PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

फेरि संसद आउँछ, राष्ट्रपति र प्रमलाई घर पठाउँछ: गगन थापा, बालकोटको बाटो ठिक पार्न सांसद र मेयरलाई आग्रह



पहिलोपोस्ट

फेरि संसद आउँछ, राष्ट्रपति र प्रमलाई घर पठाउँछ: गगन थापा, बालकोटको बाटो ठिक पार्न सांसद र मेयरलाई आग्रह

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले राष्ट्रपति र प्रधानमन्त्रीलाई विदा गर्ने बताएका छन्।

शुक्रवार भक्तपुरमा आयोजित तरुण दलको कार्यक्रमलाई सम्बोधन गर्दै अब केही दिनमा संसद पुनर्स्थापना हुने र त्यहीँ संसदबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई घर पठाउने दावी गरे। उनले ओलीलाई बालकोटमा स्वागत गर्नका लागि बाटो ठिकठाक पार्न भक्तपुरका सांसद महेश बस्नेत र मेयरलाई आग्रह गरे।

संसद विघटनको निर्णय संविधान विपरीत भएको भन्दै थापाले असंवैधानिक निर्णय उल्ट्याउन नदिन ओलीले अदालतलाई दबाब दिइरहेको आरोप लगाए।

‘कार्यकारी भएर प्रधानमन्त्रीले अदालतमाथि दबाब सिर्जना गर्दै बोलिराख्नुभएको छ। यो निर्णय कसरी उल्टिन्छ म हेरौला भनिराख्नुभएको छ। मनोबैज्ञानिक दबाब दिइराख्‍नुभएको छ,’ उनले भने, ‘प्रधानमन्त्री र राष्ट्रपतिले जसरी अदालतले जनताको सम्मान नगुमाओस्। हामी कांग्रेसको तर्फबाट तमाम श्रीमानहरुलाई भन्न चाहन्छौं, अदालतसँग भन्न चाहन्छौं, हिजो राजासँग नडराएर शाहीआयोग खारेज गरेको अदालत आज प्रधानमन्त्री केपी ओलीको धम्कीबाट डराउँदैन भन्ने कुरा प्रमाणित गर्नुपर्छ।’

बरालिएको राष्ट्रपति र प्रधानमन्त्रीलाई ठिक ठाउँमा ल्याउन र नेपाली जनताको आस्थाको परीक्षणमा अदालत खरो उत्रिने उनको विश्वास छ। ‘मलाई विश्वास छ, अब केही दिन बहस हुन्छ। बहसपछाडि अदालतको निर्णय पछाडि संसदको विघटन गर्ने यो निर्णय असंवैधानिक हो भनेर अदालतले खारेज गर्छ। फेरि संसद आउँछ,’ थापाले भने, ‘त्यो संसदले राष्ट्रपतिलाई पनि घर पठाउँछ। यहाँको माननीय (महेश बस्नेत)जी र सूर्यविनायकको मेयरलाई मेरो आग्रह छ, प्रधानमन्‍त्रीलाई, तपाईको ‘बा’लाई बालकोट ल्याउनुपर्छ भनेर बाटो ठिकठाक बनाएर राख्नुस्। आउनुहुन्छ।’

थापाले संसद र संविधानको बाटोबाट देश निर्वाचनमा जाने स्पष्ट पारे। ‘ठिलोचाँडो देश जाने निर्वाचनमै हो। बाटो संसद र संविधानको बाटो भएर जान्छ। पार्टीका साथीहरु निर्वाचनको तयारी गर्नुस्,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell