PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

'सडक मानव मुक्त' शहर घोषित वीरगंजमा वृद्धको बिचल्ली, बेवारिसे अवस्थामा भैँसी गोठमा



राधेश्याम पटेल

'सडक मानव मुक्त' शहर घोषित वीरगंजमा वृद्धको बिचल्ली, बेवारिसे अवस्थामा भैँसी गोठमा

वीरगंजः सडक पेटीका असहायहरूको उद्धार तथा आश्रय दिने संस्था मानव सेवा आश्रमले भर्खरै वीरगंज महानगरपालिकालाई सडक मानव मुक्त शहरको घोषणा गरे तापनि वीरगंज महानगरमा हाल पनि सडक पेटीमा असहाय वृद्धको बिचल्ली भइरहेको छ। वीरगंज -३१ चोर्नीस्थित हिमाल आइरन प्रालिको भैँसी गोठमा एक जना ६५ वर्षे वृद्ध पछिल्लो ४ महिनादेखि जीवन मरणको दोसाँधमा छन्।

परवानीपुर, हनुमान मन्दिरबाट अम्बे ग्यास हुँदै लालपर्सा टोल जाने बाटोमा पर्ने हिमाल आइरनको दक्षिणी गेट नजिकै रहेको भैँसी गोठमा उनी विगत चार महिनादेखि पीडादायी जीवन बिताइरहेका छन्। उनको बायाँ खुट्टामा ठूलो घाउ छ। घाउमा किरा समेत परिसकेको सामाजिक अभियन्ता प्रकाश थारु बताउँछन्।

२३ वर्ष पहिले भारतको चेन्नाईबाट प्राविधिकको रूपमा काम गर्न हिमालय आइरनमा आएका उनको नाम रिचर्ड डिसुजा रहेको कम्पनीका कर्मचारीहरूले बताउँछन्। काम गर्दै-गर्दा उनको विवाह नेपालमै भयो। तर श्रीमती केही वर्षपछि छोडेर गइसकेपछि उनको मानसिक सन्तुलन समेत गुम्यो। त्यसपछि उनलाई कम्पनीले पनि कामबाट हटाएपछि वरपरका गाउँका हुनेखानेहरूको घरको गाईभैँसी चराएर बस्ने गरेका थिए।

मानसिक अवस्था ठिक नभएकोले गाउँमा केटाकेटीहरुले जिस्काउने, ढुङ्गाले हान्ने गरेपछि उनको खुट्टामा घाउ बल्झिँदै गएको थियो। घाउ निको नभएपछि उनलाई ल्याएर हिमालय आइरनको गोठमा राखिएको लालपर्साकी स्वयंसेविका अनिता मण्डलले बताइन्। उनलाई एक सातादेखि उद्योगका सुरक्षा गार्ड सोमबहादुर राई र लालपर्सा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी अनीशकान्त कुशवाहको टोलीले घाउमा औषधि राखेर उपचार गर्दै आएका थियो।

उद्धार गरी उनलाई काठमाडौँ लैजाने प्रयास भइरहेको सामाजिक अभियन्ता प्रकाश थारुले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell