PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

६० किलोमिटर क्षेत्रमा आधुनिक बत्ती जडान गर्दै काठमाडौं महानगर, पहिलो चरणमा कहाँ कहाँ?



पहिलोपोस्ट

६० किलोमिटर क्षेत्रमा आधुनिक बत्ती जडान गर्दै काठमाडौं महानगर, पहिलो चरणमा कहाँ कहाँ?

काठमाडौं : काठमाडौं महानगरपालिकाले मुख्य–मुख्य सडकको करीब ६० किलोमिटर क्षेत्रमा आधुनिक सडक बत्ति जडान गर्ने भएको छ।

गत मंसिर २५ मा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच सहमती पत्रमा हस्ताक्षर गरेसँगै महानगरपालिकाले यो प्रक्रिया अघि बढाएको हो। उज्यालो महानगर बनाउनुका साथै उज्यालो संघीय राजधानीको चिनारी दिने तथा मेयर उज्यालो अभियान अन्तर्गत आधुनिक सडक बत्ति जडान कार्य अघि बढाएको मेयर विद्या सुन्दर शाक्यले जानकारी दिए।

‘काठमाडौँ महागरपालिकाले आफ्नो क्षेत्र भित्रका करीब ८० स्थानमा उच्च मात्रामा प्रकाश दिनसक्ने बत्ती (हाइमास्ट लाइट) जडान गर्नेलगायतका केही महत्वपूर्ण कामलाई द्रुतगतिमा अघि बढाउने कार्य गरिरहेको छ,’ मेयर शाक्यले भने, ‘यातायात व्यवस्थापन, शान्ति सुरक्षा कायम गर्न तथा सामाजिक सुरक्षा लगायतका सेवा सुविधाहरुलाई चुस्त दुरुस्त राख्न र सहरी सौन्दर्य अभिवृद्धि गर्न काठमाडौं महानगरपालिका मुख्य–मुख्य सडकमा करीब १७ सय ५० वटा आधुनिक बत्ती जडान गर्न टेण्डर प्रक्रिया छिट्टै जाँदैछ।’

शाक्यले महानगरपालिका, क्षेत्रभित्रका मुख्य–मुख्य सडकहरुमा जडान गरिने आधुनिक सडक बत्तीहरुमा काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी रहने पनि जानकारी दिए। ‘सहमति अनुसार सडक बत्ती जडानमा काठमाडौं महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत लगानी रहने छ,’ शाक्यले भने, ‘योसँगै हामी महानगर क्षेत्र भित्रका अन्य ठाउँमा पनि बत्ती जडानको कार्यलाई अघि बढाउँदै आएका छौँ।’

उनले उपलब्ध श्रोत साधन तथा प्रविधिको अधिकतम प्रयोग गरी बत्ती जडान कार्यलाई तीव्र गतिका साथ अघि बढाउने पनि बताए।

काठमाडौँ महानगरपालिका शहरी पूर्वाधार विकास विभाग प्रमुख राम थापाले पहिलो चरणमा विमानस्थलदेखि त्रिपुरेश्वर हुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म र सिंहदरबार वरीपरी आधुनिक सडक बत्ती जडान गरिने जानकारी दिए। ‘पुतली सडकदेखि बालुवाटारसम्म र त्रिभुवन विमानस्थलदेखि हायत होटलसम्म पनि पहिलो चरणमै जडान गर्छौ,’ थापाले भने, ‘पहिलो चरणमा ६० किलोमिटर क्षेत्रमा करीब १७ सय ५० बटा बत्ती जडान गर्ने तयारी भएको छ।’

थापाले नयाँ बानेश्वर, माइतीघरलगगायतका स्थानमा अहिलेकै पोल प्रयोग गरेर आधुनिक बत्ती जडान गरिने पनि जानकारी दिए। ‘ती स्थानमा अहिले भैरहेका सोलार प्यानलको पुनः प्रयोगका लागि हामी स्थान पहिचान गरिरहेका छौँ,’ थापाले भने, ‘पहिलो चरणको बत्ती जडानका लागि ११ करोड खर्च हुने भएको छ । अब छिट्टै हामी टेण्डर प्रक्रियामा जाँदैछौँ।’

सहमतिपत्रमा पनि काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा गर्ने र लगानीको अनुपात काठमाडौं महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत रहने उल्लेख छ। त्यसैगरी चालु आ.व.मा नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत लगानीको लागी आवश्यक रकम काठमाडौं महानगरपालिकाले उपलव्ध गराउने र उक्त रकम आगामी कार्यक्रममा नेपाल विद्युत प्राधिकरणले गर्ने लगानीमा समायोजन गर्ने पनि सहमतिमा उल्लेख गरिएको छ। उक्त कार्यका लागि लागत अनुमान तयार गर्ने, प्रविधिको छनौट गर्ने, खरिद कार्य गर्ने तथा निर्माण कार्यको सुपरीवेक्षण गर्ने लगायतका कार्य नेपाल विद्युत प्राधिकरणले गर्नेछ।

नयाँ पोल थप्नु पर्ने स्थानमा स्वीकृति दिने, नयाँ बत्ती जडानका क्रममा विग्रिएका फुटपाथलगायतका संरचनाको निर्माण सडक विभागले गर्ने पनि सहमति भएको थापाले जानकारी दिए।

सहमतिपत्रमा काठमाडौँ महानगरपालिकाका तर्फबाट प्रमु्ख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नेपाल विद्युत प्राधिकरणका तर्फबाट कामु कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य र सडक विभागको तर्फबाट महानिर्देशक केशवकुमार शर्माले हस्ताक्षर गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell