बताए।

ओलीले दार्चुला र बैतडीमा महाकाली नदीमा तुइन विस्थापित भएर झोलुङ्गे पुलहरु निर्माण भइरहेको बताए। आफूले भारत भ्रमणमा जाँदा उत्तराखण्डका मुख्यमन्त्री र गभर्नरलाई राखेर कुरा गरेको स्मरण गर्दै ओलीले महाकाली नदीमा झोलुङ्गे पुल र पक्की पुलहरु निर्माण हुने क्रममा रहेको दावी गरे। ‘दुबैतिर मिलेर अगाडि बढिरहेका छन्,’ उनले भने।

सम्बोधनका क्रममा ओलीले सुदूरपश्चिमसँग जोडिएका प्राय सबै विकास निर्माणका योजनाबारे नछुटाई बोलेका थिए। विकास गर्ने काममा फुर्सद नै नभएको उल्लेख पनि गरेका थिए।

रोजगारी खोजीका लागि खाडी र भारत जानुपर्ने बाध्यता अन्त्‍य गर्ने दिशातिर काम गरिरहेको उनको दावी थियो।

ओलीले २०५८ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्षको विस्तारका क्रममा विस्थापित भएका आरक्ष पीडितलाई पनि सम्झिए। ‘यहाँ आरक्ष पीडितको पनि समस्या छ। भूमि मन्त्रालयबाट आयोग बनाएर समस्या समाधान गर्छौं। सुकुम्बासीको समाधान गर्छौं,’ ओलीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell